+
Search

ताजा अपडेट +

पपुलर +

पशुपालनमा आकर्षण बढे पनि जोगाई राख्न चुनौती

त्रिशूली प्रवाह
६ साल अगाडी
  • मिलन थापा

पछिल्लो समय धेरै नेपाली कृषक पशुपालनतर्फ आकर्षित भईरहेका छन् । युवा वर्ग, कलाकार अन्य क्षेत्रको ब्यापारी तथा अन्य पेशामा संलग्न मान्छे समेत पशुपालन क्षेत्रमा संलग्न हुने क्रम आशालाग्दो ढंगले बढेको देखिन्छ । प्रत्येक दिन पशुपालन क्षेत्रको दायरा फराकिलो हुँदै गईरहेको छ । पशुपालन भन्नाले गाई, भैंसी, कुखुरा, बंगुर र बाख्रापालन मात्र हो भन्ने संकुचित मान्यता अहिले परिवर्तन हुँदै गएको छ । अहिले पशुपालनमा विविधता देख्न सकिन्छ । पशुपालनबाट पनि जिविका चलाउने मात्र होइन सान, मानसँग घर ब्यवहार चलाईरहेको ब्यक्तिहरू हाम्रो समाजमा देखिन्छ ।

Utsuk Books & Stationery

सरकारले पशुपालन क्षेत्रमा आर्थिक प्रावधिक सहयोग गर्न थालेपछि पछिल्लो समय अस्ट्रिच पालन, टर्कि पालन, कालिज पालन, बट्टाई पालन, खरायो पालन जस्ता नयाँ खालका ब्यवसायतर्फ पनि बिस्तारै कृषक अग्रसर भईरहेका छन् । अहिले पशुपालनमा नयाँ आयाम देखा पर्न थालेको छ । कति मानिस आफ्नो सोखको लागि मात्र त कोही यसलाई नै रोजीरोटीको पेशा अपनाएर अगाडी बढिरहेका छन् ।
२०७६ सालको तथ्याङ्क हेर्ने हो भने कुल ग्राहस्थ उत्पादनको कृषि क्षेत्रले २७ दशमलव १०५ प्रतिशत योगदान गरेको छ । यसैगरी कृषितर्फको कुल ग्राहस्थ उत्पादनको २ सय ५५ पशुपालन क्षेत्रको योगदान रहेको छ । जनसंख्या बृद्धिसँगै नेपालमा पशुजन्य उत्पादन जस्तै मासु, अन्डा, दुध आदिको माग बढ्दै गएको देखिन्छ तर माग भन्दा उत्पादन निकै कम रहेको छ । त्यसैले नेपालमा पशुपालनको प्रचुर सम्भावना रहेको छ । सम्भावना भएपनि सोचेअनुसार सफलता हाँसिल गर्न नसक्नुमा पशुपालन क्षेत्रमा तपशिलमा देखिएका समस्या तथा चुनौती हुन् ।

१) प्राविधिक कर्मचारीको अभाव
संघ, प्रदेश तथा स्थानीय तहमा रहेको प्राविधिक कर्मचारी अभाव, पशुपालन क्षेत्रमा रहेको प्रमुख चुनौती हो । प्राविधिक कर्मचारीको अभावले गर्दा सरकारले भन्दै आएको कृषि क्रान्तिको नारा सपनामा मात्र सिमित नहोला भन्न सकिन्न । सरकारले ल्याएको कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारलाई हम्मे–हम्मे परिरहेको छ । दक्ष प्राविधिक (पशु विकास अधिकृत, भेटेरिनरी डाक्टर) लगायतका कर्मचारी अभावमा ब्यवसायिक पशुपालक कृषकले भनेको समयमा सेवा र सुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा पशु प्राविधिकको दरबन्दी भए पनि रिक्त रहेको देखिन्छ । एक दुई जना करार कर्मचारीले पशु सेवा शाखा जेनतेन अहिले धानिरहेको अवस्था छ । कृषकलाई आवश्यक परेको समयमा गोठ–गोठ पुग्नुपर्ने प्राविधिक नै उपलब्ध नहुँदा सानो–तिनो समस्या (रोग) ले पनि पशु चौपाय मर्ने सम्भावना हुन्छ र कृषकलाई ठुलो क्षति पु¥याउने सम्भावना हुन्छ । प्राविधिक कर्मचारी अभावले गर्दा कृषकले ठुलो जोखिम मोल्नुपरेको छ । त्यसैले प्राविधिक कर्मचारी ब्यवस्थापन गर्नु स्थानीय सरकारको पहिलो आवश्यकता रहेको देखिन्छ ।

