त्रिशूली अस्पताललाई दरबन्दी र स्वास्थ्य सामाग्री अभाव

  • त्रिशूली प्रवाह
  • ४ असार २०७७, बिहीबार १९:५२

विदुर, नुवाकोटमा कोरोना भाईरसको संक्रमित बढ्दै जाँदा कोरोना संक्रमितको उपचार गर्ने त्रिशूली अस्पतालमा स्वीकृत दरबन्दी र स्वास्थ्य सामाग्री तथा आवश्यक औषधीको अभाव रहेको छ ।

जिल्लामा बुधबारसम्म कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । कोरोना संक्रमित ३ जना त्रिशूली अस्पतालमा उपचारपछि मंगलबार घर फर्किएका छन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । संक्रमण पुष्टि भएको ९ जनाको त्रिशूली अस्पतालमा र १ जना खरानीटार अस्पतालमा रहेको आईसोलेसन वार्डमा राखी उपचार भईरहेको छ । कोरोना संक्रमित बढ्ने क्रम बढे पनि उपचारको लागि आईसोलेसन वार्डको अभाव देखिएको छ । त्रिशूली अस्पतालले प्रदेश सरकार र जिल्लामा स्थानीय निकायको आर्थिक सहयोगमा १० बेडको आईसोलेसन वार्ड थप्ने तयारी गरिरहेको छ । बेड संख्या थप्न सकिने भएपनि स्वीकृती ५० बेडको त्रिशूली अस्पताललाई स्वीकृती ५८ जना दरबन्दी पूरा नहुँदा उपचार सेवा दिन सकिरहेको छैन । अस्पतालमा छात्रवृत्तिका करार केही डाक्टर र दुईजना विशेषज्ञ डाक्टर मात्र कार्यरत रहेका छन् । सरूवा भएर जाने तर नआउने कारणले स्वास्थ्यकर्मीको अभाव भएको अस्पताल विकास तथा ब्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो  ।

कोरोना संक्रमित यही क्रममा जिल्लामा थपिंदै जाने हो भने त्रिशूली अस्पतालले थेग्न नसक्ने उहाँले बताउनु भयो । स्वास्थ्यकर्मीलाई आईसोलेसनमा खटाउँदा १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने भएकोले अस्पतालको अन्य सेवा सुचारू गर्न स्वास्थ्यकर्मीको अभाव देखिएको छ । करारको डाक्टरले धानेको अस्पतालको सेवा नियमित गराउन धौं–धौं परिरहेको अध्यक्ष न्यौपानेले बताउनु भयो । अस्पताल विकास समितिसँग बजेटको समेत अभाव रहेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मीको बिमा र उत्प्रेरणा तथा जोखिम भत्ता समेत अस्पतालले दिन सकेको छैन । बिमाको लागि समितिले पैसा पठाउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईले बताउनु भयो । प्रदेश सरकारबाट उत्प्रेरणा तथा जोखिम भत्ता कम आएकोले कोरोना उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई भत्ता नपुगेकोले नदिएको उहाँले बताउनु भयो । अस्पतालसँग स्वास्थ्यकर्मी र कर्मचारीका लागि गतिलो आवास भवन समेत नभएको उहाँले बताउनु भयो । विगतदेखि नै अस्पतालले आवासको रूपमा प्रयोग गर्दै आएको विद्युत् प्राधीकरणको जिर्ण पूरानो भवनमा शौचालय र पानीको समेत ब्यवस्था छैन । अस्पतालले कोरोना भाईरसको उपचारको लागि आवश्यक औषधी नहुँदा रगत परीक्षण गर्दा प्राप्त लक्षणको आधारमा उपचार गर्न समस्या परिरहेको डा.राईले बताउनु भयो । अस्पतालमा एन्टीभाईरस नहुँदा र निःशुल्क बाँड्नुपर्ने औषधी प्रयाप्त नहुँदा कोरोनालगायत अन्य रोगका संक्रमितको उपचार गर्न समस्या भईरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा दरबन्दी पूरा गर्ने र आवश्यक उपकरण औषधीले भरिपूर्ण बनाउने बारेमा जिल्ला तहमा धेरै छलफल भएको छ । आईसियु आवश्यक भएको जिल्ला तह र विकास तथा ब्यवस्थापन समितिले निर्णय गरेर प्रदेश सरकारलाई पठाए पनि जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्नेहरूले गफ मात्र गर्दा अस्पतालमा सेवा सुविधा प्रभावकारी हुन सकेको छैन । प्रदेश सरकारले त्रिशूली अस्पताललाई ५० बेडबाट अपग्रेड गरेर १०० बेडमा स्तरोन्नती गर्न आगामी वर्षको २०७७÷०७८ को नीति तथा बजेटमा प्रस्ताव गरेको छ ।