+
Search

ताजा अपडेट +

पपुलर +

नु.आ.व क्याम्पसको विधान बनाउन छलफल

त्रिशूली प्रवाह
५ साल अगाडी

बट्टार, नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार नुवाकोटले विधान बनाउन सरोकारवाला पक्षसँग छलफल शुरू गरेको छ ।

Utsuk Books & Stationery

क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पसको विधान बनाउन रामेश्वर उपाध्यायको संयोजकत्वमा पाँच सदस्य विधान मस्यौदा समिति बनाएको थियो । उक्त समितिमा शिवप्रसाद गजुरेल, रूकमणी सेढाई पाण्डे, जितेन्द्र अर्याल र क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डे रहेका छन् । विधान मस्यौदा समितिले साउन दुई गतेदेखि ६ गतेसम्म सम्बन्धित सरोकारवाला पक्षसँग राय, सल्लाह र सुझावको लागि छलफल सम्पन्न गरिसकेको छ । समितिले विधान तयार पार्नको लागि विद्यार्थी संघ, संगठनका प्रतिनिधी, पूर्व स्ववियु सभापतिहरू, पूर्व विद्यार्थीहरू, प्रध्यापक तथा पूर्व क्याम्पस प्रमुख, कानुनविद् तथा वौदिक ब्यक्तित्व, क्याम्पस संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरू, उद्योगी ब्यवसायी, शिक्षाविद् तथा समाजसेवी र स्थानीय तथा प्रदेश सभाका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधी तथा क्याम्पस रहेका विदुर नगरपालिका वडा नं.२ र ४ का वडाध्यक्षसँग विधान मस्यौदाका लागि राय सल्लाह संकलन गरिसकेको छ । समितिले नयाँ विधान २०७७ तयार गरी साउन २४ गते शनिबार हुने छैठौं क्याम्पस सभामा छलफलको लागि पेश गर्ने तयारी गरिरहेको छ ।

छैठौं क्याम्पस सभाले सञ्चालक समितिको अध्यक्षको लागि एक जनाको नाम प्रस्ताव गरी त्रिविमा अनुमोदनको लागि पठाउने छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई क्याम्पस सभाले अनुमोदन गरेपछि विधान कार्यान्वयनमा जानेछ । क्याम्पसमा राजनीतिक खिचातानीको कारण शैक्षिक गुणस्तर खस्किंदै गईरहेको अभिभावकले बताएका छन् । जिल्लाकै क्याम्पसको रूपमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसलाई बनाउन दायरा फराकिलो पार्न, समय सापेक्ष, गुणस्तरीय प्रतिस्पर्धी बनाउन, राजनीतिक छायाबाट मुक्त बनाउन सुझाव आएको विधान मस्यौदा समितिका एक सदस्यले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । २०४२ सालमा स्थापना भएको क्याम्पसले २०५२ सालको विधानलाई २०७१ मा पहिलो पटक संशोधन गरेको थियो । उक्त विधानको दफा २४ (१)ले दिएको अधिकार प्रयोग गरेर क्याम्पस सञ्चालक समितिले २०५२ सालको विधानलाई दोस्रो पटक संशोधन गर्न लागेको छ ।

क्याम्पसको मौजुदा विधानअनुसार अध्यक्ष श्रीराम श्रेष्ठ सहित सञ्चालक समितिमा रहेका १३ जना सदस्यको पदावधी गत बैंशाख ५ गते सकिएको छ । अहिले क्याम्पस सञ्चालक समितिमा रामेश्वर उपाध्याय, शिवप्रसाद गजुरेल, रूकमणी सेढाई पाण्डे, छत्रराज डंगोल, तर्कराज सिलवाल, कृष्णराज केसी, प्राध्यापक संघ क्याम्पस इकाईका अध्यक्ष जितेन्द्र अर्याल र क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डे रहेका छन् । प्लस टुदेखि स्नातक र स्नाकोत्तर तहसम्म पढाई हुने क्याम्पसमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । क्याम्पसले प्लस टु मा मानविकी, ब्यवस्थापन शिक्षा, स्नातक तहमा मानविकी, ब्यवस्थापन शिक्षा संकाय र स्नाकोत्तर तहमा ब्यवस्थापन र शिक्षा संकायको अध्ययन गराईरहेको छ । क्याम्पसमा शैक्षिक वातावरण नभएको विद्यार्थीले बताउँदै आएका छन् । क्याम्पसका पूर्व अध्यक्ष धननारायण चित्रकार क्याम्पसले भौतिक पूर्वाधारको सदुपयोग गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुहुन्छ । क्याम्पसमा पूर्णकालिन करार प्राध्यापक कर्मचारी गरी ६२ जना हाल कार्यरत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह