त्रिशूली अस्पताललाई दुई लाख सहयोग

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ११:२७

समुन्द्रटार, दुप्चेश्वर गाउँपालिकाले त्रिशूली अस्पताल, नुवाकोटलाई दुई लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले विपद् ब्यवस्थापनका लागि जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डा.रेमकुमार राईलाई गत हप्ता चेक हस्तान्तरण गर्नुभएको हो । कोरोना भाईरसको संक्रमण विरुद्ध लड्न अस्पताललाई आईसोलेसन कक्ष निर्माण तथा आवश्यक सामग्री खरिदको लागि सो रकम सहयोग गरेको अध्यक्ष तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभएको छ ।
कोरोनाले आम विश्वलाई संक्रमण गरिरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेको बताउँदै अध्यक्ष तामाङले यो विषम परिस्थितिमा स्वास्थ्य केन्द्रलाई सहयोगबाट कोरोना भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिईएको बताउनुभएको छ । जिल्ला अस्पतालको आन्तरिक प्रयोग तथा नुवाकोट जिल्लाभरी भेटिएका कोरोना बिरामीको छुट्टै राखि उपचार गर्न नुवाकोटमा रहेका १२ स्थानीयतहबाट रकम सहयोग उपलब्ध गराउने निर्णयअनुसार स्थानीयतहले जिल्ला अस्पताललाई सहयोग गरिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ ।

नुवाकोटका स्थानीयतहको सहयोगमा जिल्ला अस्पतालमा आईसोलेसन वार्ड पनि तयारी अबस्थामा रहेको डाक्टर राईले जानकारी दिनुभएको छ ।