पहिरो वस्ती जोखिममा

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:१२

कोलनी, विदुर नगरपालिका वडा नं.–८ को क्यौरेनी खिञ्चेतमा ३० वर्षदेखि पहिरो जान शुरू गरेको भएपनि सम्बन्धित निकायले रोकथाममा ध्यान नदिंदा सयौं रोपनी जग्गा र वस्ती जोखिममा परिरहेको छ । उक्त पहिरोले वडा नं.–८ को खिञ्चेत र क्यौरेनी गाउँ उच्च जोखिममा परेको छ ।

वि.सं.२०४२ सालदेखि पहिरो जान शुरू गरेकोले बर्खा लागेपछि गाउँ नै बगाउने गरी पहिरो झरिरहेको छ । पहिरो राकथाम र न्युनीकरण गर्न स्थानीयले हारगुहार गरेपनि सरकारी निकायले तदारूकता नदेखाउँदा ४०÷५० घर पूर्णरूपमा प्रभावित बनेको छ । पहिरोले गर्दा खात्रेखोला, क्यौरेनी, खिञ्जेत र पिडालुबारीका सयौं रोपनी जग्गा कटानी गरेर बगरमा परिणत भएको स्थानीय समाजसेवी श्रीकृष्ण रिजालले जानकारी दिनुभयो । पहिरो नियन्त्रणको लागि वडा कार्यालय नगरपालिका र सिंचाई विकास तथा जलस्रोत विकास डिभिजन कार्यालयमा हार गुहार मागे पनि कहीबाट कतै पहिरोको निरीक्षण समेत नभएको स्थानीय केदार रिजालले बताए । स्थानीयले वडाकार्यालयबाट सिफारिस गराएर निवेदन दिएपछि स्थलगत अनुगमन गरेर पहिरो नियन्त्रणको काम गर्न सकिने सिंचाई विकास तथा जलस्रोत विकास डिभिजन कार्यालयका प्रमुख हरि गुरागाईले बताउनु भयो । उक्त क्षेत्रको पहिरोको बारेमा कार्यालयलाई लिखित जानकारी नभएको बताउनु भयो । प्रदेशबाट आएको कार्यक्रमबाट पहिरो नियन्त्रणको काम गर्न सकिने भएकोले पहिरो प्रभावितहरूले उपभोक्ता समिति गठन गरेर आउनको लागि उहाँले आग्रह समेत गर्नुभयो ।