लकडाउनमा २० अर्बको पोल्ट्रीमा नोक्सानी

  • त्रिशूली प्रवाह
  • १८ असार २०७७, बिहीबार १५:५४

विदुर, कोरोना भाईरसको संक्रमण रोक्न सरकारले देशब्यापी लकडाउन (बन्दाबन्द) गरेको आईतबार तीन महिना पुगेको छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउनको अवधीमा पोल्ट्री क्षेत्रले २० अर्ब भन्दा बढी नोक्सान भएको दाबी ब्यवसायीले गरेका छन् ।

नेपाल पोल्ट्री महासंघले लकडाउनको तीन महिनाको अवधीमा देशैभर दैनिक २२ करोड रूपैयाँ नोक्सान भएको जानकारी दिएको छ । कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशतसम्म योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर छ । महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट भन्छन्, ‘बन्दाबन्दीले ढाँड सेकिएको पोल्ट्री क्षेत्रलाई राहत दिन सरकारले बन्दाबन्दी सकिएको एक वर्ष पछिसम्म बैंकको ब्याज मिनाहा गराउनु पर्छ ।’ पोल्ट्री क्षेत्र उकास्न बैंकबाट स्वीकृत चालु पुँजी बराबर पुर्नकर्जाको ब्यवस्था गरी बढीमा पाँच प्रतिशत ब्याजदर कायम गर्नुपर्ने माघ महासंघले राखेको छ । लकडाउन शुरू हुँदा देशभर ३ करोड ५० लाख बोइलर, एक करोड ४५ लाख लेर्यस र ६२ लाख ५० हजार माउ (प्यारेन्ट) कुखुरा रहेको जानकारी महासंघले दिएको छ । लकडाउनको अवधीमा सबैखाले पोल्ट्री उत्पादनमा ठुलो गिरावट आएको थियो । बन्दाबन्दीले बर्बाद बनाएको नुवाकोटको पोल्ट्री ब्यवसायी केशव रिमाल बताउँछन् । उनले भने, उत्पादन मुल्य नै मासु दुई सय रूपैयाँ प्रतिकिलो, अण्डा ११ रूपैयाँ ६० पैसा, लेर्यस चल्ला ९५ रूपैयाँ प्रति गोटा र बोईलर चल्ला ५५ रूपैयाँ प्रति गोटा पर्न आउँछ । तर बजारमा यो भन्दा कममा बिक्री गर्नुपर्दा नोक्सानी बढेको उनले बताए । लकडाउन खुलेसँगै उत्पादन र खपतमा अलिअलि सुधार आएको नुवाकोट अण्डा उत्पादक संघका अध्यक्ष रमेश चिरकारले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।