+
Search

ताजा अपडेट +

पपुलर +

नौकुण्डलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस

नौकुण्डलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस
त्रिशूली प्रवाह
३६ मिनेट अगाडी

धुन्चे । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीपछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले नौकुण्ड गाउँपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस गरेको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख नीरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार निकायको बैठकले भौतिक क्षति नभए पनि मानवीय, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर पुगेकाले गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेसहित १२ बुँदे महत्त्वपूर्ण निर्णय पारित गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बैठकले बाढीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाढीका कारण सडक सञ्जाल विच्छेद भई गम्भीर बिरामीको प्रेषण (सिफारिस) मा जटिलता उत्पन्न भएकाले न्यूनतम ६ महिनाका लागि जिबजिबे ग्रामीण अस्पताल र दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजिपी), एनेस्थेसिया सहायक तथा छात्रवृत्ति करारका मेडिकल अधिकृत उपलब्ध गराउन बागमती प्रदेश सरकारसँग माग गरिएको छ । भौगोलिक विकटताका बिच स्वास्थ्य सेवा पु¥याउन अस्पतालमा सञ्चालित टेलिमेडिसिन कार्यक्रमलाई थप सुदृढ गरिने भएको छ । बाढीले स्याफ्रुबेँसी स्वास्थ्यचौकी पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोप सेवाको निरन्तरताका लागि गोसार्इँकुण्डको कोल्डचेन सबसेन्टर रसुवा स्वास्थ्यचौकीमा कायम गर्ने निर्णय गरिएको छ । साथै बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सामुदायिक आँखा केन्द्र रसुवालाई पनि सहभागी गराइने कार्यालयले जनाएको छ ।

Suzuki New Bike & Scooter

बैठकले आर्थिक वर्ष २०८२/०८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम यही असोज २१ र २२ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ । बाढीबाट क्षति पुगेका स्वास्थ्य संस्थाको तथ्याङ्क सङ्कलन र प्रतिवेदन प्रणालीलाई नियमित गर्न पालिकाका तथ्याङ्क फोकल पर्सनलाई जिम्मेवारी दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह