सन्ध्या होटललाई : तिन महिनाको घरभाडा छुट

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:३४
Logo of trishuli prawaha

बट्टार, कोरोना भाईरसको संक्रमण, नियन्त्रण र रोकथामको लागि गत चैत्र ११ गतेदेखि जारी लकडाउनको कारण ब्यवसाय बन्द भएको अवस्थामा विदुर नगरपालिका वडा नं.–४ बट्टार बसपार्कमा होटल ब्यवसाय सञ्चालन गरिरहेका केशव सापकोटाले तिन महिनाको घरभाडा छुट पाएका छन् । लामो लकडाउनबाट ब्यापार ब्यवसाय बन्द हुँदा मर्कामा परेका ब्यवसायी सापकोटालाई घरभाडा छुटले राहत मिलेको छ ।

विगत दुई वर्षदेखि बट्टार बसपार्कमार्गमा सन्ध्या होटल एण्ड रेष्टुरेण्ट सञ्चालन गर्दै आएका केशवले लकडाउन अवधिको चैत्र, बैंशाख र जेठ तिन महिनाको घरभाडा १ लाखको दरले तिन महिनाको ३ लाख घरधनी साधुराम रिमालले छुट दिएका छन् । त्यसपछिको घर भाडामा मासिक २० प्रतिशत अर्थात् २० हजार रूपैयाँ होटल पूर्णरूपमा सञ्चालन नहुँदासम्मको लागि समेत छुट दिएका छन् । होटल ब्यवसायीको लागि केही भएपनि राहत पुगोस् भनेर छुट दिएको घरधनी रिमालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । घरधनी रिमाल विगत १० वर्षदेखि बट्टारमै मेकानिकल उद्योग सञ्चालन गरी रहेका भएपनि उनले भने लकडाउन अवधीको एक महिनाको घरवहाल मात्र छुट पाएका छन् । उद्योगी ब्यवसायी एवं समाजसेवी धननारायण चित्रकारको बट्टार बसपार्कसँगैको जग्गा भाडामा लिएर रिमालले मेकानिकल उद्योग सञ्चालन गरिरहेका छन् । सरकारले घरभाडा छुट दिन आग्रह गरेपनि प्रायः जिल्लाका घरधनीले घर बनाउँदा बैंकबाट लिएको ऋणले गर्दा नसकिने बताएका छन् । जिल्लाको बट्टार–त्रिशूली क्षेत्रका केही घरधनीले एकदेखि ३ महिनासम्म घर, टहरा तथा जग्गा भाडामा छुट दिने क्रम बढेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउँनु भयो ।