सुन्दर र समृद्ध दुप्चेश्वरको सार : कृषि पर्यटन सम्पदा र जलाधार

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार १३:३३
Logo of trishuli prawaha

समुन्द्रटार, ‘समृद्ध दुप्चेश्वर, सुखी दुप्चेश्वरबासी’ बनाउने लक्ष्य पुरा पार्दै दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम गत हप्ता सार्वजनिक गरेको छ । ‘सुन्दर र समृद्ध दुप्चेश्वरको सार, कृषि पर्यटन सम्पदा र जलाधार’ भन्ने नाराका साथ गाउँपालिकाले भौतिक पूर्वाधार विकासको लागि एक वडा एक मुल सडकको अवधारणा नीति तथा कार्यक्रम ल्याएको छ ।

कृषि, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, विपद् तथा महामारी ब्यवस्थापनलगायतको क्षेत्रलाई प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनु भयो । कोभिड–१९ माहमारीका कारण रोजगारी गुमाई गाउँ फर्किएका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउन कृषिअनुदान कार्यक्रम नीति तथा कार्यक्रम समेटिएको छ । आगामी वर्ष वडा नं.–२, ४ र ५ मा रहेका स्वास्थ्यचौकीमा प्रसुति गृह स्थापना गरिने साथै सुरक्षित सुत्केरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिईने छ भने ‘गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा’ कार्यक्रमलाई पनि निरन्तरता दिईएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

आगामी शैक्षिक सत्र २०७८ देखि कक्षा १ मा तामाङ भाषाको स्थानीय पाठ्यक्रम तथा पाठ्य सामग्रीको विकास गरिने लक्ष्य रहेको छ । महिनावारीका कारण विद्यालय छाड्ने छात्रालाई सेनिटरी प्याड वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, नीति तथा कार्यक्रममा गाउँपालिका सबै वडामा स्तनपान कक्ष निर्माण गरिने, विद्यार्थीका लागि सामाजिक सञ्जालको प्रयोग, बालविवाह, बहुविवाह, जबरजस्ती करणी सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिने र गाउँपालिका क्षेत्रका महिलाका लागि सरकारी तथा अन्य क्षेत्रमा बृद्धि विकासको मार्ग प्रशस्त गर्न लोकसेवा आयोगको तयारी कक्षाहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।