नुवाकोटमा कोरोना संक्रमित २८

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १४:४२

विदुर, नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या बुधबारसम्म २८ पुगेको छ । संक्रमितमध्ये ९ जनालाई त्रिशूली अस्पताल, दुई जनालाई खरानीटार अस्पताल र एक जनालाई पाटन अस्पतालमा उपचार भईरहेको छ । संक्रमितमध्ये १६ जनाले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् ।

किस्पाङ गाउँपालिका वडा नं.–३ का २५ वर्षका महिलामा कोरोना पुष्टि भएको छ । असार ६ गते कुवेतबाट आई किस्पाङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टीनमा बस्दै आएकी महिलामा कोरोना रोगको संक्रमण पुष्टि भएको हो । क्वारेन्टीनको बसाई पूरा गरेर घर जानु अघि गरिएको आरडिटी परीक्षणमा नतिजा शंकास्पद पाईएसँगै टेकु अस्पतालमा गरिएको पिसिआर परीक्षणको नतिजामा कोरोना रोगको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ । उहाँको अनुसार बुधबार विदुर नगरपालिकाका ३० वर्षको एक पुरूषमा संक्रमण देखिएपछि नुवाकोटमा संक्रमितको संख्या २८ पुगेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी स्वास्थ्य कार्यालयले दिएको छ ।

कोरोनाको संक्रमित बढ्न थालेपछि नुवाकोटले पिसिआर मेसिन र केमिकल खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । पिसिआर मेसिन किन्नको लागि कोरियन सहयोग नियोग (जाईका)ले लगानी गर्ने भएको छ । गत बैंशाखसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ जना काठमाडौंसँग जोडिएको ककनी गाउँपालिकाका ब्यक्तिमा देखिएको थियो । सरकारले जेठ १ गतेदेखि अन्य जिल्ला र भारतलगायत अन्य देशबाट नागरिक ल्याउन थालेपछि नुवाकोटमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । डेढ महिनाको अवधिमा संक्रमित २८ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार बुधबारसम्ममा जिल्लामा पिसिआरबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । गत जेठ १ गतेपछि नुवाकोटमा अन्य जिल्ला, भारत र अन्य देशबाट झण्डै १ हजार २ सय जना जिल्ला भित्र्एिका छन् । बाहिरबाट आएकालाई गाउँपालिका र नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईनमा १४ दिनसम्म राखेर पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएमा घर पठाउने गरिएको छ ।

छिमेकी जिल्ला रसुवामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित ९ जना डिस्चार्ज भएका छन् । उत्तरगया गाउँपालिकाको एक जना जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार ४१ जना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टीनमा रहेको छ । जिल्लामा कोरोना भाईरसको लक्षण देखिएका ६ सय २६ जनाको आरडिटी परीक्षण गर्दा १२ जनाको पोजेटिभ र ६ सय १४ जनाको नेगेटिभ देखिएको उहाँले बताउनु भयो । जिल्लाको १ सय २४ जनाको पिसिआर परीक्षण गरिएकोमा १० जनाको पोजेटिभ, १ सय १४ जनाको नेगेटिभ र २ जनाको नतिजा आउन बाँकी रहेको छ ।