विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीका कारण विदुर-१ स्थित त्रिशूलीबजार क्षेत्रमा रहेको ऐतिहासिक सुगतपुर विहारमा क्षति पुगेपछि त्यसको पुनर्निर्माणका लागि सुगतपुर विहार संरक्षण समितिले नयाँ स्थानमा जमिन माग गरेको छ । समितिले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई गत हप्ता ज्ञापनपत्र बुझाउँदै पुरानो विहार क्षेत्र पुनर्निर्माणका लागि उपयुक्त नरहेकाले मौखिक रूपमा विदुर-९ स्थित कोलोनीमा जग्गा दिनका लागि प्रक्रिया अघि बढाइदिन आग्रह गरेको छ । समितिका संरक्षक भिक्षु मैत्री महास्थविर, भिक्षु शारद, समितिका अध्यक्ष आनन्दराज शाक्यलगायतको टोलीले बुझाएको ज्ञापनपत्रमा जग्गा प्राप्तिपछि स्थानीयवासी तथा स्वदेशी–विदेशी बौद्धधर्मप्रेमीबाट सहयोग जुटाएर विहार पुनर्निर्माण गर्न सकिने उल्लेख छ । समितिले पुनर्निर्माणका लागि नगरपालिका तथा सरकारबाट आवश्यक सहयोगको समेत अपेक्षा गरेको छ ।




समितिका अनुसार सुगतपुर विहार नुवाकोटमा थेरवाद बुद्ध धर्मको पुनर्जागरणसँग जोडिएको ऐतिहासिकस्थल हो । विसं २००६ मा भिक्षु धर्मालोक महास्थविरको पहलमा भिक्षुको आवासका लागि जग्गा प्राप्त भएपछि यहाँ विहार निर्माण भएको थियो । वि.सं. २०१९ देखि बौद्ध परियत्ति शिक्षाको अध्ययन–अध्यापन सुरु भएको र २०२० देखि भिक्षु महासङ्घबाट मान्यता प्राप्त गरी व्यवस्थित रूपमा कक्षा सञ्चालन हुँदै आएको थियो । यसपटकको महाप्रलयकारी बाढीले विहारका धम्मागार, अतिथिगृह, भोजनगृह, ध्यानागार, गन्धकुटी, ग्रन्थशालालगायत संरचनामा ठुलो क्षति पु¥याएको थियो । अहिले विहार रहेको भूभागमै त्रिशूली नदी बग्न थालेपछि यसको पुनर्निर्माण चुनौतीपूर्ण बनेको हो । ज्ञापनपत्र बुझाउने क्रममा त्रिशूलीबजार तथा सुगतपुर विहारको इतिहास समेटिएको धर्मरत्न शाक्य त्रिशूलीद्वारा लिखित पुस्तकसमेत नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरिएको विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो ।

यसैबिच सुगतपुर विहारमा रहँदै आउनुभएका भिक्षु शारदलाई सुगतपुर चैत्य, बान्द्रेमा प्रिफ्याब बनाई अस्थायी आवास उपलब्ध गराइने भएको छ । सोसम्बन्धी निर्णय भइसकेको समितिका संरक्षक भिक्षु मैत्रीले जानकारी दिनुभयो । बाढीपछि केही दिन हराउनुभएका भिक्षु शारद पछि देखापर्नुभएको हो । वानरगिरि चैत्यकै उत्तरपश्चिमपट्टि नुवाकोट जिल्ला विकास समितिका पूर्वउपसभापति जगतबहादुर तामाङ र परिवारको पहलमा एवम् चक्र शाक्य, बोधिवीर शाक्यको सहयोगमा कर्मा छेदेन छोलिङ नामक अर्काे गुम्बा पनि निर्माण (शिलान्यास ठ्राँगु रिन्पोछेबाट २०५२ वैशाख ९) हुँदैछ जहाँ विसं २०६३ मङ्सिर २७ गते प्राणप्रतिष्ठा गरिएको थियो । गत हप्ता नै भिक्षु मैत्रीको नेतृत्वमा त्रिशूली नदीवारि विदुर-१ ढुङ्गे क्षेत्रका एक सय ८० बाढीपीडितलाई राहत सामग्री र नगद वितरण गरिएको थियो भने नुवाकोट र रसुवाका पत्रकारलाई सोलार सहयोग गरिएको थियो । उहाँले त्यसअघि विदुर-९ कोलोनी, बागबगैँचा, खिन्चेतमा आश्रित बाढीपीडितलाई तीन ट्रक राहत र नगद प्रदान गर्नुभएको थियो ।





प्रतिक्रिया