काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्रका लागि गत हप्ताबाट पाठ्यपुस्तक छपाइ सुरु गरेको छ । पुस्तक छपाइका लागि आवश्यक पर्ने मुद्रणीय प्रति (पिआरसी) पाठ्यक्रम विकास केन्द्रले दिएसँगै जनक शिक्षाले छपाइ सुरु गरेको हो । आगामी शैक्षिक सत्रमा विद्यालय तहमा नयाँ परिमार्जित पाठ्यपुस्तक लागू गर्ने सरकारको घोषणा थन्किएको छ ।


शिक्षा तथा खेलकुद मन्त्रालयले गत हप्ता तत्कालका लागि हाल कार्यान्वयनमै रहेको पाठ्यक्रमअनुसार पुस्तक छपाइ गर्ने निर्णय गरेसँगै पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षालाई छपाइ गर्न निर्देशन दिएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार मन्त्रालयको निर्णयका आधारमा जनक शिक्षालाई पुस्तक छपाइको निर्देशन दिइएको हो । हाल विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप (एनसिएफ) निर्माणको क्रममा छ । एनसिएफ निर्माणका लागि शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठिन कार्यदलले काम गरिरहेको छ । कार्यदलअन्तर्गत १२ वटा विषयगत समूह छन् । ती समूहले प्रदेश तथा जिल्लास्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन् । कार्यदलले छिटो काम सकाए आगामी शैक्षिक सत्रदेखि नै परिमार्जित पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छपाइ गर्ने तयारी सरकारको थियो, तर कार्यदलको प्रतिवेदनका आधारमा पाठ्यक्रम बनाउनुपर्ने र सोही पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुँदा केही समय लाग्ने देखिएकाले छपाइ प्रक्रिया अघि बढाइएको हो । यसबिचमा एनसिएफको प्रतिवेदनअनुसार पाठ्यक्रममा केही थपघट गर्नुपर्ने भए सोहीअनुसार निर्देशिका बनाएर कार्यान्वयनका लागि विद्यालयलाई निर्देशन दिने सरकारी तयारी छ । केन्द्रका कार्यकारी निर्देशक पराजुलीले भन्नुभयो, ‘एनसिएफले परिमार्जन गर्नुपर्ने गरी दिएको सुझावलाई कार्यान्वयन गर्न विद्यालयलाई पछि निर्देशन दिन सकिन्छ, तर पाठ्यपुस्तक भने पुरानै पाठ्यक्रमअनुसार छपाइ हुन्छ ।’

सरकारले कक्षा १, २ र ४ का विद्यार्थीका पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिएको छ । बाँकी कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले छाप्नेछ, तर स्रोतसाधनले भ्याएमा जनक शिक्षाले कक्षा १, २ र ४ का विद्यार्थीका पाठ्यपुस्तक पनि छपाइ गर्न पाउँछ । तर, निजी मुद्रण संस्थाले जनक शिक्षालाई छाप्ने अधिकार दिएका कक्षाका विद्यार्थीका पाठ्यपुस्तक भने छाप्न पाउँदैन । गत वर्ष पनि यही व्यवस्था थियो ।





प्रतिक्रिया