+
Search

ताजा अपडेट +

पपुलर +

पुरानै स्थानमा वेत्रावती बस्ती बसाउने तयारी

पुरानै स्थानमा वेत्रावती बस्ती बसाउने तयारी
त्रिशूली प्रवाह
३६ मिनेट अगाडी

विदुर । रसुवा र नुवाकोटको सङ्गममा रहेको वेत्रावती बजार गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले त्रिशूली नदीको फराकिलो बगर बनेको छ । अकल्पनीय बाढीले यहाँका सयौँलाई बगायो, भागेर बाँचेकाहरू गाउँदेखि पर वनको छेउको सुरक्षित स्थानमा अस्थायी टहरा हालेर बसेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सबैलाई थाहा छ, अस्थायी टहरा सधैँका लागि होइन । त्यहाँ बसेर जीविका पनि चल्दैन । वेत्रावतीका मान्छे अस्थायी टहरामा धेरै समय बस्न चाहँदैनन् । उनीहरू वेत्रावती नै झरेर काम गर्न चाहन्छन् । धेरै मान्छे वेत्रावतीमा व्यापार–व्यवसाय गरिरहेका थिए । उहाँहरूलाई काम नगरी बस्न पर्दा छटपटी भइसकेको छ । सरकारले कहाँ लगेर पुनर्वास गराउला भन्ने उहाँहरूलाई चिन्ता छैन । बरु सरकारसँग भनिरहेका छन् – हामीलाई अनकन्टार ठाउँमा नलैजाऊ, हामी वेत्रावतीमै बस्छौँ, सडककै छेउमा बस्छौँ, आफैँ व्यवसाय गरेर खान्छौँ, बरु छिटो ठाउँ बनाइदेऊ । वेत्रावतीका बुढापाका र युवा एकमत छन् । वेत्रावतीलाई मानवबस्तीविहीन छाड्नुहुन्न । भोलि आउने मान्छेले नसोधुन्, यहाँका मान्छे खोइ ? वेत्रावती यस्तो ठाउँ हो, जहाँका मान्छे आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पनि धेरै उन्नत जीवन बाँचिरहेका थिए । बाढीले धेरैको घरबास उजाडेको छ, करोडौँको सम्पत्ति नष्ट पारेको छ, तर उहाँहरू वेत्रावती छाड्न चाहनुहुन्न ।

Suzuki New Bike & Scooter

भोटेकोशी बाढीका कारण नेपाल र चीनबिचको व्यापारिक नाका रसुवागढी रहँदैन कि भन्ने प्रश्न उठेको थियो । तर, बाढीको एक महिना अवधिमा चीन सरकार र नेपाल सरकारको गतिविधि हेर्दा फेरि पनि दुई देशको व्यापारिक नाका यही नै हुन्छ भन्ने पक्का देखिन्छ । भोटेकोशी बाढीले नेपालतर्फ मात्र होइन, चीनमा पनि सडक बगाएको थियो र चीनको भन्सार कार्यालय नै बगाएको थियो । चीनले एक महिनामै रसुवागढी नाकासम्म सडक ल्याइसकेको छ । चीन फेरि नेपालसँगको व्यापारका लागि यही नाकालाई प्रयोगमा ल्याउन चाहन्छ । नेपाल सरकारले पनि रसुवागढीसम्म सडक ट्र्याक खन्न थालिसकेको छ । सडक निर्माणका लागि चिनियाँ सरकारको सहयोग मागेको छ । अनि बाढीले बगाएको ठाउँमा सडकको नयाँ ट्र्याक पनि खन्न थालेको छ । अहिले नुवाकोट सदरमुकामबाट वेत्रावतीसम्म जाने सडकको ट्र्याक खुलेर रसुवा जानका लागि बेलिब्रिज निर्माणको काम तीव्र गतिमा भइरहेको छ । रसुवागढीबाटै चीनसँग व्यापार चालू रहने हो भने वेत्रावती फेरि पनि व्यापारिक केन्द्र बन्छ भन्ने स्थानीयको सोचाइ रहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले बताउनुभयो । त्यसैले उहाँहरू वेत्रावतीमा फेरि पहिलेजस्तै व्यापार–व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आशामा छन् ।

