+
Search

ताजा अपडेट +

पपुलर +

सूर्यगढीले थाल्यो रसुवा जोड्ने वैकल्पिक मार्ग स्तरोन्नति

धुन्चेबाट काठमाडौँ चार घण्टामै पुगिने

सूर्यगढीले थाल्यो रसुवा जोड्ने वैकल्पिक मार्ग स्तरोन्नति
त्रिशूली प्रवाह
३६ मिनेट अगाडी

वेत्रावती । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले रसुवागढीसम्म जोडिएको अन्तर्राष्ट्रिय सडकको अधिकांश भाग बगेसँगै अहिले वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । गत भदौ १० गतेको महाप्रलयकारी हिमबाढीले रसुवा जोड्ने मुख्य सडक ध्वस्त भएपछि नुवाकोटको सूर्यगढी गाउँपालिकाले रसुवा जोड्ने पुरानो सडकको ट्र्याकलाई स्तरोन्नति गरी वैकल्पिक सडकको रूपमा विकास गर्न निर्माणको काम अघि बढाएको छ । पालिकाले चोगदेदेखि गैरीखर्क, कुवापानी, मस्याङभन्ज्याङ हुँदै ओख्ले बगरस्थित फलाखुखोलासम्म पुग्ने ६ किलोमिटर लामो दूरीको सडक सुधार तथा फराकिलो बनाउने काम सुरु गरेको अध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सूर्यगढीको चोगदेदेखि फलाखुखोलासम्म पुग्ने ६ किलोमिटर लामो दूरीको सडकलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सङ्घ सरकारसँगको परामर्शमा काम अगाडि बढाएको अध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो ट्र्याकलाई आवश्यकताअनुसार स्तरोन्नति र फराकिलो बनाउने काम भइरहेको छ, करिब एक महिनाभित्र सडक सुधारको प्रारम्भिक काम पूरा गर्ने लक्ष्य छ, प्राविधिक प्रतिवेदनअनुसार रू.नौ करोड लाग्ने लागत अनुमान निस्के पनि प्रथम चरणमा पालिकाले रू.एक करोडसम्म खर्च गर्ने लक्ष्य राखेको छ ।’ उक्त मार्गमा हाल चारवटा डोजरले सडक विस्तार गरिरहेको छ । सडक सुधार भएपछि पूर्वाधार विकास कार्यालयमार्फत फलाखुखोलाको ओख्लेबगरमा ‘बेलिब्रिज’ निर्माण गर्ने तयारी रहेको पालिका उपाध्यक्ष मन्जु बुढाथोकीले बताउनुभयो । बेलिब्रिज निर्माण भएपछि नुवाकोटतर्फबाट रसुवा प्रवेश गर्ने वैकल्पिक मार्ग थप सहज हुने अपेक्षा गरिएको छ ।

