+
Search

ताजा अपडेट +

पपुलर +

अनियमितमा लिप्त क्याम्पस प्रशासनको कारण अद्योगतीमा नि.आ.ब. क्याम्पस

अनियमितमा लिप्त क्याम्पस प्रशासनको कारण  अद्योगतीमा नि.आ.ब. क्याम्पस
त्रिशूली प्रवाह
६ साल अगाडी

नुवाकोट जिल्लाकै पहिलो नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारको पूर्व विद्यार्थीको नाताले क्याम्पसमा भईरहेको ब्याप्त बेतिथीका बारेमा मौन बस्न सकिन । आफू अध्ययन गरेको क्याम्पसको बारेमा धेरै नकारात्मक टिप्पणी सुन्नु पर्दा साह्रै नमज्जा लाग्ने रहेछ । शैक्षिक क्षेत्र, नैतिकता र मर्यादाको ज्ञान सिकाउने शिक्षा मन्दिर हो । बुद्धिजीवी प्राज्ञिक ब्यक्तित्वको समुह रहने स्थानमा सधैं राजनीतिक खिचातानी, जालझेल, षड्यन्त्र हुनु दुःखद कुरा हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्लाकै केन्द्र विदुर नगरपालिका वडा नं.–४ बट्टार बजारमा रहेको नुवाकोटको सबैभन्दा पुरानो र ठूलो क्याम्पसमा बेथितीको चाङ लाग्नु लाजमर्दो विषय हो । २०४२ सालमा पश्चिम १ नम्बर विकास केन्द्र खारेज भएपछि उक्त स्थानमा क्याम्पस स्थापना भएको हो । क्याम्पस स्थापना हुनुमा स्थानीय समाजसेवी, ब्यापारी, बुद्धिजिवी तथा नुवाकोटका नेताको ठुलो योगदान रहेको छ । नुवाकोट क्याम्पस स्थापना भएपछि रसुवा, धादिङ र नुवाकोटका धेरै सर्वसाधारण जनताका छोराछोरीले सहजरूपमा उच्चशिक्षा हासिल गर्न सकेका छन् । धेरैले स्नातकोत्तर तहसम्म आफ्नै घर आँगनमा पढ्न पाएका छन् । तर पछिल्लो समय क्याम्पसमा भए गरेका अनियमितताको खबर श्रृङखलाबद्ध रुपमा विभिन्न पत्रपत्रिकामा आउन थालेकाले हामी पूर्व विद्यार्थी र सरोकारवाला समेत नतमस्तक हुनुपर्ने स्थिती बनेको छ । क्याम्पस प्रशासन, सञ्चालक समिति र विद्यार्थी युनियन तथा अध्ययनरत सबै विद्यार्थीको सामूहिक प्रयासबाट क्याम्पसको विकास हुने हो ।

Suzuki New Bike & Scooter

स्थानीय निकाय, जनप्रतिनिधी र प्रतिष्ठित ब्यापारी, समाजसेवी, विभिन्न संघसंस्था तथा जनसमुदायको साथ र सहयोगबाट क्याम्पस अगाडी बढ्नुपर्ने हो । तर क्याम्पस प्रशासन र सञ्चालक समितिको मिलेमतोमा दिनप्रति दिन अनैतिक कार्य सम्पादन भईरहँदा हामी लज्जित भएका छौ । चरम आर्थिक अनियमितता, भौतिक संरचनाको दुरुपयोग, कर्मचारी तथा प्राध्यापकको नियुक्तिमा मनोमानी, राजनीतिक आस्थाका आधारमा विद्यार्थीमाथि धाकधम्की र भेदभावदेखि सञ्चालक समितिका सदस्यमाथि समेत दुर्वव्यवहार भएका घटना एकपछि अर्को बढ्दै सार्वजनिक भएका छन् । क्याम्पस प्रशासकले स्ववियु निर्वाचनको मुखमा सुचना टाँसेर जर्बजस्ती ढंगले स्थगन गरी विद्यार्थी आवाज दबाउने कार्य गरेका छन् । मनोमानी ढंगबाट क्याम्पस प्रशासन अगाडी बढ्न खोज्दा भविष्यमा अझै द्वन्द्व बढ्ने देखिन्छ । सञ्चालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखको मिलेमतो र षड्यन्त्रमूलक क्रियाकलापका कारण विद्यार्थी, अभिभावक तथा स्थानीय जनता समेत आर्जित भईसकेका छन् । त्रिभुवन विश्व विद्यालयमा दिनप्रति दिन क्याम्पसका विरुद्धमा उजुरी थपिएका छन् । पछिल्लो समय क्याम्पस प्रशासनले त्रिभुवन विश्व विद्यालयलाई समेत गुमराहमा राखेर त्रिविको निर्देशनलाई समेत लत्याएको घट्ना बाहिरिएको छ ।

त्रि.वि. उपकुलपतिको कार्यालय योजना निर्देशनालयले तीन वर्ष अगाडि २०७४ चैत २ गते नै क्याम्पसको नयाँ बिधान बनाउन सूचना गरेको थियो । नयाँ बिधान स्वीकृत नभएसम्म सञ्चालक समितिले कुनै पनि नियुक्तिलगायत नीतिगत निर्णय नगर्न भनेको छ । तर क्याम्पस सञ्चालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखले त्रिविको उक्त निर्देशन धोती लगाएका छन् । त्रिविको निर्देशन विपरीत सञ्चालक समितिमा मौजुदा सदस्यलाई निस्कासन गरी नयाँ सदस्यहरु नियुक्त गरेको छन् । त्रि.वि. सम्बन्धन सम्बन्धि विनियम २०७३ को परिच्छेद १४ नियम ३४ बमोजिम त्रि.वि. सभा तथा कार्यकारी परिषद सचिवालयले निर्णय गरि प्रेषित निर्देशन सम्बन्धि पत्र समेत केही समय गायव गरी अनियमित कार्यमा लिप्त क्याम्पस प्रशासनको जति निन्दा गरेपनि कम हुन सक्छ । त्रि.वि.ले हुलाकमार्फत रजिष्टर गरेर पठाएको पत्र महिनौसम्म नबुझेपछि दुई हप्ता अगाडी त्रिशूली प्रवाहको अन्तिम पेजमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशन भएकै दिन क्याम्पस प्रशासनले हुलाकीलाई खवर गरेर पत्र बुझेको कुरा समेत बाहिर आयो । यसले पनि प्रष्टिन्छ क्याम्पस बेथितीका घटनाहरू कति भएका होलान् । त्रिभुवन विश्व विद्यालयको निर्देशन विपरीत अनियमित कार्यहरु गरेको कारणबाट क्याम्पसको प्रतिष्ठामाथि गम्भीर प्रश्न उठेको छ । क्याम्पस प्रशासनको ज्यादतीका विरुद्ध सरोकारवाला एकजुट भई कानुनी उपचार खोज्न विलम्ब गर्न नहुने देखिन्छ ।

अनुजकुमार श्रेष्ठ
पुर्व विद्यार्थी

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह