नदी दोहन रोकिएन

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १२:४१
Logo of trishuli prawaha

विदुर, जिल्ला समन्वय समिति नुवाकोटले जिल्लाभित्रका नदीबाट बालुवा झिक्न तीन महिनाका लागि रोक लगाएको भएपनि खुलेआम दोहन भईरहेको छ ।

असार १ गतेदेखि भदौ मसान्तसम्म नदीमा हाते औजारको समेत प्रयोग गर्न नपाउने निर्णय भए तापनि रातको समयमा उपकरण प्रयोग हुन थालेको छ । संवैधानिक ब्यवस्थाअनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म नदीमा उत्खनन् गर्न पाउने छैन । जेठ अन्तिम साता जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्राकृतिक स्रोतसाधनको विषयमा १२ वटै स्थानीय सरकार प्रमुखसहितको बैठकमा असारदेखि भदौसम्म हाते औजारको समेत प्रयोग गरेर बालुवा उत्खनन् गर्न रोक लगाउने निर्णय भएको थियो तर नुवाकोटको तादी, त्रिशूली, लिखु, फंलाखु कोल्पुखोलामा अहिले दिनदाहाडै उपकरण प्रयोग गरी नदीमा उत्खनन् भईरहेको छ ।

जिल्लाका १२ वटै पालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लामा रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रमुखलगायत सम्मेलित बैठकले गरेको निर्णयलाई बालुवा ब्यवसायीले धोती लगाई दिएका छन् । निर्णयमा लेखिएको कलमको मसी सुक्न नपाउँदै प्रहरी प्रशासनकै वरिपरिका नदी क्षेत्रमा बालुवा उत्खनन् हुन थालेपछि स्थानीय सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् । बैठकले जिल्लाको त्रिशूली, तादी, लिखु, फंलाखु, सलाखु, सामरी, कोल्फुलगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टीलगायतका सामाग्री उत्खनन्मा पूर्ण निषेध गर्नुका साथै उत्खनन् गर्ने सामान बगरमा लगे पनि त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने निर्णय भएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । उक्त बैठकमा नदीमा उपकरण र बालुवा निकाल्ने ब्यक्तिलाई नै मुद्दा चलाउने नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेले उद्घोष गर्नुभएको थियो । संबैधानिक ब्यवस्थाअनुसार भएको निर्णयलाई लत्याउँदै प्रहरी प्रशासनलाई समेत आफ्नो अनुकूलतामा बालुवा ब्यवसायीले राखिरहेका छन् ।

बेल्कोटगढी नगरपालिकाको रातमाटे र कोल्पु खोलामा रातको समयमा नदी उत्खनन् शुरु भएको हो् । प्रहरी र स्थानीयको को ठाँडो आँखा नपर्ने स्थानबाट बालुवा उत्खनन् गरी डम्प गर्न शुरु भएको छ । विशेष गरी रातको समयमा पानी परेको बेला ठुला उपकरण नदीमा पस्ने गरेको छ । वर्षा याममा बालुवा उत्खनन्मा रोक लगाएको पुलिस र प्रशासनले बताए पनि बालुवा तस्करी भईरहेको छ । नदीमा पानीको बहाव बढेसँगै अवैध बालुवा उत्खनन् गरेको तयारी तिव्र भएको छ । दिनभर नदी किनार र छेउँछाउँमा स्काभेटर राख्ने रात परेपछी खोलामा पस्ने गरेको हो । दिन प्रतिदिन अवैध बालुवा ब्यवसायीको सञ्जाल बढ्दै जाँदा स्थानीय सरकार, पुलिस प्रशासनले खासै ध्यान दिन सकेको छैन् । बालुवा उत्खननमा पहुँचवाल ब्यक्तिको आडमा हुने गरेको स्रोतको दाबी छ । सडक किनारा र नदी आसपासमा स्काभेटर दिउँसो सुनसान बस्ने भएपनि रातको समयमा उत्खनन् गर्ने गरेको स्थानीय नागरिकको भनाई छ । वर्षायाममा बालुवाको अभाव भएपछि ब्यवसायीले अवैध ढंगबाट बालुवा निकासी गरी चर्को मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । वर्षा लागेसँगै स्थानीय सरकारले बालुवा निकासीमा रोक लगाएको छ । दैनिक ज्याला गर्ने मजदुरलाई साबेल प्रयोग गरेर बालुवा निकाल्न समेत रोक लगाएको हो ।