त्यो दिनको बाढीले भौतिक संरचना बगाए पनि वेत्रावतीको धार्मिक र सांस्कृतिक महत्त्व बगाउन सकेको छैन । वेत्रावतीमा रहेको उत्तरगयाधाममा पुसेऔँसीमा पितृश्राद्ध गर्न सयौँ नेपाली आउने गर्छन् । यहाँ श्राद्ध गरेमा पितृले मोक्ष पाउने विश्वास हिन्दु धर्मावलम्बी नेपालीमा छ । बाबुआमाको मृत्यु भएका पितृ मोक्षका लागि भारतको काशी, गया, नेपालको मुक्तिनाथमा जस्तै उत्तरगयामा पनि श्राद्ध गर्न जाने गर्छन् । पछिल्लो समय यातायातको सुविधाका कारण नेपाली मात्र नभएर भारतबाट पनि सयौँ तीर्थालु पितृ श्राद्धका लागि उत्तरगया आउने गरेको स्थानीय समाजसेवी ईश्वरलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विसं २०४९ पुस १ गते योगी नरहरिनाथको अगुवाइमा वेत्रावतीमा कोटीहोम लगाइएको र त्यतिवेला सर्वसाधारणले हजारौँ रकम दान गरेको कोटीहोम आयोजनाको खर्च र पुरोहितलाई दान दक्षिणा दिएर बाँकी रहेको रु.१७ हजारले वेत्रावतीमा पाँच रोपनी दुई आना जग्गा किनिएको, त्यसमा स्थानीयले दान गरेको जग्गासमेतमा उत्तरगया क्षेत्र विकास समितिले विभिन्न संरचना बनाएको थियो, बाढी अगाडिसम्म उत्तरगयाधाममा एक सय आठ शिवलिङ्ग, महादेवको ठुलो मूर्ति, विष्णुपादुका, श्राद्ध गर्न आउनेले कपडा फेर्ने एउटा भवन थियो,’ ‘श्राद्ध गर्नेले भात पकाएर खाने एउटा पाटी, शौचालय र स्टोर रहेको दुईकोठे दुईतले पक्की भवन पनि थियो, अहिले ती संरचना नभए पनि मान्छेको मनमा रहेको विश्वास डगमगाएको छैन, किनकि यो नेपालको हिन्दु संस्कृतिसँग जोडिएको कुरा हो, बाढीका कारण एक-दुई वर्ष श्राद्ध गर्ने मान्छे घट्न सक्छन्, तर भविष्यमा फेरि उस्तै भइहाल्छ ।’ पौराणिक कथाअनुसार समुद्र मन्थन गरेर निस्केको कालकुट विष पिएपछि महादेव त्यो विषको डाह शान्त पार्ने क्रममा यही बाटो हुँदै उत्तर लागेको र आफूसँग भएको बेतको लौरोले वेत्रावतीनजिकै ढिस्कोमा खोप्दा तातो पानी आएको, त्यसबाट बेतगङ्गा नदी बनेको, त्यहाँ नजिकै अर्कोपटक रुद्राक्षले हानेर अर्को पानी निकालेर रुद्रगङ्गा पैदा भएको, जसलाई हाल फलाखु खोला भनिन्छ । त्यसपछि उहाँ उकालो लागेर गोसार्इँकुण्ड पुगी त्रिशूलले पहरोमा हानेर पानी निकालेको, जसबाट त्रिशूली नदी अर्थात् त्रिशूल गङ्गा बनेको थियो । वेत्रावती त्रिशूल गङ्गा, रुद्रगङ्गा र बेत्रगङ्गाको त्रिवेणी हो । वेत्रावतीमा हरिबोधनी एकादशीमा ठुलो मेला लाग्छ । वेत्रावतीको राम मन्दिरमा रामनवमीमा पनि ठुलो जात्रा मेला लाग्छ । कृष्ण अष्टमीमा वेत्रावतीका नेवार समुदायले लाखे नाच देखाउँछन् । माघेसङ्क्रान्तिमा पनि गोरु जुधाउँछन् । गाईजात्रा पनि धुमधामले मनाउँथे । उत्तरगयाधाम नुवाकोट र रसुवाका करिब २०-२५ गाउँका मानिसको अन्त्येष्टि गर्ने घाट पनि रहेको स्थानीय पुरोहित रामचन्द्र चालिसेले बताउनुभयो । पछिल्लो समय यही पवित्र घाटमा नै बसेर अन्त्येष्टि कर्म गर्ने पनि बढिरहेका थिए । त्यसैले यहाँ दुई–तीनवटा किरियापुत्री भवन पनि थिए । यो ठाउँको धार्मिक र सांस्कृतिक महत्त्वका कारण भविष्यमा पनि मानिसको चहलपहल हुने नै छ । तर, त्यहाँ मानवबस्ती नै नहुने हो भने त्यहाँ आउने भक्तजन र पर्यटकले पनि सेवा नपाउने स्थानीय अष्टमान डङ्गोलले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।