२) पशु बिमा
नेपाल सरकार कृषि विकास मन्त्रालयले बाली तथा पशुपन्छी बिमा निर्देशन २०६९ जारी गरेको छ र बिमा शुल्कको ७५ प्रतिशत रकम समेत नेपाल सरकारले ब्यहोर्ने ब्यवस्था रहेको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने देशभर जम्मा २० वटा बिमा कम्पनीले कृषि तथा पशुपन्छी बिमाको सेवा दिईरहेका छन् । जनसंख्याको एकदम न्युन संख्या हो । बिमा कम्पनी अझै दुर दराज कृषकको गोठमा पुग्न सकेका छैनन् । कम्पनीले चुस्त दुरुस्त ढंगले काम गर्न नसकेको आरोप लाग्दै आएको छ । यदि बिमा गरेको पशु म¥यो भने बिमा रकम क्षतिपुर्ति पाउन धेरै झन्झट बेहोर्नुपर्ने कृषकको गुनासो सुनिन्छ । कृषकले पाउनुपर्ने ९५ प्रतिशत बिमा रकम भने पनि विभिन्न दस्तुर कटाई थोरै पाउने र भुक्तानीको लागि धेरै पटक कम्पनी धाउनुपर्ने झन्झटले गर्दा कृषक बिमा गर्न झन्झट मान्छन् । त्यसैले बेला–बेलामा पशु बिमाको प्रभावकारिताको विषयमाथी प्रश्न चिन्ह खडा हुने गरेको देखिन्छ । त्यस्तै कति पय कृषकलाई त पशुबस्तुको बिमा हुन्छ भन्ने कुरा समेत थाहा छैन । अझै पनि अधिकांश कृषकलाई बिमाले जोखिम न्यूनीकरण गर्ने कुरामा अनविज्ञ छन् र यसको महत्वबारे जनचेतनाको समेत अभाब रहेको देखिन्छ । त्यसैले सम्बन्धित नियमनकारी निकायको ध्यान जानु जरुरी छ ।

३) बजार
हुन त कृषकले बजारको अवस्था र सम्भावना अध्यन गरेपछि मात्र आफ्नो ब्यवसाय शुरु गर्न राम्रो हुन्छ । तर त्यो स्तरको कृषक निकै कम छन् वा छैनन् भन्दा पनि हुने नगन्ने मात्रामा छन् । त्यसैले बजार ब्यबस्थापनमा समस्या देखिन्छ । त्यसैगरी भारत लगायत अन्य विदेशी उत्पादनले भने जति पनि बजार पाउने तर नेपालमा उत्पादन भएका पशुबस्तु जन्य उत्पादन भएका (मासु, अन्डा, दुध ) आदि चै बजार नपाएर फाल्नुपर्ने अवस्था रहेको छ । कृषकले उत्पादन गरेका पशुबस्तु एउटा पालिकाबाट अर्को पालिका लैजादाँ समेत ठाउँ ठाउँमा कर तिर्नुपर्ने अवस्था अहिले छ । यो बिषयमा स्थानीय सरकारले गम्भीर ध्यान दिनु आवश्यक देखिन्छ । यसैगरी बजारमा बिचौलियाको बिग–बिगी देखिन्छ । कृषकबाट सस्तोमा किन्ने अनि महंगोमा बेच्ने बिचौलियाहरुले नाफा लुट्ने पेशा नै बनाएका छन् । जसले गर्दा उत्पादक (कृषक) तथा उपभोक्ता दुबै मारमा परेका छन् । त्यसैले बजारमा बिचौलियालाई चिर्दै बजार ब्यवस्थापनमा उचित कदम चल्नुपर्ने देखिन्छ ।

४) कृषकको आर्थिक अवस्था
नेपाली कृषकको आर्थिक अवस्था राम्रो छैन । उनीहरुले पशुपलानमा ठुलो लगानी गरेर ब्यवसाय शुरु गर्न सक्ने अवस्था छैन । कतिपय युवावर्ग तथा कृषक पुँजी अभावले गर्दा मन भएर पनि ब्यवसाय थालनी गर्न सकेका छैनन् । सामान्य तरिकाले ब्यवसाय थालनी गरेका कृषकले पुँजी अभावले गर्दा आफ्नो ब्यवसायको स्तर उन्नती गर्न सकेका छैनन् । अझै पनि अधिकांश कृषक निर्वाहमुखी पशुपालनमा नै सिमित छन् । त्यसैले सरकारबाट घोषित सहुलियत ऋणको राम्रोसँग कार्यान्वयन हुनु आवश्यक छ ।

५) घाँस लगाउने जमिन र घाँसे मैदानको अभाव
नेपाली पशुपालक कृषकले आफ्नो खेतबारीमा घाँस लगाउने चलन कम नै देखिन्छ । घाँस लगाउने जमिनको अभाव र घाँसे मैदानको अभावले गर्दा पशुबस्तुलाई अति आवश्यक घाँसको उत्पादन र चरणमा प्रभाव पार्दछ । जसले गर्दा पशुबस्तुको समग्र बृद्धी विकासमा असर गर्छ र पशुबस्तुबाट प्राप्त हुने उत्पादनमा कमी ल्याउँछ । अध्ययनअनुसार नेपालमा अझै पनि पशुबस्तुलाई ४५ प्रतिशत घाँस तथा दानाको अपुग रहेको देखिन्छ । त्यसैले पशुपालक कृषकलाई घाँस खेतीबारे जानकारी दिनुको साथसाथै विभिन्न घाँसको बिउ वितरण गरी घाँस उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक रहेको छ ।

