विदुर । लिखु गाउँपालिकाको केन्द्र तेस्रोपटक परिवर्तन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वडा नम्बर ३ स्थित भलाद्मीडाँडाबाट पालिकाको केन्द्र वडा नम्बर ४ को गड्खारमा सार्ने निर्णय गरेको हो । पञ्चायतकालमा नयाँ केन्द्रस्थित बगैँचामा फल्ने आँप राजदरबारसम्म पनि पुग्ने गरेको सुनिन्थ्यो ।
पालिकाको केन्द्र गत माघमा मात्र वडा नम्बर ३ को डुँडेबगैँचाबाट भालडाँडा, सेल्फीडाँडा हुँदै भलाद्मीडाँडा बनेको स्थानमा सारिएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले मंगलबार सो निर्णय गरेको हो ।पालिकाको १६औँ कार्यपालिका बैठक र १५औँ गाउँसभाले गत वर्ष असार ८ गते निर्णयसहित मन्त्रालयमा केन्द्र गड्खारमा सार्न सिफारिस गरेको पालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष नरहरि पाण्डेले जानकारी दिनुभयो । साबिक चौघडा-४ को कित्ता नम्बर ३६८, क्षेत्रफल ५-१५-२-१ र कित्ता नम्बर ९०१ को क्षेत्रफल ०-६-०-० जग्गा सिँचाइ सबडिभिजनका नाममा दर्ता भएकामा बेवारिस भइरहेको थियो । सोही जग्गामा केन्द्र सार्न पालिकाले गरेको सिफारिसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय गराएको हो । अब उक्त स्थानमा सुविधासम्पन्न प्रशासकीय भवन बनाइने पालिकाका अध्यक्ष धु्रव श्रेष्ठले बताउनुभयो ।




प्रतिक्रिया