गोसाईँकुण्ड र लाङ्टाङ क्षेत्र नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यो धेरै पर्यटक जाने नेपालका क्षेत्रमध्ये एक हो । काठमाडौँदेखि नजिकको दूरी, चिसो हावापानी र मनोरम दृश्यका कारण लाङ्टाङ नेपाली र विदेशी पर्यटकको रोजाइको गन्तव्य हो । त्यस्तै, रसुवामा रहेको पवित्र गोसाईँकुण्ड धार्मिक र पर्यटकीयस्थल हो । हरेक वर्ष जनैपूर्णिमामा गोसाईँकुण्डमा नुहाउनका लागि हजारौँ नेपाली पुग्छन् । त्रिशूलीमा बाढी आएर अहिले सडक र पुल बगाएकाले लाङ्टाङ जाने पर्यटक घटेका छन् । तर, भविष्यमा सडक र पुल बनेपछि पर्यटक जान थालिहाल्छन् । त्यसले पनि वेत्रावतीमा व्यापारको सम्भावना बढाउँछ । त्रिशूलीको बाढी अगाडिसम्म तिब्बतको मानसरोवर जाने प्रमुख मार्ग रसुवागढी नाका नै थियो । नेपाली मात्र होइन, भारत र अरू देशका मानिस पनि रसुवागढी हुँदै मानसरोबर जान्थे । रसुवागढी नाका खुलेपछि फेरि पनि मानसरोवर जाने बाटो यही नै बन्छ । रसुवागढी नाका खुलेमा, उत्तरगया धाममा तीर्थालु आउन थालेमा र रसुवामा पर्यटक जान थालेमा फेरि पनि वेत्रावती एउटा व्यापारिक केन्द्र बन्ने सम्भावना रहन्छ ।

नुवाकोट र रसुवाको सङ्गम विन्दु । रसुवा र नुवाकोटका धेरै गाउँको किनमेलका लागि पायक पर्ने ठाउँ त यो यसै पनि हुँदै हो । वेत्रावतीका मानिस धेरैजसो व्यवसायी छन् । उनीहरूले पुस्तौँ–पुस्तादेखि व्यापार–व्यवसाय गरेर राम्रो धन आर्जन पनि गरेका थिए । यहाँ मानिसको बसोबास पनि व्यापार–व्यवसायबाटै सुरु भएको थियो । काठमाडौँका डङ्गोल समुदायका मानिस यहाँ व्यापार–व्यवसायकै सिलसिलामा आएको स्थानीय शशि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वेत्रावती बजारमा होटेल, डिपार्टमेन्ट स्टोर, बैंक, वित्तीय संस्था, कपडा पसल, पेट्रोल पम्प, निजी स्कुल, गाडी र मोटरसाइकल बनाउने वर्कसपजस्ता व्यवसाय, एउटा सहरमा हुने लगभग सबैजसो सुविधा वेत्रावतीमा थियो ।’

