घर जलाएर खरानी बाँड्दै नेताहरु : जनतामाझ धेरै लोभी नेता भएको पार्टीमा नेकपा दर्ज

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १४:३९
Logo of trishuli prawaha

संसद्मा झण्डै दुई तिहाई नजिक छ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । सातवटा प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार छ । पूर्व माओवादीले काँग्रेससँग मिलेर ल्याएको र पूर्व एमालेले एक्लैले ल्याएको सिट संख्या हेर्दा दुई तिहाईमा छ, नेकपा स्थानीयतहमा पनि । भनिन्छ, जंगबहादुरपछि सबै भन्दा शक्तिशाली सरकार छ अहिलेको । तर, यो शक्तिशाली सरकारलाई कुनै विपक्षी चाहिँएको छैन, हल्लाउन । आफैं हल्लिएको छ । अर्थात नेकपाले नै हल्लाएको छ । माओवादी भन्ने दललाई ध्वस्त बनाएर आएको एउटा समुहले अहिले बहुमत एमाले भएको नेकपालाई ध्वस्त पार्ने प्रयास जारी राखेको छ । त्यसमा पूर्व एमाले र पूर्व माओवादी दुबै कसिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मात्र होईन नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सबै नेकपारुपी घरमा आगो लगाएर ताप्ने प्रयास गरिरहेका छन् । नेकपाको एकल सरकारलाई अरुले आगो लगाउने अवस्था नै थिएन । उक्त घरमा आगो लगाउने काममा प्रधानमन्त्री ओलीदेखि प्रधानमन्त्रीका भोका प्रचण्डसम्म लम्पसार परेका छन् । प्रचण्डलाई पूर्व एमालेले राम्रै साथ दिएका छन् । किनकि प्रचण्डलाई प्रधानमन्त्री बनाएर पार्टी कब्जा गर्ने सोचमा पूर्व एमालेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेता सक्रिय भएर लागेका छन् ।

अहिले ओली प्रधानमन्त्रीमा टिकिरहे पनि वा उनले राजीनामा गरेर प्रचण्ड वा अरु कुनै उदण्ड प्रधानमन्त्री बने पनि नेकपा भन्ने पार्टीमाथि बहुमत टिकाउन सक्दैन र धेरै लोभी नेताहरु भएको पार्टी भनेर जनतामाझ दर्ज भईसकेको छ । अब जतिसुकै प्रयास गरेपनि यो नेकपा भन्ने पार्टी आगामी निर्वाचनमा सम्हाल्न नसकेर नांगिने पक्का भएको छ । बहुमत ल्याउँदा पनि केही गर्न नसक्ने र केही गर्छु भन्नेलाई आफैंले आगो लगाएर खेदेको जस्ता आरोप पक्का पनि लाग्ने छ । त्यसमा ओली, प्रचण्ड, नेपाल, खनाल, गौतम कसैले पनि जनतालाई जवाफ दिन सक्ने छैनन् । उनीहरुले प्रतिरक्षा गर्दैमा आफ्नो समय खेर फाल्ने छन् । त्यतिबेला विपक्षी धेरै सशक्त हुने पक्का छन् । किनकि बलजफ्ती हटाएपछि ओली पक्षको अब दुई÷पाँच वर्ष प्रचण्ड, नेपाल, खनाल र गौतम पक्षलाई सहयोग हुने छैन । अनि निर्वाचनमा जानु भनेको आफैं पराजित हुनु नै हो । ओलीलाई जबरजस्त हटाएर उनलाई पार्टी फुटाउन बाध्य पारे पनि र ओलीले अरुलाई जबरजस्त आफू विरुद्ध संगठित हुन बाध्य पारे पनि अब नेकपा भन्ने दल नेपालको राजनीतिमा धेरै कमजोर हुने पक्का छ । ओलीलाई पार्टी निर्णय मान्न वा ओलीले अरुलाई पार्टी निर्णय मान्न बाध्य पारे पनि नेकपा धेरै कमजोर हुने अहिलेको घटनाक्रमले देखाएको छ ।

नेपाली जनताले चाहेको दल र नेताहरुले सत्ता चलाउँदा पनि पार्टी कमजोर हुनुमा ओली मात्र होइन प्रचण्ड, नेपाल, खनाल र गौतम सबै दोषी छन् । उनीहरुले गर्दा कार्यकर्तालाई काँग्रेस जस्ता सिद्धान्तहीन दलको अगाडी मुख देखाउँनै गाह्रो भएको छ । झगडा काँग्रेसमा पनि हुन्छ । सत्तामा भएको बेला काँग्रेस पनि फुटेकै हो । तर, अहिलेको जस्तो बलियो अवस्थामा नेकपाका नेताहरुले आफूलाई सम्हालेको भए यो देशमा अर्को १५ देखि २० वर्षसम्म अरु कुनै दलले पनि सत्ता हात पार्न सक्ने थिएन । नकेपाभित्रको रँडाकोको कारण अब नेकपाले झण्डै दुई तिहाई ल्याएको कुरा एकादेशको कथा जस्तै हुनेछ ।