पहिरोले बस्ती जोखिममा

  • त्रिशूली प्रवाह
  • १८ असार २०७७, बिहीबार ०८:५४

कोलनी/  विदुर नगरपालिका– ८ को क्यौरेनी खिञ्चेतमा ३० वर्षदेखि पहिरो जान सुरु गरेको भए पनि सम्बन्धित निकायले रोकथाममा ध्यान नदिँदा सयौँ रोपनी जग्गा र बस्ती जोखिममा परिरहेको छ । उक्त पहिरोले वडा नं.– ८ को खिञ्चेत र क्यौरेनी गाउँ उच्च जोखिममा परेको छ ।

वि.सं. ०४२ सालदेखि पहिरो जान सुरु गरेकोले बर्खा लागेपछि गाउँ नै बगाउने गरी पहिरो झरिरहेको छ । पहिरो राकथाम र न्यूनीकरण गर्न स्थानीयले हारगुहार गरे पनि सरकारी निकायले तदारुकता नदेखाउँदा ४०–५० घर पूर्ण रूपमा प्रभावित बनेका छन् । पहिरोले गर्दा खात्रेखोला, क्यौरेनी, खिञ्जेत र पिँडालुबारीका सयौँ रोपनी जग्गा कटानी गरेर बगरमा परिणत भएको स्थानीय समाजसेवी श्रीकृष्ण रिजालले जानकारी दिए । पहिरो नियन्त्रणका लागि वडा कार्यालय, नगरपालिका र सिँचाइ विकास तथा जलस्रोत विकास डिभिजन कार्यालयमा हारगुहार मागे पनि कहीँबाट कतै पहिरोको निरीक्षणसमेत नभएको स्थानीय केदार रिजालले बताए । स्थानीयले वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिएपछि स्थलगत अनुगमन गरेर पहिरो नियन्त्रणको काम गर्न सकिने सिँचाइ विकास तथा जलस्रोत विकास डिभिजन कार्यालयका प्रमुख हरि गुरागाईंले बताए । उक्त क्षेत्रको पहिरोबारे कार्यालयलाई लिखित जानकारी नभएको बताए । प्रदेशबाट आएको कार्यक्रमबाट पहिरो नियन्त्रणको काम गर्न सकिने भएकोले पहिरो प्रभावितले उपभोक्ता समिति गठन गरेर आउन उनले आग्रहसमेत गरे ।