हामी बीच आलोचनात्मक चेत र सकारात्मक वहशको खाँचो छ ।

त्रिशूली प्रवाह
५ साल अगाडी
  • रामशरण प्याकुरेल,  संयोजक,  नुवाकोट सरोकार समाज

विगत लामो समयदेखि नुवाकोट जिल्लाको राजनैतिक, सामाजिक, साँस्कृतिक र विकासका विविध विषयगत क्षेत्रमा समान दख्खल राख्नुहुने रामशरण प्याकुरेल जिल्लाबासीबीच अगुवा सामाजिक बौद्धिक ब्यक्तित्वका रुपमा परिचित नाम हो । ती क्षेत्रमा उहाँको लामो र अनवरत उपस्थिति रहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं दातृ निकायका लागि विशेषज्ञ, परामर्शदाता र सल्लाहकारका रुपमा पनि काम गर्नुभएका प्याकुरेलले दुई दशक भन्दा बढी समय सरकारी सेवा गरेको अनुभव पनि छ । महिडोल विश्व विद्यालय, थाईल्याण्डबाट सन् १९९७ मा जनस्वास्थ्य ब्यवस्थापन विषयमा स्नातकोत्तर उपाधीलगायत स्वास्थ्य अर्थशास्त्र एवं योजना निर्माण र प्रणाली सुधार सम्बन्धी विशेष दक्षता हासिल गर्नुभएका प्याकुरेलले विश्वका डेढ दर्जनभन्दा बढी मुलुककोे भ्रमण गर्नुभएको छ । यही दक्षताका आधारमा उहाँले केही विश्व विद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा पनि काम गर्नुभएको छ ।
उहाँ जिल्लाको राजनीतिक परिवृत्तमा पनि निरन्तर चर्चामा आईरहने नाम हो । २०३५ सालमा केन्द्रीय क्याम्पस, महाराजगंजमा अनेरास्ववियूको प्रारम्भिक कमिटि हुँदै शुरु भएको उहाँको राजनीतिक सक्रियता अहिलेसम्म पनि निरन्तर कायम रहेको छ । २०३८ सालताका नुवाकोट जिल्लामा जिल्ला पार्टी अध्ययन समुहका नाममा तत्कालिन भूमिगत नेपाल कम्युनिष्ट पार्टी मालेको संगठन शुरु गर्ने तीन जना ब्यक्ति मध्ये उहाँ एकजना हुनुहुन्थ्यो । भूमिगत कालमा अर्जुन तामाङका रुपमा विभिन्न तहमा रहेर पार्टी काम गर्नुभएका उहाँले ०४७÷०४८ को समयमा जिल्ला पार्टीको सचिवको रुपमा समेत जिम्मेवारी पूरा गर्नुभएको थियो ।
हाल उहाँ नेकपा वागमती प्रदेश संगठन कमिटी अन्तर्गत अर्थ तथा योजना विभागको उप–प्रमुखको जिम्मेवारी समेत वहन गरिरहनु भएको छ । सामाजिक रुपान्तरणमा समाजको वस्तुस्थिति, सामाजिक– साँस्कृतिक मूल्य, मान्यता र आवश्यकताको ख्याल गरी राज्यस्तरबाट र राजनीतिक दलहरुबाट ईमान्दारीपूर्वक गाउँ केन्द्रित प्रगतिशील योजना आउन सक्यो भने मात्र जन अपेक्षाअनुसार समाजलाई परिवर्तनको दिशातर्फबाट डो¥याउन सकिन्छ भन्नुहुने उहाँ हालै राजधानीमा नुवाकोट सरोकार समाजका तर्फबाट एक कार्यक्रमको आयोजना गरे पश्चात् चर्चामा हुनुहुन्छ । त्यही कार्यक्रमको सेरोफेरोमा रहेर उहाँसँग त्रिशूली प्रवाह साप्ताहिकले गरेको कुराकानीको प्रमुख अंशहरु ।

नुवाकोट सरोकार समाज कस्तो संस्था हो ?