Suzuki New Bike & Scooter

स्थानीयका अनुसार ओख्लेबगरमा बेलिब्रिज निर्माण भएपछि रसुवाको पाहाखोला दोभान तथा क्रसर क्षेत्रबाट धुसेनी, सिम्ले, भोर्ले हुँदै तेर्साे जाने सडकसँग यो मार्ग जोडिनेछ । त्यसैगरी, अधिकारी तथा देवकोटा टोलबाट धारापानी, जिबजिबे हुँदै घुम्तीमोडस्थित पासाङल्हामु मार्गमा यो सडक जोडिने भएकाले रसुवाको दक्षिणी तथा उत्तरी भेगबिचको आवतजावतमा समेत सहजता आउने धुसेनीका स्थानीय धर्मदत्त अधिकारीले बताउनुभयो । वैकल्पिक मार्ग प्रयोग गर्दा धुन्चेबाट काठमाडौँसम्म करिब साढे चार घण्टामा पुग्न सकिनेसमेत उहाँले दाबी गर्नुभयो । बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली–ढुङ्गेबजारदेखि रसुवागढीसम्मको सडकलाई साबिककै नदीकिनारमा मात्र निर्भर गराउनुको सट्टा जोखिम कम हुने स्थानतर्फ केही माथि स्थानान्तरण गरेर निर्माण गर्नुपर्ने सुझाव स्थानीयवासीले दिएका छन् ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले नदी तथा खोलाको तटीय क्षेत्रभन्दा सुरक्षित भू–भागबाट सडक निर्माण गर्न सके भविष्यमा बाढीपहिरोबाट हुने क्षति कम गर्न सकिने बताउनुभयो । ‘अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई पटकपटक प्राकृतिक विपत्तिको जोखिममा राख्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘सुरक्षित भू–भागबाट दीर्घकालीन सडक निर्माण गर्न सके चीनसँगको व्यापारिक नाका जोड्ने मार्ग दिगो र भरपर्दो बनाउन सकिन्छ ।’ आधुनिक सडक सञ्जालको विकाससँगै नेपाल–चीनबिचको एक महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा रसुवागढी नाका स्थापित भएको छ । स्थानीय आवागमनका साथै द्विदेशीय नाकाका रूपमा परिचित रसुवागढी जोड्ने सडकलाई सुविधासम्पन्न र भरपर्दो बनाउनुपर्ने नागरिक समाजको माग छ । रणनीतिक एवम् व्यापरिक महत्त्वको सो सडक पुनर्निर्माणका क्रममा अब भूगर्भीय अध्ययन, बाढीको जोखिम, पहिरोको सम्भावना र वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने अध्यक्ष तामाङले बताउनुभयो । पालिकाले सुरु गरेको वैकल्पिक सडक निर्माणको कामको उच्च मूल्याङ्कनसहित तारिफ भइरहेको छ । नागरिक समाजले ढुङ्गेबाट बान्द्रे, सिम्बुटार, गेर्खुखोला, फूलबारी गेट, गेर्खुटार, गैरीखर्क, सियाले, रिठ्ठेघारी, फलाखुखोला, पालेको वन, बोगटीटार, सिमखेत, बनुवा, भलायडाँडा, राम्चेको हाँडीफोरा, पलेप, पुरानो ठाँडेगाउँ, भिमली, धुन्चे, ठुलोभार्खु, सानुभार्खु, ब्राबल, ठुलोस्याफ्रुको पुछार, भन्ज्याङ, वृद्धिम र खैदी घट्टेखोला हुँदै रसुवागढीसम्म जोडिने वैकल्पिक अन्तर्राष्ट्रिय राजमार्गको रूपमा प्रस्ताव गरेको छ । सरोकारवाला निकायलाई प्रस्तावित क्षेत्रको प्राविधिक अध्ययन गरिदिन उहाँले माग गर्नुभएको छ । नदी तथा खोलाको तटीय क्षेत्रभन्दा सुरक्षित भूभागबाट सडक निर्माण गर्न सके भविष्यमा बाढीपहिरोबाट हुने क्षति कम गर्न सकिने उहाँको सुझाव छ ।

‘अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई पटकपटक प्राकृतिक विपत्तिको जोखिममा राख्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘सुरक्षित भूभागबाट दीर्घकालीन सडक निर्माण गर्न सके चीनसँगको व्यापारिक नाका जोड्ने मार्ग दिगो र भरपर्दो बनाउन सकिन्छ ।’ रसुवागढी नाका नेपाल–चीनबिचको पुरानो आवत–जावत तथा व्यापारिक सम्बन्धसँग जोडिएको महत्त्वपूर्ण क्षेत्र हो । रसुवागढी हुँदै केरुङतर्फ जाने मार्गले नेपाललाई चीनको तिब्बत क्षेत्रसँग जोड्दै आएको छ । ऐतिहासिक रूपमा हिमाली क्षेत्रका बासिन्दाबिच नुन, ऊन, खाद्यान्नलगायत वस्तुको आदान–प्रदान हुने गरेको स्थानीयवासीको भनाइ छ । आधुनिक सडक सञ्जालको विकाससँगै रसुवागढी नाका नेपाल–चीनबिचको औपचारिक व्यापारिक नाकाका रूपमा थप महत्त्वपूर्ण बन्दै गएको छ । त्यसैले नाकासम्म पुग्ने सडक केवल स्थानीय आवागमनको साधन नभई दुई देशबिचको व्यापार तथा आर्थिक सम्बन्धसँग समेत प्रत्यक्ष जोडिएको छ ।

स्थानीयवासीका अनुसार रसुवागढी नाका र त्यसतर्फ जाने सडक व्यवस्थित तथा सुरक्षित हुँदा रसुवा र नुवाकोटका नागरिकले प्रत्यक्ष रोजगारीका अवसर पाउनेछन् । सडक निर्माण, यातायात, होटेल तथा रेस्टुरेन्ट, ढुवानी, निर्माण सामग्री, कृषि उपजको बिक्री तथा अन्य सेवा क्षेत्रमा स्थानीय रोजगारी बढ्ने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभएको छ । अब निर्माण हुने सडकमा भूगर्भीय अध्ययन, बाढीको जोखिम, पहिरोको सम्भावना र वातावरणीय प्रभावलाई समेत ध्यान दिनुपर्ने उहाँको सुझाव छ । नागरिक समाज तथा स्थानीयवासीले प्रस्ताव गरेको वैकल्पिक मार्ग कार्यान्वयन भएमा नुवाकोटको ढुङ्गेबाट रसुवागढीसम्म पुग्ने मार्गले पुरानो राजमार्गलाई समेत वैकल्पिक सडकका रूपमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह