बाह्र पालिकाको ६ अर्ब ७ करोड बजेट

विदुर, आर्थिक वर्ष २०७७÷०७८ को लागि नुवाकोटका १२ वटा पालिकामा ६ अर्ब ७ करोड भन्दा माथीको बजेट कार्यान्वयन हुने भएको छ ।

जिल्लाका १२ वटै पालिकाले प्रस्तुत गरेको बजेटका आधारमा यो रकम नुवाकोटमा आ.व.मा खर्च हुने भएको हो । विकास निर्माण, कर्मचारी तलब भत्ता, भौतिक पुर्वाधार विकास, कोरोना नियन्त्रणलगायत क्षेत्रको लागि यो बजेट विनियोजन भएको हो । नुवाकोटमा केन्द्र र संघबाट राखिएका बजेट यसमा समावेश भएको छ । यस वर्ष नुवाकोटको विदुर नगरपालिकामा १ अर्ब ८ करोड रुपैयाँ बजेट रहेको छ । बेलकोटगढी नगरपालिकाको झण्डै १ अर्ब, शिवपुरी गाउँपालिकाले ४९ करोड २५ लाख, ककनी गाउँपालिकाले ४३ करोड, दुप्चेश्वर गाउँपालिकाको ४१ करोड, पञ्चकन्या गाउँपालिकाले ४० करोड ९३ लाख, किस्पाङ गाउँपालिकाले ४० करोड, तारकेश्वर गाउँपालिकाले ३९ करोड, सूर्यगढी गाउँपालिकाले ३८ करोड १२ लाख, लिखु गाउँपालिकाको ३७ करोड ७८ लाख र तादी गाउँपालिकाले ३६ करोड १९ लाख रुपैयाँको बजेट बिनियोजन भएको छ ।

बजेटसँगै सबै स्थानीयतहले विनियोजन विधेयक समेत सभामा पेश गरिसकेका छन् । साउन १ गतेदेखि यो नयाँ बजेटको कार्यान्वयन शुरु हुनेछ । जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड रुपैयाँ रहेको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केहीले पारित गरिसकेका छन् भने केही स्थानीयतहको छलफल गर्दै पारित गर्ने क्रममा रहेको छ । यस वर्ष सबै स्थानीयतहको बजेट कृषि र स्वास्थ्यमा केन्द्रित भएको छ । कोरोना भाईरसका कारण ठुलो जनशक्ति विदेशबाट फिर्ता भएकाले उनीहरुलाई कृषि पेसामा ब्यवस्थापन गर्न स्थानीय तहले नीति तथा कार्यक्रममा समेटेका छन् । सबै स्थानीय तहले कृषिमा अनुदान, यान्त्रिकरण र प्रविधीमैत्री बनाउँदै उत्पादन क्षमता बढाउने योजना बनाएका छन् ।