पालिकामा निजी विद्यालयको ध्यानाकर्षण

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १२:४९

विदुर, निजी तथा आवासीय विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा देशैभरका स्थानिय तहको शुक्रबार ध्यानाकर्षण गराएका छन् ।

नुवाकोटमा रहेका निजी विद्यालय सञ्चालकहरूको तर्फबाट सबै वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप बन्द गर्न बाध्य भएको भन्दै स्थानीय तहको ध्यानाकर्षण गराएका छन् । कोरोना भाईरसको संक्रमणका कारण सबै वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप रोकेर विद्यालय बन्द गरेको जनाएका छन् । प्याब्सन प्रदेश नम्बर ३ का सह सचिव नारायण भण्डारीले नुवाकोट वाग्मती प्रदेश मात्रै नभई देशैभर राज्यले सहयोग नगर्दा निजी विद्यालय मारमा पर्दै आएको बताउनुभयो । तादी गाँउपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले राज्यको शिक्षा प्रवाहमा ८० प्रतिशत योगदान निजि विद्यालयको रहे तापनि राज्यले पाखा लगाउँदै आएको उहाँको भनाई थियो ।

निजी विद्यालयले शिक्षक–कर्मचारीलाई तलब भुक्तान गर्न नसकेको, राज्यल आफूहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको ध्यानाकर्षणमा उल्लेख छ । केन्द्रिय कार्यक्रमअनुसार प्याब्सन नगर समितिका अध्यक्ष ताराबहादुर कार्कीले विदुर नगरपालिकाको ध्यानाकर्षण गराउँदै विद्यालय सञ्चालनमा सहजिकरण गर्न र स्थानीय तहमार्फत शैक्षिक गतिविधी सञ्चालनमा सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निजी विद्यालयको समस्या समाधानमा केन्द्रिय तहबाट नै नीतिगत निर्णय हुनुपर्ने बताउनु भयो । नगरभित्र देखिएका केही समस्या समाधानमा स्थानीयतहमार्फत हुने विषयहरु सम्बोधन गर्न आफु तयार रहेको उल्लेख गर्नुभयो । निजी विद्यालयहरू पनि जिम्मेवारी वहन गर्दै ब्यवसायिक मात्र नभएर सेवाको भाव राख्न समेत उहाँले आग्रह गर्नुभयो ।

नुवाकोटमा हाल ५० वटा निजी विद्यालय सञ्चालन भईरहेका छन् । दक्ष जनशक्ति उत्पादनको केन्द् बनेको निजी विद्यालयलाई बिगत देखिनै राज्यले हेला गरेको र कोरोना भाईरसको संक्रमणकालीन अवस्थामा समेत राज्यले सहयोग नगरेका कारण विद्यालय पुर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको अर्किड बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल रामहरि रिमालले बताउनु भयो । विदुर नगरपालिकामा मात्रै २७ वटा निजी विद्यालय रहेको नुवाकोट प्याब्सनले जनाएको छ । नुवाकोटको ८ वटा स्थानीय तहमा निजी विद्यालयले शैक्षिक क्षेत्रलाई उकास्दै आएकोमा स्थानीय तहको समेत दायित्व रहेको ध्यानाकर्षण पत्रमा उल्लेख भएको छ । नुवाकोटमा निजी विद्यालयले अहिले झण्डै १० हजार भन्दा माथी विद्यार्थीलाई शिक्षा दिई रहेको र ४ सय भन्दा बढी शिक्षक, शिक्षिका कार्यरत रहेको जनाएको छ ।