ककनी । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले ककनी गाउँपालिकालाई ‘ककनी भ्युटावर’ गत हप्ता हस्तान्तरण गरेको छ । ककनी-५ मा रु.सात करोडमा तीन वर्षअघि निर्माण भएको भ्युटावर उद्घाटन कार्यक्रममा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
भ्युटावरको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गर्नुभएको थियो । सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदी, ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम्बराज राईलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा भ्युटावर तथा मल्टिपर्पोज हलबाट हुने आम्दानीमध्ये ३० प्रतिशत प्रदेश सरकारले तथा ७० प्रतिशत ककनीले प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी गराइएको छ । सो कार्यक्रममा आयोजनाका प्रमुख रोशन श्रीवास्तवले सम्पन्न संरचनालाई ककनी गाउँपालिकाका उपप्रमुख मिठुमाया तामाङलाई औपचारिक रूपमा टावर हस्तान्तरण गर्नुभएको थियो । आयोजना प्रमुख श्रीवास्तवका अनुसार टावर निर्माणमा आयोजनाको जम्मा बजेट रु.सात करोड खर्च भएको छ । टावरको माथिल्लो भागमा रेस्टुरेन्ट छ । ककनीको डाँडामा निर्माण भएको टावरबाट गणेश हिमाल, दोर्जेलाक्पा, गौरीशङ्करलगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।






प्रतिक्रिया