+
Search

ताजा अपडेट +

पपुलर +

बजेट कार्यान्वयनमा चुनौतीपूर्ण

त्रिशूली प्रवाह
६ साल अगाडी

सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाईरसको प्रभावको कारण चालु आ.व.को भन्दा २०७७/०७८ को लागि बजेट घटाएर यथार्थपरक ल्याएका छन् । चालु आ.व.२०७७/०७८ को भन्दा ५८ अर्ब ३२ करोड ७१ लाख रूपैयाँले बजेट घटेको छ । अर्थमन्त्री खतिवडाले आगामी आ.व.को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट गत बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । बजेटको खर्च धान्ने स्रोत अत्यन्त कमजोर र कार्यान्वयन गर्न कठिन देखिन्छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

अर्थमन्त्री खतिवडाले अघिल्लो वर्ष जेठ १५ गते चालु आ.व.को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रूपैयाँको बजेट ल्याएका थिए । उहाँले आगामी वर्षको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड तथा बित्तीय ब्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड विनियोजन गरेका छन् । बजेटको उक्त आकारको आधारमा अर्थात् स्रोतको रूपमा ८ खर्ब ८९ अर्ब ६२ करोड राजश्व संकलन, ६० अर्ब ५२ करोड वैदेशिक अनुदान, २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण तथा २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट ब्यवहोरिने उल्लेख्य गरेका छन् । तर विश्व नै कोरोनाबाट आक्रान्त बनेको यो अवस्थामा प्रस्तावित बजेटको स्रोत जुटाउन अत्यन्त कठिन देखिन्छ भने कोरोना कहिले नियन्त्रणमा आउछ अहिलेसम्म कुनै संकेत देखिएको छैन । त्यस्तो अवस्थामा अर्थमन्त्रीले प्रस्ताव गरेको राजश्व संकलन ८ खर्ब ८९ अर्ब ६२ करोड उठ्ने सम्भावना छैन ।
बजेटको अर्को महत्वपूर्ण स्रोत वैदेशिक अनुदान रहेको छ । वैदेशिक अनुदानबाट सरकारले ६० अर्ब ५२ करोड रूपैयाँ लिने योजना बनाएको छ । चालु आ.व.मा सरकारले वैदेशिक अनुदान ५७ अर्ब ९९ करोड ५५ लाख आउने लक्ष्य राखेकोमा कोरोनाले विश्व अर्थतन्त्रमा पारेको असरले गत आ.व.को फागुनसम्म सरकारले १६ अर्ब १९ करोड मात्र वैदेशिक अनुदान लिन सकेको थियो । अहिले त कोरोना नियन्त्रणमा आउने टुङ्गो नलागेको बेला ६० अर्ब ५२ करोड रूपैयाँ वैदेशिक अनुदान लिने महत्वकाक्षी योजना पूरा हुनेमा शंका छ । त्यसैगरी सरकारले वैदेशिक ऋण पनि २ खर्ब ९९ अर्ब ५० करोड रूपैयाँ उठाउने योजनाको पनि भरपर्दो आधार देखिंदैन । विश्वकै अर्थतन्त्र कोरोनाको मारमा परेको बेला नेपालले त्यति धेरै रकम ऋण पत्याउने अवस्था छैन । सरकारले चालु आ.व.मा संसोधन गरेर १ खर्ब २१ अर्ब वैदेशिक ऋण उठाउने लक्ष्य राखेको थियो ।

बजेटको स्रोतलाई विश्वास गर्न सकिने ठोस् आधार नभए पनि अर्थमन्त्री खतिवडाले संसद्मा पेश गरेको बजेटमा आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर सात प्रतिशतको हुने भने मूल्य बुद्धिलाई पनि सात प्रतिशत भन्दा माथि जान नदिने उल्लेख गरेका छन् । सरकारले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर २ दशमलव ३ प्रतिशत मात्र हुने अनुमान गरेको छ । बजेट भाषणमा भने अर्थमन्त्री खतिवडाले आठ दशमलव पाँच प्रतिशतको आर्थिक बृद्धिदर हुने दावी गरेका थिए । कोरोना नलाग्दा पनि अर्थतन्त्रमा सुधार नआएपछि सरकारले करिव ६ प्रतिशत आर्थिक बृद्धिदर हुने बताएको थियो । तर, कोरोनाको कारण अहिले अनुमान गरेको आर्थिक बृद्धिदर झनै तल झर्ने देखिन्छ ।
कोरोनाले विश्व अर्थतन्त्रलाई जस्तै नेपालको अर्थतन्त्रलाई पनि थिलथिलो परेको छ । यस्तो बेला सरकारले सामाजिक सुरक्षालगायत राज्यले प्रदान गर्न सकेको छैन भने स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुको साथै उद्योगी तथा ब्यवसायीलाई पनि राहतको प्याकेज ल्याएको छ । त्यसको खर्च अधिक बढाएको छ भने पुँजीगततर्फको बजेटमा भारी कटौती गरेको छ । बजेट घटाएर पनि सरकारले आगामी आर्थिक वर्षमा पनि चालुतर्फको बजेट भने अहिलेको आर्थिक वर्षको हाराहारीमै विनियोजन गरेको छ । चालुतर्फको बजेट भने पूरै खर्च हुनेछ । कोरोना नियन्त्रण चाँडै हुने अपेक्षा गरेर बजेट ल्याए पनि सरकारको अपेक्षाअनुसार कोरोना नियन्त्रण नभएमा चालु खर्च झनै बढ्ने छ भने पुँजीगत खर्चमा ‘ब्रेक’ लाग्ने छ । पुँजीगत खर्च हुन नसकेपछि सरकारले सोचे जस्तो आम्दानी हुन सक्ने छैन । यसले समग्र अर्थतन्त्रमै ठुलो झड्का दिनेछ । यद्यपी देशको विषम परिस्थितिमा बजेटको आकार घटाएर यथार्थपरक ल्याउन अर्थमन्त्रीले प्रयास गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह