+
Search

ताजा अपडेट +

पपुलर +

विदुर खानेपानी संस्थामा पुनः सञ्जीव

विदुर खानेपानी संस्थामा पुनः सञ्जीव
त्रिशूली प्रवाह
७ घण्टा अगाडी

विदुर । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति निर्वाचन प्रक्रियाबाट चयन भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सञ्जीवबहादुर श्रेष्ठ पुनः निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा श्रेष्ठ र हरिशरण गजुरेलबिच प्रतिस्पर्धा हुँदा श्रेष्ठले एक हजार तीन सय ७० मत प्राप्त गरी विजयी हुनुभएको हो । गजुरेलले सात सय ३७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत होमबहादुर थापामगरले जानकारी दिनुभयो ।

निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को संयुक्त प्यानल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र स्वतन्त्रसहित अरू दलको संयुक्त प्यानलबिच नौ पदका लागि प्रतिस्पर्धा भएको थियो । एमाले-काङ्ग्रेसको गठबन्धनले अध्यक्ष, कोषाध्यक्ष र पाँचजना सदस्य जितेको छ भने नेकपासहित स्वतन्त्र समूहले उपाध्यक्ष र सचिव हात पारेको छ । तीन हजार ६ सय ६५ मतदाता रहेको संस्थाको निर्वाचनमा २३ सय ४७ मत खसेकोमा एक मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कुल मतदातामध्ये ६४ प्रतिशत मतदानमा सहभागी भएका थिए ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार नेकपासहित स्वतन्त्र समूहका उपाध्यक्षका उम्मेदवार राजेन्द्र पाण्डेले एक हजार ६१ र सचिवका उम्मेदवार रघुनाथ रिमालले एक हजार ६१ मत प्राप्त गरी विजयी हुँदा एमाले-काङ्ग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नवीन प्रधानले नौ सय ६९ मत र सचिव पदका उम्मेदवार अच्युतराज महन्त गिरीले नौ सय २२ मत पाएका छन् । प्यानलका पूरै टिम विजयी हुँदा सचिव र उपाध्यक्ष काङ्ग्रेस-एमालेबाट गुमेको छ । उपाध्यक्ष र सचिव पदमा एमाले र काङ्ग्रेससमर्थक मतदाताले उठाएका उम्मेदवारलाई नरुचाएको बताइएको छ । उपाध्यक्षमा एमालेले र सचिवमा काङ्ग्रेसले हारेपछि दुवै पार्टीमा अहिले खैलाबैला मच्चिएको छ । एमाले-काङ्ग्रेस गठबन्धनका अम्बिका चित्रकारले एक हजार एक सय ६७ मत प्राप्त गरी कोषाध्यक्ष पदमा विजयी हुँदा नेकपा र स्वतन्त्र समूहकी संंगीता कोइरालाले आठ सय २५ मत प्राप्त गर्नुभएको छ ।

एमाले काङ्ग्रेसको टिमबाट महिला सदस्यमा बिन्दाकुमारी सडौलाले एक हजार ८५, सीता अधिकारीले एक हजार एक सय तीन र सदस्यमा शंकर पाण्डेले एक हजार ६६, दीपकबहादुर तिमिल्सनाले एक हजार ४४ मत र गोविन्दबहादुर अधिकारीले नौ सय ४५ मत पाएर विजयी भएका छन् । महिला सदस्यमा नेकपा र स्वतन्त्र गठबन्धनका महिला सदस्य पदका उम्मेदवार सरस्वती न्यौपानेले आठ सय ४५, चिरग्याल लामा तामाङले आठ सय नौ र सदस्यमा सुमन अधिकारीले नौ सय चार, मुरारी नेपालले नौ सय चार, दीपक कुमालले सात सय ३० मत प्राप्त गरेर पराजित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह