कस्ता नेता, कस्तो पत्रकारिता ?

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १५:०२

– रिना खनाल

चीनबाट फैलिएको कोरोना भाईरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ, ६ महिना बितिसंक्दा पनि त्रासमुक्त हुन सकिईरहेको छैन । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि प्रभावित मुलुकले लकडाउन गरिरहेका छन् र जहाँ खुलेको छ, त्यहाँ पनि अवस्था ज्याँदै असहज छ । कतिपय देशको लकडाउन बिस्तारै खुल्ने क्रममा छ । महामारी कहिले नियन्त्रणमा आउने टुंगो छैन । यस्तो अवस्थामा हाम्रो दशको एउटा प्रसिद्ध जिल्ला झै–झगडाका कारण चर्चामा आइरहेको छ ।

     त्यो जिल्ला हो नुवाकोट । संघीय राजधानीसँग उत्तरी भेगमा जोडिएको जिल्ला । अचेल खुब चर्चामा आईरहेको छ पत्रकार र नेताका बीचमा हुने गरेका विवादका कारण । विवादमा पत्रकारको दोष हो या कार्यकारी पदमा आसिन ब्यक्तिको, यो बुझ्न कठिन भईरहेको छ । नुवाकोट हुन त कुखुराले पनि राजनीति गर्ने थलो भनेर कतिपय ब्यक्तिले भन्ने गरेका छन् । गत महिना मात्रै नुवाकोटकै तारुका गाउँपालिकाको नीति तथा बजेट प्रस्तुत कार्यक्रममा काँग्रेसका नेताले पत्रकारमाथि दुब्र्यवहार गरेको र क्यामेरा तोडफोड गरेको घटना बाहिर आएको थियो ।

     सोही दिन विदुर नगरपालिकाको कार्यक्रममा नगर मेयर सञ्जु पण्डितले पत्रकारलाई सूचना संकलन गर्न नदिएकोमा अशोभनीय घटना भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को घटनाले फेरी नुवाकोट तातेको छ । ‘नगर प्रमुख पण्डितले ज्यान मार्ने धम्की दिए । बाँच्ने कसरी होला ?’ केही दिन अघि राती १० बजे सामाजिक सञ्जालमा उत्तरगया दैनिकका प्रकाशक शिव देवकोटाको यो पोष्टले ध्यान तान्यो । उनको स्टाटसमाथि गरिएका कमेण्ट हेर्दा कतिले असभ्य भाषा पनि प्रयोग गरेका छन् भने कतिपयले कम्युनिष्ट हो जोगिएर बस्नु जस्ता अप्रितीकर धारणा प्रकट गरेका छन् । कतिपयले प्रमुख पण्डित त्यस्तो प्रकारका शब्द प्रयोग गर्दैनन् भन्छन् त कतिपय राम्रै गरे भन्ने र भनिरहेका पनि पाईए । कतिपयले कानुनी उपचार खोज्न सुझाईरहेका थिए । केही वर्षको पत्रकारिता अनुभव र पत्रकारितामा अहिले देखिएका प्रवृत्ति सम्झँदै त्यो स्टाटसले मलाई घोत्लिन बाध्य बनायो । नाताले दाजुभाई सम्बन्ध भएपनि राजनीतिक धार मात्र नमिल्ने हो उनीहरुको । सल्लाह सुझाव पनि आदान प्रदान भईरहेको विभिन्न समाचार हेर्दा प्रष्ट देखिन्थ्यो । नगर प्रमुख भएपछि राम्रै सम्बन्ध रहेको भन्ने थाहा हुन आएको थियो ।