अहिले वेत्रावतीको अवस्था देख्ने जोकसैले पनि भन्दैन कि यहाँ फेरि मान्छे बस्न सम्भव छ । बाढीले वेत्रावती बजार लगभग समाप्त नै पारेको छ । दुई–चारवटा मात्र घर सग्ला छन् । केही घर सग्लो देखिए पनि ती घरको माथिल्लो तलासम्म नै बाढीले पुरेको छ । गल्छीदेखि रसुवागढी जोड्ने सडकभन्दा चार–पाँच मिटर माथिसम्म लेदो भरिएको छ । त्यसैले स्थानीय बासिन्दाले वेत्रावती पुनः जगाउने कुरा गर्दा धेरैले यसलाई उनीहरूले हठका रूपमा लिएको ठान्छन् । तर, स्थानीय बुढापाका भन्छन्, ‘त्रिशूलीमा बाढी आएको यो न पहिलो घटना थियो, न अन्तिम नै । विगतमा पनि बाढी आउँदा खेतबारी र बस्ती बगाएको, पुस्तौँदेखि आफ्नो बाबुबाजे बाढीसँग सङ्घर्ष गर्दै जीविका चलाउँदै आउनुभएको, त्यसपछि बाढी गएको ठाउँ सर्दैसर्दै मान्छे फेरि उठेका थिए, त्यसैले अहिलेको बाढीबाट डराएर ठाउँ नै छाड्न हुँदैन ।’ स्थानीय व्यवसायी दीपु डङ्गोल भन्नुहुन्छ, ‘स्थानीय बासिन्दा जसले आफ्नो जीवनको लामो अवधि यही बजारमा बिताए, अब उहाँहरू त्यहाँको अस्तित्व नै मेटाएर अन्यत्र जान तयार देखिँदैनन्, फेरि यति कुरा पक्का छ कि, रसुवागढी नाका, उत्तरगया धाम आदिका कारण वेत्रावती चहल–पहलको केन्द्र नै रहनेछ, त्यतिवेला वेत्रावती आउनेले सोध्लान्– यहाँका मान्छे कहाँ गएछन्, त्यतिवेला कसैले पनि पनि यहाँका मान्छे बाढीका कारण कुनाकाप्चातिर गएर बसेका छन् नभनोस्, यहीँ व्यवसाय गरेर बसिरहेका छन् भन्न पाऊन् ।’

‘मान्छे नबस्ने हो भने वेत्रावती इतिहासको पानामा सीमित रहन्छ,’ स्थानीय मिलन श्रेष्ठ भन्नुहुन्छ, ‘हामी वेत्रावती थियो रे भन्ने अवस्था आउन दिँदैनौँ, वेत्रावती छ भन्ने नै बनाउँछौँ ।’ वेत्रावती बजारमा नुवाकोटतर्फ करिब ९० घरधुरीको बसोबास थियो । तीमध्ये यो बाढीमा मृत्यु हुने र सम्पर्कविहीन हुनेको संख्या दुई सय २४ छ । स्थानीय चन्द्रलाल डङ्गोलको परिवारका कोही पनि भेटिएका छैनन् । त्यस्तै, महेश डङ्गोलकी जापानमा रहेकी बहिनीबाहेक अरू कोही सदस्य पनि भेटिएका छैनन् । डङ्गोल समुदायका मात्रै ५७ जना सम्पर्कविहीन भएका छन् । वेत्रावती अहिलेसम्म शोकमै छ । धेरै परिवारले आफ्ना महत्त्वपूर्ण सदस्य गुमाएका कारण के गर्ने भन्ने निधो गर्न सकेका छैनन् । स्थानीय बुढापाका र युवा वेत्रावती बचाउनुपर्छ, त्यहीँ व्यापार–व्यवसाय गर्नुपर्छ भनेर पुनर्निर्माणको योजना थालिसकेका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह