रसुवाको बर्खे आलु माग अत्याधिक

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १२:५२

विदुर, रसुवा जिल्लामा उत्पादन भएको बर्खे आलु नुवाकोट जिल्लालगायत धादिङ, चितवन, काठमाडौंमा हारालुछ भईरहेको छ । रसुवामा उत्पादन भएको आलु स्वादिलो, चाँडै पाक्ने, विषादी प्रयोग नभएकोले उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।

नुवाकोट मात्र नभएर काठमाडौं, धादिङ र चितवनसम्म रसुवाको बर्खे अलुको माग रहेको नुवाकोटको ब्यवसायी अशोक गुप्ता बताउँछन् । तर ब्यवसायीले आलु खन्ना साथ चिसै माटो नटकटकाई प्याक गरेर पठाउँदा चाँडो बिग्रने गरेको उहाँले बताए । रसुवाको आलु एक हप्ता भन्दा बढी राख्न नसक्ने भएकोले माग अत्याधिक भएपनि ब्यापारीले किन्न हिच्किचाउँछन् । सरकारले रसुवामा उत्पादन भएको बर्खे आलुको उत्पादन बृद्धि गर्न र बजारीकरणको लागि सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गत वर्षदेखि शुरू गरेको छ । परियोजना लागु भएपछि जिल्लाको आलु उत्पादन भईरहेको क्षेत्रफलको तथ्याङ्क संकलन, उत्पादनको तथ्याङ्क राख्नेलगायत प्राविधिक सहयोग गर्दै आएको छ । परियोजनाले आलु उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहन गरी उत्पादन बढाउन साना सिंचाई, भकारो सुधार, बिउ अनुदान, मेशनरी औजार र खेतबारी जोत्न मिनीट्रिलर, बिउ संकलनको लागि ड्रम, गोदामघर, संकलन केन्द्रलगायतमा सहयोग गरिरहेको परियोजना कार्यान्वयन ईकाइ आलुजोन रसुवाका प्रमुख दिपक अधिकारीले बताउनु भयो । रसुवामा परियोजना गत वर्षको मङ्सिरदेखि शुरू भएको थियो । जिल्लामा आमोछोडिङ्मो गाउँपालिकाको गत्लाङ, चिलिमेमा बर्खे आलु बढी उत्पादन हुन्छ । त्यसैगरी कालिका गाउँपालिकाको राम्चे, नौकुण्ड गाउँपालिकाको यार्सा, लोकिल बर्खे आलुको पकेट क्षेत्र रहेको छ भने हिउँदे आलुको पकेट क्षेत्र उत्तरगया गाउँपालिकाभित्रको सबै स्थान रहेको छ ।

परियोजना लागु भएपछि रसुवाको आलु उत्पादन क्षेत्र बढेको आलुजोन सञ्चालक समितिका अध्यक्ष फ्रुर्पु सिङ्गी तामाङले जानकारी दिनुभयो । गत वर्ष ७ सय टन बर्खे आलु उत्पादन भएको थियो भने यस वर्ष खराव मौसम हुँदा हुँदै पनि १ हजार टन भन्दा बढी उत्पादन हुने प्रारम्भिक अनुमान रहेको उहाँले बताउनु भयो । बर्खा लागेसँगै आलु खन्ने सिजन शुरू हुने भएकोले पानी नपरेको घमाईलो दिन आलु खन्न अध्यक्ष तामाङले सल्लाह दिनुभएको छ । कृषकलाई खनेको आलुलाई ७ दिन फिंजाएर राखेपछि मात्र बजार पठाउन जोन सञ्चालक समितिले आग्रह गरेको छ । समितिले आलु प्याकिङको लागि परियोजनाको नाम लेखेको बोरा उपलब्ध गराएको छ । आलु उत्पादनको माग बढे पनि खासै कृषकले भने फाईदा लिन सकेका छैनन् । कृषकले प्रतिकेजी २० देखि ३० रूपैयाँ पाउँछन् भने ब्यापारीले त्यही आलु नुवाकोट ल्याएर ६० रूपैयाँ प्रतिकेजीसम्म बिक्री गरिरहेको पाईन्छ । आगामी वर्ष उत्पादित आलुलाई जोन सञ्चालक समितिले मूल्य तोक्ने र बजार पु¥याउन ढुवानीमा अनुदान दिनको लागि परियोजनासँग माग राखेको छ । आलु खन्ने समय साउन महिनाको १५ गतेसम्म रहेको छ । वर्षात्ले सडक अवरोध हुँदा रसुवाबाट बाहिर आलु ब्रिकीको लागि पठाउन समस्या भएको जोन सञ्चालक समितिका अध्यक्ष तामाङले बताउनु भयो । आगामी वर्षदेखि रैथाने आलुको बिउमा आत्मनिर्भर बन्ने समेत उहाँले बताउनु भयो ।