विदुर । गत भदौ १० गतेको विनाशकारी भोटेकोशी–त्रिशूली नदीमा आएको हिमबाढीका कारण भोटेकोशी–त्रिशूली नदीतटीय क्षेत्रका १२ जलविद्युत् उत्पादन बन्द भएका छन् । विध्वंसकारी बाढीबाट प्रभावित भएका चार सय ३० दशमलव आठ मेगावाटको १२ परियोजना पनि तत्काल सञ्चालनमा नआउने भएका छन् ।


जलविद्युत् परियोजना सञ्चालन नहुने भएपछि मुख्यतः हिउँदको विद्युत् माग व्यवस्थापनमा चुनौती देखिएको छ । लोडसेडिङकै अवस्था नआउने प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख अच्युत घिमिरेले बताउनुभएको छ । बाढीबाट क्षति पुगेको परियोजना १११ मेगावाटका रसुवागढी, ७८ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’, ४२ दशमलव पाँच मेगावाटको तल्लो सान्जेन, २४ मेगावाटको त्रिशूली र २५ मेगावाटको नेपाल विद्युत् प्राधिकरणको सोलार परियोजना छन् । यसैगरी, २२ दशमलव एक मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ, १४ दशमलव आठ मेगावाटको माथिल्लो सान्जेन, १४ दशमलव तीन मेगावाटको माथिल्लो मैलुङ, १४ दशमलव एक मेगावाटको देवीघाट र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत् रहेका छन् । यसमा अधिकांश परियोजना बाढीले प्रभावित भएका छन् । परियोजनाको विद्युत्गृह, बाँधलगायतका क्षेत्र बाढीले क्षतिग्रस्त गराएको छ । यी सबै परियोजनाको पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।






प्रतिक्रिया