– मूलतः नुवाकोट जिल्लाबाट काठमाडौँलगायत देश तथा विदेशका विभिन्न स्थानमा छरिएर रही विभिन्न पेशा ब्यवसायसँग आबद्ध तथा क्षेत्र र विषयगत दक्षता हासिल गरेका ब्यक्तिहरूबीच आपसी हित, सहयोग, भातृत्व र मैत्रीपूर्ण भावनाको अभिवृद्धि गर्ने एउटा साझा मञ्चको आवश्यकता थियो । अर्कोतर्फ, नुवाकोट जिल्लाको पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासपति सरोकार राख्दै साँस्कृतिक एवं प्राकृतिक स्रोतको संरक्षण सम्बर्धन र सुशासन कायम गर्ने कार्यमा रचनात्मक सहयोग पु¥याएर समृद्ध नुवाकोटको परिकल्पनालाई टेवा पु¥याउने अभिप्रायले गत २०७३ सालदेखि यो संस्था क्रियाशील थियो । यसको ऐतिहासिक पाटोबारे थप प्रष्ट पार्ने हो भने, नुवाकोट कान्तिपुर भन्दा पुरानो ईतिहास बोकेको राज्यको रुपमा थियो । २०१८ सालमा राजा महेन्द्रले १४ अंचल ७५ जिल्लाका हिसाबमा राज्य संरचना गरेपछि पनि यो जिल्ला पश्चिम १ नं.को राजधानीका रुपमा चर्चित थियो र यसको आफ्नै प्रशासनिक र साँस्कृतिक महत्व पनि थियो । २०२५ सालमा सदरमुकाम विदुर सारेपछि नुवाकोटको साँस्कृतिक सम्पदा टुहुरो र विरानो बन्दै गयो र २०४६ सालको बहुदलीय प्रजातान्तिक ब्यवस्थापछि पनि तत्कालीन सदरमुकाम क्षेत्र नुवाकोट बढी नै उपेक्षित रह्यो । २०७२ को मभूकम्प पश्चात् त यो क्षेत्रको साँस्कृतिक धरोहरहरुकोे अवस्था अरु बढी संकटग्रस्त बन्यो । प्रारम्भिक अवस्थामा, यी नै पृष्ठभूमीमा रहेर नुवाकोटको ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक राजधानीको त्यो साख पुर्नस्थापित गर्न चिन्तित ब्यक्तिहरुले शुरुवात गर्नुभएको यो संस्था अहिले यो रुपमा बिस्तारित भएको मात्र हो ।

तपाई सामाजिक क्षेत्रको अगुवा हुनुहुन्छ, कति संस्था र कार्यकर्ताको पुस्ता तयार पार्नुभएको छ, विभिन्न जिम्मेवारीमा अहिले पनि हुनुहुन्छ, संस्थाको भीडमा तपाई आफैंले यो संस्थाको जिम्मेवारी लिनुको तात्पर्य ?

-ठीकै भन्नुभयो, हिजो नुवाकोटको साँस्कृतिक र पुरातात्विक क्षेत्रका प्रबद्र्धन र संरक्षणको हिसावमा क्रियाशील भएपनि हामीसँग वर्तमान समयमा नुवाकोटमा जन्मिएर देश तथा विदेशमा रहेर देश तथा विदेशका विभिन्न स्थानमा छरिएर रही विभिन्न पेशा ब्यवसायसँग आवद्ध तथा क्षेत्र र विषयगत दक्षता हासिल गरेका नुवाकोटे, नुवाकोटलाई माया गर्नेहरुको ठूला संख्या हामीसँग भएकोले नुवाकोट जिल्लालाई नै आधार बनाएर संस्थाको कार्यक्षेत्र बिस्तार गरौं भन्ने कुरा भयो । नुवाकोटको विकास र समृद्धिका लागि क्रियाशील रहेका ब्यक्ति, संघसंस्था, राजनैतिक दल, स्थानीय तह, ब्यवसायी एवं बुद्धिजीवी र नागरिक समाजसँग पनि आपसी हित, सहयोग, भातृत्व र मैत्रीपूर्ण भावनाको अभिवृद्धि गर्ने एउटा साझा मञ्चको रुपमा सहजीकरण गर्ने साथीहरुको अशल मनशायलाई सहयोग गर्ने अन्तरिम खालको जिम्मेवारीको अवस्थामात्र हो मेरो ।

जिल्लामा भएका अरु संस्था भन्दा यो संस्थामा फरक के छ त ?

– जहाँसम्म संस्थाको फरकपनको कुरा हो, हामी त्यसको पूर्व तयारीमा छौं । संस्थाको भीडमा अर्को संस्थाको रुपमा यसलाई कसरी गणना नगराउने भन्नेमा हामी सचेत छौं । माथि पनि भनें, नुवाकोट जिल्लाको आर्थिक, सामाजिक,
शैक्षिक, स्वास्थ्य, पर्यटन, पर्यावरण, साहित्य, कला संस्कृति, भाषिक, ऐतिहासिक पक्षको महत्व र उत्थान एवं समृद्धि लगायत मानवीय कल्याण लागि समुदाय, स्थानीयतह, राजनीतिकदल, व्यवसायी, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु अन्य संघ संस्थाहरु बीच आपसी सहकार्य, समन्वय गर्ने नै यो संस्थाको मूल उद्धेश्य हो । हामी आफैं दाताहरुबाट कार्यक्रम ल्याएर प्रोजेक्ट गर्दैनौं, तर सरकारी तहगत सरकार, दातालाई, लगानीकर्तालाई नुवाकोटसम्म ल्याउने कुरामा अग्रसरता, सम्पर्क, समन्वय र सहजीकरण र सम्बन्ध–सेतुको काम भने गर्छौं । यसका केही उदाहरणहरु हामीसंग छन्, संस्थाले विगतमा नुवाकोटलाई प्रदेश राजधानी बनाउनु पर्दछ भनेर तथ्यहरुको अन्वेषण र विश्लेषण समेत गरेर स्थानीय तह, जनप्रतिनिधी र सरकारका वीचमा विचार अभियान संचालन गरेको थियो । वर्तमान विश्वव्यापी कोभिड–१९ महामारीका सन्दर्भमा पनि जिल्लालाई सहयोग गर्न सम्बन्धित निकायसँग हामी निरन्तर सहकार्यमा छौं । यसै हप्तामात्र पनि, यस संस्थाको पहलकदमी र समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सहयोगी संस्था निक साईमन्स फाउन्डेशनद्धारा हाम्रो जिल्लाको त्रिशूली अस्पताललाई सुविधा सम्पन्न युनिभर्सल एनेस्थेसिया सुविधा सहितको भेन्टीलेटर उपलब्ध हुँदैछ । प्रदेश सरकारको यसपटकको बजेट तथा कार्यक्रममा एक सय बेडको विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा ल्याएको छ । त्यसमा हाम्रो समन्वय र सहकार्य हुनेछ ।

संस्थाले भरखरै राजधानीमा गरेको राजदुत सम्मान कार्यक्रमको बारेमा ब्यक्ति खुशी पार्ने सिलसिलाको कार्यक्रम भयो भनेर टिकाटिप्पणी भईरहेको छ नि ?

