भैरवी मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:४७

नुवाकोट, विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको नेपालको प्रमुख शक्तिपीठ मध्येको नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

असारको पहिलो हप्तादेखि मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन शुरू भईरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षिय योजनाअन्तर्गत ४ करोड ६२ लाखमा निर्माण भईरहेको मन्दिरको लक्ष्य भन्दा केही ढिलाई गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक तथा नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलल त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । उहाँका अनुसार २०७३ बाट शुरू भएको मन्दिरको प्यागोडा शैलीमा निर्माण भईरहेको छ । निर्माणाधीन दुई तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई पुरानै स्वरूपमा बनाउन लागिएको हो । पुरातत्व विभागका ईन्जिनियर गोविन्द अधिकारीका अनुसार तामाको पातामा सुनको जलप लगाई छाना बसाल्न अहिले एक किलो सुनको जलप लगाउँदै छाना राख्ने काम भईरहेको छ । छाना राख्ने काम पूरा गर्न करिब एक साता लाग्ने छ भने छानामा १ किलोग्राम ३० तोला सुन लाग्ने अनुमान गरिएको छ । उक्त मन्दिर निर्माणको जिम्मा नुवाकोटकै गुल्लिभर निर्माण कम्पनीले पाएको थियो

२०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त भएको भैरवीदेवी मन्दिरको पुनःनिर्माणमा परम्परागत मौलिकतालाई नै कायमै राखेर बनाउने सम्झौताअनुसार निर्माण भएको हो । वि.सं.२०७२ बंैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण पुरातत्व विभागमार्फत भएपनि मन्दिर परिसरका नुवाकोट दरबारसहित दरबार क्षेत्रका विभिन्न १० पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको पुनःनिर्माण चीन सरकारमार्फत गर्न लागिएको छ । चीन सरकारले साततले दरवार, रङ्ग महल, गारदघर, तलेजु मन्दिर, लामपाटी, सेतोपाटी, विष्णु र नारायण मन्दिर निर्माण गर्ने तयारी भएको बेलामा कामको वेश बनाएर कर्मचारी बस्ने घर समेत भाडामा लिएर घर कुरूवा राखेर काम थालनी गर्दै गर्दा कोरोना भाईरसको संक्रमण शुरू भयो । चिनियाँहरू कोरोना भाईरसको कारणले काम छाडेर गएपछि पुनःनिर्माण कहिलेदेखि शुरू हुने हो कुनै टुुंगो लागेको छैन । एक वर्षअघि भएको सम्झौताअनुसार ४५ महिनामा निर्माण सक्ने गरेर चिनियाँ टोलीले गत वर्षको असारबाट दरबारको पुनःनिर्माण शुरु गरेको थियो । तत्काल थप क्षति हुन नदिन खटसहितको टेको दिएर छाना लगाएको चिनियाँ टोलीले कोरोना रोगको संक्रमणका कारण कार्यक्षेत्रमा नफर्कदा हाल पुनःनिर्माण रोकिएको छ ।