निकुञ्जमा चोरी–सिकारी बढ्दो

  • त्रिशूली प्रवाह
  • १८ असार २०७७, बिहीबार ०९:११
  • सरस्वती न्यौपाने

धुन्चे/ लकडाउनको मौका छोपेर लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–सिकार गर्ने क्रम बढेको छ । निकुञ्ज कार्यालयका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको चोरी–सिकारी बढेको देखिएको छ ।

गत वर्षको फागुनदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको पाँचौँ महाहन्ट अप्रेसनमा २८ वटा पासो बरामद गरिएको थियो । यसपटक दुई सयवटा त्यस्तै पासो फेला परेको बताइएको छ । वन्यजन्तुलाई पासो थापेर सिकार गर्ने क्रम बढेको कार्यालयकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । उनका अनुसार चैत ११ गतेदेखि जेठ मसान्तसम्मा दुई सयवटा पासो फेला परेका छन् । उनले भनिन्, ‘अप्रेसन फागुन १ गतेदेखि सञ्चालन गरेका थियौँ ।’ लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले चार महिनाको महाहन्ट अप्रेसनबाट निकुञ्ज क्षेत्रमा चार हजार दुई सय ८६ वटा गस्ती सञ्चालन गरेको थियो ।

सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी भूपेन्द्रप्रसाद यादवका अनुसार निकुञ्ज तथा मध्यवर्ती क्षेत्र रहेका वन, वनस्पति तथा वन्यजन्तु संरक्षणका निकुञ्ज प्रशासनलगायत निकुञ्जको सुरक्षार्थ खटिएका अवैध गतिविधि नियन्त्रणका लागि ६ वर्षदेखि महाहन्ट अप्रेसन सुरु भएको हो । यसले निकुञ्जको संरक्षणको कार्यमा ठूलो सहयोग पुगेको छ ।

०७६ फागुन १ गतेबाट सुरु भई ०७७ जेठ ३२ गतेसम्म निकुञ्जअन्तर्गत जिल्लाको वृद्धिम, खाम्जिङ, नुवाकोटको घ्याङफेदी, सिन्धुपाल्चोकको नेसमपाटी र भोताङ क्षेत्र गरी चार स्थानमा अप्रेसन महाहन्ट–६ सञ्चालन भई चार हजार दुई सय ८६ वटा गस्तीबाट विभिन्न क्रियाकलापमा संलग्न ४० जना व्यक्तिलाई विभिन्न सामग्रीसहित पक्राउ गरी नियमानुसार कारबाही गरिएको सूचना अधिकारी यादवले बताए ।
समुद्री सतहबाट एक हजार मिटरदेखि दुई सय ४५ मिटर उचाइसम्म रहेको यो निकुञ्ज जैविक, धार्मिक, तथा सांस्कृतिक रूपमा नै धनी रहेको छ । रसुवा ५७ प्रतिशत, नुवाकोट सात प्रतिशत र सिन्धुपाल्चोक ३६ प्रतिशत गरी १७ सय १० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पहिलो हिमाली निकुञ्जको रूपमा परिचित छ ।

यस निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्र चार सय २० वर्गकिलोमिटरमा फैलिएको छ । यस निकुञ्जभित्र ४६ प्रजातिका स्तनधारी वन्यजन्तुदेखि लिएर १० हजार २१ प्रजातिका वनस्पतिसमेत पाइन्छन् भने बन्दाबन्दीको समयमा पनि निकुञ्ज क्षेत्रभित्र विभिन्न अवैध गतिविधि सञ्चालन भइरहेकोमा निकुञ्ज प्रशासन, नेपाली सेना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको उपस्थितिमा दैनिक गस्ती तथा जनसचेतनामूलक कार्यक्रमसमेत नियमित रूपमा सञ्चालन भएका छन् ।

नेपालको दोस्रो पर्यटकीय गन्तव्यस्थलको रूपमा रहेको सङ्घीय राजधानी काठमाडौंदेखि सबैभन्दा नजिकमा रहेको हिमाली राष्ट्रिय निकुञ्ज ०३२ साल चैत ९ गते स्थापना भएको थियो ।