जमिन बाँझो नराखौं : सक्नेलाई खेती गर्न दिऊँ

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार १३:३६
Logo of trishuli prawaha

वागेश्वरी, सुर्यगढी गाउँपालिकाको सातौँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ३८ करोड १२ लाख रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा खेतीयोग्य जग्गा बाँझो रहन नदिन ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’ अभियान सञ्चालन गर्न नीति तथा कार्यक्रममा राखिएको छ । अभियानको लागि गह्रा सुधार तथा चक्लाबन्दी गरी खेती कार्यको लागि आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन गरिने छ ।

बजेटमा कोरोना नियन्त्रण, पूर्वाधार विकास र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गाउँपालिकालाई तीव्र विकासमा अगाडी बढाउन घनिभुत छलफलबाट बजेट तर्जुमा गरिएको बताउनुभएको छ । सातौं गाउँसभामा उपप्रमुख मञ्जु बुढाथोकीले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३८ करोड १२ लाख रुपैयाँको बजेट पेश गर्नुभएको हो । प्रस्तुत बजेटमा चालु खर्च १९ करोड ६६ लाख ५३ हजार र पूँजीगततर्फ १८ करोड ४५ लाख रहेको छ । गाउँपालिकाले आर्थिक विकासमा २ करोड ७५ लाख ९ हजार, सामाजिक विकासमा १६ करोड ९५ हजार, पूर्वाधार विकासमा १० करोड ८८ लाख ४३ हजार, वातावरण तथा विपद् ब्यवस्थापनका लागि १ करोड ९० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ६ करोड ५७ लाख ७९ हजार रुपैँया विनियोजन भएको छ । कोरोना संक्रमणसँगै वैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको क्षति कम गर्न र अन्य गतिविधि सञ्चालनको लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ । प्रत्येक वडामा कुनैपनि समयमा हुनसक्ने दुर्घटनालाई मध्य नजर गरी उपयुक्त स्थानमा बाहै्र महिना सञ्चालनमा आउन सक्ने हेलिप्याड निर्माण गर्न दश लाख रुपैयाँ रकम छुट्टाईएको छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत अधिकांश महिलाहरु लाभान्वित हुने महिलाको प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बिस लाख रुपैयाँ राखिएको छ ।