६) दानामा मुल्य बृद्धि
दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ जस्तै मकै, चोकर, ढुटो, पिना आदिको नेपालमा उत्पादन कम हुने हुदाँ छिमेकी देश भारतलगायत अन्य राष्ट्रबाट आयात गर्नुपर्ने अवस्था छ । जसले गर्दा दानाको मूल्य महँगो हुन जान्छ र उत्पादन लागत बढ्छ । त्येसैले पशुजन्य उत्पादन (दुध, मासु, अन्डा) को मूल्य बृद्धि भई बजारमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या देखिन्छ । पछिल्लो समय नेपाली समाजमा गाई, भैंसी, बाख्रालाई समेत दाना खुवाएर पाल्ने चलन बढेसँगै दानाको माग बढेको छ तर कच्चा पदार्थ उपलब्ध नहुँदा र ठाउँ–ठाउँमा दाना बनाउने उद्योगको कमीले गर्दा दानाको मूल्य दिन दिनै बढिरहेको देखिन्छ । बेला बखत दानाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । त्यसैले दानाको गुणस्तर मापन गरिनुका साथै समय–समयमा अनुगमनको खाँचो छ । बेला–बेला दानाको अभाव देखिने हुँदा सहज आपूर्तिमा सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक देखिन्छ ।

७) नश्ल सुधार
नश्ल सुधार बिना पशुपलानमा ब्यवसायिक हुन असम्भव नै छ । नेपालमा अझै पनि नश्ल सुधारको कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । कृत्रिम गर्भदान (ब्चतषष्अष्ब िक्ष्लकझष्लबतष्यल) को सुविधा सोचेअनुसार देशभरी गाउँ–गाउँमा पुग्न सकेको छैन । त्यसैले अझै पनि नेपालमा कम उत्पादन दिने पशुबस्तुको संख्या बढी देखिन्छ । जसले गर्दा किसानलाई कम नाफा हुने गरेको देखिन्छ । त्यसैले पशु क्षेत्रको अन्य विकासको काम सँग–सँगै नश्ल सुधारलाई पनि प्राथमिकता दिनु जरुरी छ । यति धेरै समस्या रहेको पशुपालन क्षेत्रमा पछिल्लो समयको कोभिड–१९ (कोरोना भाईरस) को महामारीले गर्दा अझ धेरै चुनौती थपेको छ । कृषकले उत्पादन गरेको कुखुरा, खसी बोका, दुध, अन्डालगायतका उत्पादन बजारमा लगेर बेच्न पाएका छैनन् । त्यसैले धेरै पशुपालक कृषक ब्यवसायबाट नै पलायन हुनु सक्ने आवस्था सिर्जना भएको छ । तर पलायन हुने अवस्थामा पुगेका कृषक तथा नयाँ कृषक जोगाई राख्न आवश्यक देखिन्छ । विदेशबाट फर्किएर आएकालाई पनि यस क्षेत्रमा आकर्षित गर्नुपर्ने देखिन्छ । त्यसैले यो वर्ष पशुपालनतर्फ नयाँ प्रतिफल मुलक कार्यक्रम ल्याउन जरुरी छ । यो विषयमा संघ, प्रदेश, स्थानीय सरकार सबैको दायित्व हुन आउँछ र संघ, प्रदेश, स्थानीय सरकारबीच राम्रो समन्वयको खाँचो छ । कृषि तथा पशुपालन क्षेत्रमा रोजगारी सिर्जना गर्ने भन्दै संघ सरकारले जेठ १५ गते बजेट विनियोजन गरिसकेको छ । यसैगरी स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिंदै ७ वटै प्रदेश सरकारले पनि बजेट सार्वजनिक गरेको छ र स्थानीय सरकार पनि आफ्नो बजेट असार १० गतेभित्र ल्याउँदै छन् । कृषक विगत वर्षको कार्यक्रम तथा बजेटबाट असन्तुष्ट छन् । कृषि तथा पशुपालन क्षेत्रलाई साँच्चै विकास गर्न र कृषकको मन जित्न सरकारले नयाँ कार्यक्रम साथ साथै बजेट कार्यनयानमा जोड दिनु जरुरी देखिन्छ । यस वर्ष पनि विगतका वर्षमा जस्तै परम्परागत रूपमा नै कृषि तथा पशु विकासतर्फको बजेट खर्च गर्ने हो भने कृषि बजेट ‘बालुवामा पानी हालेको’ जस्तै कृषि विकास ‘हात लाग्यो शुन्य’ हुने निश्चित छ । अनि कृषि क्रान्तिको नारा, नारामा मात्र सिमित नहोला भन्न सकिन्न । त्यसैले कृषि तथा पशुपालन क्षेत्रलाई नाफामुलक, ब्यवसायिक, प्रतिफलमुलक, प्रतिस्पर्धी, दिगो बनाई देशको दरो अर्थतन्त्र निर्माण गर्न कृषक, ब्यापारी, सरकार तथा सरकारी निकायबीच हातेमालो हुनु आवश्यक छ ।
(लेखक ः कृषि प्राविधिक हुनुहुन्छ । )

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह