जनार्दन अधिकारी
प्रधानाध्यापक,
वागेश्वरी माध्यमिक विद्यालय
सूर्यगढी-३, चोकदे, नुवाकोट
विसं २००७ मा देशमा राणाशासनको अन्त्यपछि देशभर विद्यालय खुल्ने लहरसँगै नुवाकोटमा पनि विद्यालय खुल्ने क्रम सुरु भयो । त्यतिवेला नुवाकोट जिल्लामा खुलेका थोरै विद्यालयमध्ये वागेश्वरी माध्यमिक विद्यालय एक हो । विसं २००८ मा प्राथमिक विद्यालयका रूपमा खुलेको वागेश्वरी माविले समयानुकूल र समाजको आवश्यकताअनुसार क्रमशः स्तरोन्नति हुँदै २०२२ मा मिडिल स्कुल, २०३७ मा मावि, २०६१ मा मावि, उच्चमावि (कक्षा ११ र १२), २०७९ मा प्राविधिक धार (बाली विज्ञान कक्षा ९-१२) सञ्चालन गरिरहेको छ । यसै विद्यालयमा कक्षा एकदेखि १२ सम्म अध्ययन गरेका जनार्दन अधिकारी साढे दुई वर्षदेखि प्रधानाध्यापक हुनुहुन्छ । त्यस भेगमा गुणस्तरीय शिक्षा प्रदान गर्दै जिल्लामा आफ्नै पहिचान बनाउन सफल वागेश्वरी माविका प्रधानाध्यापक अधिकारीसँग ‘त्रिशूली प्रवाह साप्ताहिक’का प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :
वागेश्वरी माविमा तपाईंको अनुभव कस्तो रहेको छ र विद्यालयको विगत कस्तो थियो ?
म वागेश्वरी माविमा कक्षा एकदेखि १२ सम्म अध्ययन गरेको पूर्वविद्यार्थी हुँ र २३ वर्षदेखि शिक्षणका क्रममा निरन्तर विद्यालयसँग जोडिएको छु । विसं २०८० जेठदेखि विद्यालय सञ्चालनको प्रशासनिक भूमिकामा समेत क्रियाशील छु । विसं २००७ मा राणाशासनको अन्त्यसँगै तत्कालीन समाजसेवीको अग्रसरतामा प्राथमिक विद्यालयका रूपमा खुलेर २०२२ मा मिडिल स्कुल, २०३७ मा मावि र २०६१ मा उच्च माध्यमिक विद्यालय तह सञ्चालन गरेको विद्यालयले २०७९ बाट प्राविधिक धारसमेत सञ्चालन गर्दै आएको छ । माविमध्ये यो जिल्लामा बाह्रौँ हो भने माध्यमिक तह ११-१२ सञ्चालन गर्ने छैटौँ विद्यालय हो ।
स्कुलको हालको शैक्षिक, भौतिक, जनशक्तिको अवस्था कस्तो छ ? विषय विशेषज्ञ शिक्षक कति छन् ?
कक्षा १० (एसइई), कक्षा १२ को (प्लस टु) दुवै परीक्षामा विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । पछिल्ला वर्षमा विद्यालयमा प्राविधिक धार बाली विज्ञानको सञ्चालनले वरिपरिका विद्यार्थीको विद्यालयप्रतिको आकर्षण बढेको छ । विद्यालयमा सुस्तश्रवण (बहिरा) बालबालिकाका लागि सञ्चालित स्रोत कक्षाका कारण उक्त प्रकृतिका बालबालिका धेरै टाढाबाट आउने हुनाले विद्यालयको सेवा क्षेत्र फराकिलो बनेको छ । साधारण धारतर्फ कक्षा ११-१२ शिक्षा र वाणिज्य शास्त्रका विषयका पढाइले सबैखाले जनशक्ति उत्पादनमा विद्यालयले योगदान पुर्याइरहेको छ । हाल विद्यालयमा बाल विकास शिक्षक एक, प्राथमिक तहका शिक्षक पाँच, स्रोत कक्षाका स्रोत शिक्षक दुई, निमावि तहका शिक्षक ६, माध्यमिक तहका शिक्षक पाँच, साबिक उमावि तहका शिक्षक दुई तथा प्राविधिक धारमा प्रशिक्षक, शिक्षक, सहायक प्रशिक्षक र ल्याब टेक्निसियन गरी नौ, विद्यालय नर्स एक, आया दुई एवम् कार्यालय सहयोगी र लेखापाल एक-एक गरी ३५ जनशक्ति कार्यरत छन् । सबै तहमा विषयगत शिक्षक तथा प्रशिक्षक उपलब्ध छ ।
प्राविधिक धारको अवस्था कस्तो छ ?
विसं २०७९ देखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय सञ्चालनका लागि छनोट भई प्राविधिक धार सञ्चालन गरिएको यस वर्ष प्राविधिक धारको कक्षा १२ सञ्चालन भएको छ । कक्षा नौदेखि १२ सम्म प्राविधिक धारमा ७२ विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षामार्फत रोजगारी तथा स्वरोजगारीको सम्भावना रहेका कारण यसप्रति विद्यार्थीको आकर्षण क्रमशः बढ्दै गएको छ ।
विद्यार्थी सङ्ख्या कति छ ?
एक दशकअघि ११ सयभन्दा बढी विद्यार्थीलाई सेवा दिएको विद्यालयले केही वर्ष जिल्लाभरिमा नै एसएलसी परीक्षामा सबैभन्दा बढी विद्यार्थी सामेल गराएको थियो । तर, पछिल्ला वर्षमा विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गइरहेको छ । विसं २०७२ को भूकम्पपश्चात् ग्रामीण क्षेत्रबाट निरन्तर भइरहेको बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या घटे पनि पालिकाभित्र सबैभन्दा बढी विद्यार्थी सङ्ख्या हाम्रामा नै छ । हाल कक्षा एकदेखि १२ सम्म करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।
जिल्ला र पालिकाकै पुरानो विद्यालय वागेश्वरीको भौतिक पूर्वाधार र जनशक्तिको पर्याप्तताबिच विद्यालयको नतिजाप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
विद्यालयको नतिजा उत्कृष्ट नै छ । हामी अझ राम्रो गर्ने प्रयासमा छौँ । सम्पूर्ण शिक्षक, स्टाफ र विद्यालय व्यवस्थापन समिति नतिजामा थप सुधारका लागि निरन्तर लागिरहेका छौँ । भौतिक पूर्वाधारमा विद्यालयले न्यूनतम आवश्यकता धानेको छ, खेलमैदान तथा छात्रावासका लागि केही कक्षा थप गर्नुपर्ने अवस्था छ । जनशक्ति पर्याप्त नै छ । जनशक्ति र भौतिक स्रोतको उपलब्धताबिच विद्यालयको शैक्षिक नतिजा अझ राम्रो बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु । अभिभावकको विद्यालयप्रतिको भरोसा बढेर जानु र विद्यार्थीको लगनशीलतामा भएको वृद्धिले सर्वोत्कृष्टताका लक्ष्यमा पुग्ने आशाका साथ क्रियाशील छु ।
कक्षा ११ र १२ मा कुन-कुन विषयमा अध्यापन भइरहेको छ ?
साधारणतर्फ कक्षा ११-१२ मा वाणिज्यतर्फ लेखा, व्यावसायिक अध्ययन र अर्थशास्त्र विषयको पढाइ भइरहेको छ । शिक्षाशास्त्रतर्फ नेपाली, अङ्ग्रेजी, शिक्षा र गणित विषयको तथा प्राविधिक धारतर्फ वनस्पति विज्ञानअन्तर्गतका विषयको पढाइ भइरहेको छ ।
एसइईमा केही वर्षदेखि नतिजा सुधारोन्मुख देखियो, यसको कारण के हो ?
मूल्याङ्कनमा ग्रेडिङ प्रणालीको गलत बुझाइ र कोभिडपश्चात् विद्यार्थी नतिजा केही खस्केको थियो । पछिल्ला वर्षमा विषय शिक्षकसँग शैक्षिक नतिजामा आधारित रही कार्यसम्पादन सम्झौतासहित शिक्षक साथीको निरन्तरको खटाइ, निरन्तरको नतिजा विश्लेषणसहितको अभिभावक, विद्यार्थी र शिक्षकसहितको अन्तक्र्रिया, कठिन विषयमा अतिरिक्त कक्षाको व्यवस्था र निरन्तरको पृष्ठपोषणका कारण केही वर्षदेखि नतिजामा सुधार आएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दै गइरहेको छ नि ?
विद्यार्थी सङ्ख्या घट्नु नेपालभरको सामुदायिक विद्यालयको पछिल्ला वर्षमा देखिएको समस्या नै हो । सामुदायिकमा गुणस्तर नै हुँदैन भन्ने भाष्य सिर्जना हुँदा विद्यालयको नतिजा घट्नुमा अप्रत्यक्ष भूमिका खेलेको छ । अर्कातिर समाजको प्रतिनिधित्व गर्न सक्ने सक्षम अभिभावकको यहाँ पढाइ नै हुँदैन भन्ने भाष्यले अत्यन्त कमजोर वर्गले मात्र सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने अवस्था सिर्जना हुँदा विद्यालयको नतिजा केही खस्कन गएको हो ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा विषय अध्ययन गर्न अझै जिल्लाबाट बाहिरिने विद्यार्थी रोक्न सकिँदैन ?
विद्यार्थी बाहिरिनुमा विद्यालय मात्र जिम्मेवार छैनन् । पछिल्ला वर्षमा विद्यार्थी तथा अभिभावकको सहरमोह, अभिभावकको आर्थिक सक्षमता र सहरमा बिहान, बेलुकी मिल्ने ससाना रोजगारीका अवसर र १२ कक्षापछिको गन्तव्य खोजीले पनि विद्यार्थी सहरकेन्द्रित बनेका छन् । यसका लागि विद्यार्थी सहरमा जुन खोजी गर्दै बाहिरिन्छन्, ती कुराको व्यवस्था स्थानीय सरकारका तर्फबाट गर्न सकिएमा गाउँबाट बाहिरिने विद्यार्थीलाई रोक्न सकिन्छ ।
वागेश्वरी र अरू विद्यालयमा के फरक छ जसका कारण विद्यार्थीले वागेश्वरीलाई नै रोजून् ?
नुवाकोटका विदुर नगरपालिका, सूर्यगढी गाउँपालिकाका पाँचवटै वडा, तादी र लिखु गाउँपालिका तथा रसुवा जिल्लाका केही बस्तीसम्म आफ्नो सेवा क्षेत्र रहेको यस विद्यालय र अरू विद्यालयबिचको फरक भनेको लामो समयदेखि यसले निरन्तर प्राप्त गरेको उत्कृष्ट नतिजा र विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा र विषयमा विविधता नै हो ।
यस वर्षको कक्षा एकदेखि १२ सम्मको शैक्षिक नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ?
यस वर्षको कक्षा १-१२ मा विद्यार्थीले प्राप्त गरेको नतिजाप्रति सन्तुष्ट छु । तैपनि यसभन्दा पनि राम्रो गर्नुपर्छ भन्ने मलाई लागेको छ । सोहीअनुसार शिक्षक तथा अभिभावक र विद्यार्थीसँग निरन्तर छलफल र परामर्श लिएर योजना बनाएको छु ।
यहाँ अध्ययन गरेका विद्यार्थी कुन-कुन तहमा पुगेका छन् ?
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी समाजका सबै क्षेत्रमा पुगेका छन् र सफल साबितसमेत भएका छन् । उनीहरू निजामती, शिक्षक, स्वास्थ्य र प्रहरी सेवा, उद्यम-व्यवसाय तथा राजनीति सबै क्षेत्रमा नेतृत्वदायी भूमिकामा छन् ।
विद्यालयको समस्या के हो ?
विद्यालयमा केही भौतिक पूर्वाधार निर्माणका आवश्यकता रहेका छन् । खेलमैदान नहुनाले विद्यार्थीको शारीरिक विकासमा भनेजस्तो गर्न सकिएको छैन । बहिरा स्रोत कक्षामा पढ्नेका लागि २० जना क्षमताको छात्रावास उपलब्ध भए पनि टाढा-टाढाबाट प्राविधिक शिक्षा लिन चाहनेका लागि छात्रावासको अति नै आवश्यकता छ । यसका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारलाई प्रस्ताव गरेका छौँ ।
पालिकाको सहयोग र समन्वय कस्तो पाउनुभएको छ ?
विसं २०७४ मा स्थानीय सरकारका रूपमा पालिकाको निर्वाचनसँगै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार पालिकामा आएपछि स्वाभाविक रूपमा विद्यालयका गतिविधिलाई नजिकबाट नियमन गर्ने सरकारी निकायको उपस्थितिले विद्यालयले अभिभावकत्व प्राप्त गरेको छ । विद्यालयप्रति पालिका तथा जनप्रतिनिधिको सद्भाव छ, आवश्यकताअनुसार सहयोग प्राप्त भएको छ ।
विद्यार्थी, अभिभावक र विद्यालयबिचको सम्बन्ध कस्तो छ ?
विद्यार्थी, अभिभावक र विद्यालयबिचको सम्बन्ध सुमधुर छ । विद्यालयका तर्फबाट अभिभावकको घरघरमै पुगेर विद्यार्थीको सम्पूर्णताको अध्ययन गर्ने अभियानलाई अझ सशक्त बनाएका छौँ । हाम्रो प्रयासले विद्यालय र अभिभावकबिच सम्बन्ध बलियो बनाउँदै लगेको छ । निरन्तर विद्यालयमा हुने अन्तक्र्रियाले शैक्षिक सुधारका साथै विद्यालयको विकासमा समेत सहयोग पुगेको महसुस मैले गरेको छु ।
राजनीतिक दबाब र प्रभाव भोग्नुपरेको छ ?
देशको विद्यमान संवैधानिक तथा कानुनी व्यवस्थाबाट विद्यालय पूर्ण रूपमा राजनीतिक अन्तरसम्बन्धबाट पूर्ण निरपेक्ष रहन त सक्दैन, तैपनि म आफू प्रधानाध्यापक भई कार्यभार सम्हालेको साढे दुई वर्षको अवधिमा राजनीतिक दबाब भोग्नुपरेको छैन । अभिभावकको प्रतिनिधित्व गर्ने विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि उचित मार्गदर्शन गर्दै आइरहेको छ । जनप्रतिनिधिबाट विद्यालयप्रति सद्भाव प्राप्त छ ।
विद्यालयको भावी योजना के रहेको छ ?
उपलब्ध स्रोत-साधनको प्रयोग गर्दै शैक्षिक नतिजालाई खस्कन नदिई बाली विज्ञान प्राविधिक धारको अतिरिक्त सिटिइभिटीलगायत अन्य शैक्षिक निकायसँग अनुमति लिई स्वास्थ्य, इन्जिनियरिङलगायत धार सञ्चालन गरी विद्यालयलाई बहुप्राविधिक बनाउने, पालिकाको सहकार्यमा आवासीय विद्यालयका रूपमा विकास गर्ने, टाढाटाढाबाट आउने विद्यार्थीका लागि विद्यालय बसको व्यवस्था गर्नेलगायत योजना विद्यालयको छ । यसका अतिरिक्त घुम्नलायक विद्यालयका रूपमा विकास गर्न आवश्यक पूर्वाधार थप गर्ने तथा असल अभ्यासका प्रयोगबाट सफल विद्यालयका रूपमा स्थापित गर्न प्रयत्नशील रहेका छौँ ।




प्रतिक्रिया