-मैले बुझें, तपाईले जनवादी चीनका लागि नवनियुक्त राजदुत महेन्द्र बहादुर पाण्डेको सम्मानमा गरिएको एउटा कार्यक्रमको कुरा गर्नुभएको होला । म भन्छु, यो त सबैको लागि खुशीकै कुरा हो । यसमा अन्यथा ठान्नु पर्ने कुरा नै छैन, नुवाकोटको जो कोही ब्यक्ति एउटा विशेष जिम्मेवारी लिएर देशको प्रतिनिधित्व गर्ने हैसियतमा पुग्छ भने यो संस्था जहिल्यै पनि त्यस्ता ब्यक्तिको सम्मान गर्नुपर्दछ भन्नेमा विश्वास राख्दछ । भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना हुन सक्छन्, हामी नुवाकोट जिल्लामा त्यस्ता ब्यक्ति धेरै होउन् भन्ने नै कामना गर्दछौं । जहाँसम्म ब्यक्तिको कुरा हो, महेन्द्र बहादुर पाण्डे यो जिल्लाको विकासका लागि निरन्तर खटिरहेको, नेता, गुरु र अभिभावक सबै हुन् । त्यसमाथी विशाल छिमेकी देशका लागि राजदूतको हैसियतमा जिम्मेवारी लिंदा नुवाकोटलाई लाभ पुग्ने गरी चीन सरकारद्धारा हाल सञ्चालित योजनाहरु र भविष्यमा संचालन हुन सक्ने योजना परियोजनाका बारेमा जिल्लाबासीका हिसाबले उहाँको विशेष सक्रिय भूमिकाको सार्वजनिक अपेक्षा गरिनु ब्यक्ति खुशी पार्ने कुरा हो भन्ने मलाई लाग्दैन । वन्दाबन्दीको प्रतिकूल अवस्थामा पनि उक्त कार्यक्रममा जिल्लाका सबै तह र क्षेत्रको व्यापक सहभागिताले पनि यो कुराको खण्डन गर्दैन र ? तपाइएले सम्झाउनु भयो, अर्को महत्वपूर्ण पक्ष हामी संस्थालाई, सबै विचारको मन्थन गर्ने साझा चौतारीका रुपमा विकास गर्दैछौं । किनकी, नुवाकोटसँग अहिले प्रशस्त अवसर र सम्भावनाहरु भए पनि हाम्रो समाजको प्रगतिशील पुनःजागरण र प्रर्वद्धनको टड्कारो आवश्यकता छ, त्यो हामी गर्न सक्छौं ।

तपाई एउटा राजनैतिक विचारको पक्षधर हुनुहुन्छ, संस्थाको नेतृत्व गर्दा तपाईंले भनेझैं जिल्लाका विभिन्न राजनैतिक विचारका पक्षधर वा विचार समुहले संस्थासँग सहकार्य गर्लान् ?

-विचार भन्दा माथिको विचारको अभियान हो हाम्रो । तपाईं हामीबीच पार्टीभन्दा माथिको सम्बन्ध र सहकार्य नै हुन सक्दैन भन्ने अतिशयोक्तिबाट हामी कहिले मुक्त हुने ? जिल्लाको साझा सरोकारका विषयमा हामी एउटै थलोमा बसेर चिन्तन, मन्थन र निष्कर्ष निकाल्न हामीलाई केले छेक्छ ? तर्कहीनता, अन्धविश्वास, अबरुद्ध पुस्तान्तरण, वषौं पुरानो गतिरोध, कुपमण्डुकता र दिमागी दाशताबाट हामी धेरै नै ग्रसित छौं । समाजका मूलभुत आवश्यकता, समस्या र चिन्ता एकातिर, शासन ब्यवस्थाको बैधता पाएका सस्ंथागत अभिजातहरुले ल्याउने नीति र कार्यक्रमहरु अर्कोतिर र उनीहरुले गर्ने नेतृत्व र ल्याउने नीति र कार्यक्रममा जनताको चासो र सरोकारलाई मुखरित गर्नुपर्ने सबैको दायित्व पनि हो नी, हैन र ? त्यसैले हामीलाई अहिले जिल्लाका साझा सवालहरु, आर्थिक, सामाजिक र साँस्कृतिक विसंगति, गत्यावरोध थलिएका क्षेत्रमाथिको निर्मम आलोचनात्मक चेत, सकारात्मक वहश र खबरदारी समेतको खाँचो छ । यसमा सहमत नहुने राजनीतिक दल वा विचार समुह कुन होलान् र ? हामी यो अभियानमा सबैको साथ सहयोग रहनेमा आशावादी छौं ।

अन्तमा केही भन्नु छ कि ?

-माथि भनिएका सवाल र विसंगतीमा जिल्लाको अग्रणी सञ्चार संस्था भएकोले तपाईहरु पनि सामाजिक चेतना र सहकार्यको माध्यमबाट, असल परम्परा र संस्कारको थालनीमा योगदान दिएर हाम्रो अभियानमा जोडिन आव्हान गर्दछौं । समय दिनुभयो, यसका लागि धेरै–धेरै धन्यवाद ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह