गुर्जेभञ्ज्याङ । सक्रिय पत्रकारितामार्फत राष्ट्रलाई अतुलनीय योगदान पुर्याउनुभएका वरिष्ठ सञ्चारकर्मीको भेला शनिबार गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र शिवपुरी-७, सूर्यचौर, नुवाकोटमा सम्पन्न भएको छ । सम्पादक समाज नेपालद्वारा आयोजित एकदिने यात्रा कार्यक्रममा पत्रकारिता क्षेत्रमा दशकौँ वर्ष बिताइसकेका पत्रकारले पञ्चायती व्यवस्थादेखि अहिलेसम्मको अवस्थामा पत्रकारिता क्षेत्रमा भएका अनेकौँ उतारचढावको अनुभव आदान-प्रदान गर्नुभएको थियो ।
‘ऊ वेलाका हाम्रा कुरा’ शीर्षकमा वरिष्ठ पत्रकारले विगतमा गरिने पत्रकारिता र वर्तमानको सञ्चारकर्मका विषयमा आफूहरूले गरेको अनुभव सुनाउनुभएको थियो । पत्रकारितामा बहस विशेष बन्न नसकेका अवस्थामा अग्रज पत्रकारले पत्रकारिता गर्दाको त्यो सङ्कटपूर्ण अवस्था र हालको अवस्थाबिचको भिन्नताबिच अनुभव पुरुषोत्तम दाहाल, तीर्थ कोइराला, देवप्रकाश त्रिपाठी, टंक पन्त, कुलचन्द्र वाग्ले, शान्तिकृष्ण अधिकारी, सुदर्शन आचार्य, युवराज गौतम, पुष्पराज प्रधान, हरिविनोद अधिकारीलगायतले राख्नुभएको थियो । सो सत्रलाई भीम थापा र अस्मिता श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी पत्रकारिताले त्यो वेला सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको असरका विषयमा चन्द्रमणि गौतम, विजय पौडेल, जुनारबाबु बस्नेत, विकास सत्याल, राजु सिलवाल, यम विरही, पुस्कर भुर्तेल, बेनीबहादुर कार्कीलगायतले आ-आफ्ना अनुभव राख्नुभएको थियो । उक्त सत्रलाई दिनेश रेग्मी र कल्पना भट्टराईले सहजीकरण गर्नुभएको थियो । तत्कालीन अवस्थामा सञ्चार क्षेत्रमा सूचना प्रविधिको अवस्था कस्तो थियो, सूचना प्राप्त गर्न र सम्प्रेषण गर्न कति कठिनाइ र बाधा-व्यवधान भोग्नुपर्ने अवस्था थियो भन्नेबारेमा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, तारा बराल, नारायण उपाध्याय, विश्व बलामी, बिटु केसी, राजु सिलवाल, गोकर्ण अर्याल, खगेन्द्र खत्री, सुशील कोइराला, रामकृष्ण पौडेल, तुला अधिकारीलगायतले आ-आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । सम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको कार्यक्रमको संयोजन समाजका महासचिव श्याम डोटेलले गर्नुभएको थियो । कार्यक्रममा सम्पादक समाजका संरक्षक किरण वैद्य, अग्रज पत्रकार ईश्वरी वाग्ले, नेपालभूषण न्यौपाने, मदनकुमार श्रेष्ठ, नवराज चालिसे, माधव पौडेल, माधव दुलाललगायत सयजनाको सहभागिता थियो ।






प्रतिक्रिया