     घटना के विषयमा थियो, त्यो नखुल्दा को सही को गलत भन्न मिल्दैन । पत्रकारमा पनि रवाफ देखाउँने तुजुक बढ्यो कि कतै ? कि भट्टीमा पो यस्तो भयो ? फोनमा विभिन्न आरोप तथा गाली गर्नाले त्यस्तो पो भयो कि ? कि दुबैले भट्टीबाट फोन गरेका पो थिए कि ? अनेकन प्रश्न उब्जिए । आखिर भएको के हो त ? के विषयलाई लिएर धम्की दिने अवस्था उपस्थित भयो ? यी प्रश्नहरु अनुत्तरित छन् । देश कोरोना महामारी विरुद्ध जुधिरहेको बेला स–साना स्वार्थमा अल्झिएर एक अर्का विरुद्ध आरोप प्रत्यारोप हुनु ठीक होइन । र, राजनीतिक दलसँग जोडेर हेरिनु झनै ठीक होइन । कार्यकारी अध्यक्ष भईसकेको ब्यक्ति जनाताको सेवा गर्छु भनेर आएको हुन्छ । यो कदापि बिर्सनु हँुदैन । पत्रकारले पनि नागरिकलाई सत्यतथ्य सूचना संप्रेषण गर्ने दायित्व भुल्नु हुँदैन ।

     विदुर नगरपालिकाका प्रमुखबाटै यस्तो धम्कीको भाषा प्रयोग हुनु, यदि हो भने, आश्र्चयजनक मात्र छैन, सञ्चारमाध्यम र अभिब्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न खडा गरेको छ । पत्रकारमाथि बारम्बार प्रहार भईरहेको छन् । गल्ती कमजोरी गर्दा नेता र नेतृत्वको आलोचना हुनु स्वभाविक नै हो । बिना गल्ती, गाली, बदनामी सहनुपर्ने अवस्था आमसञ्चारको नयाँ माध्यमको रुपमा आएको सामाजिक सञ्जालले सृजना गरिरहेको छ बास्तवमा । यस्ता सञ्जालका कारण गैर जिम्मेवारीपन र छाडापन बढेको गुनासा आईरहेका छन् । नभन्दै धेरै विकृति पनि बढेको छ । यसैकारण आजकाल सरकार र पत्रकारबीच त्यति राम्रो सम्बन्ध बन्न सकेको छैन । दुई वक्षबीच टसल छ । लोकतन्त्रमा आमसञ्चार अपरिहार्य हुन्छ । यसमाथि किञ्चित, कतै संशय छैन । तर प्रेस स्वतन्त्रता भनेको मनपरी, अराजकता र उदण्डता सहितको स्वच्छन्दता पनि होइन । सामाजिक सञ्जाललाई सञ्चारकै चस्माले हेर्नु पनि ठीक होइन । यसलाई चिया पसलको गफजस्तै भन्ेर बुझ्नुपर्छ । कतिपय नेता तथा पत्रकारहरु आफू भाइरल बन्ने र बनाउने क्रममा पत्रकारितालाई संकुचन गर्न खोज्दै छन् । यस्ता गलत प्रवृत्ति तथा अभ्यासबाट अहिलेका पत्रकार र पत्रकारिता मुक्त भएर जनउत्तरदायी बन्नु र नेताहरुलाई बनाउनु जरुरी छ ।

     सैद्धान्तिक हिसावमा पत्रकार सत्ताको प्रतिपक्ष हुन्छ, हुनुपर्छ । कतिपय पत्रकारहरु दोहोरो तेहोरो भूमिकामा पनि छन् । पत्रकारको परिचय दिन रुचाउने ब्यक्ति अर्को ठाउँमा फाईदाअनुसार शिक्षक, ब्यापारी, राजनीतिकर्मीलगायतका रुपमा प्रस्तुत भईरहेका छन् । प्रहरी, प्रशासन तथा ब्यापारीसँग मात्र होइन कि तस्करसँग पनि त्यस्ताका हिमचिम बाक्लै भईरहेको सुनिन्छ । भनाइ नै छ नि हावा नचली पात हल्लिदैन । यस्ता क्रियाकलापले समाज पनि पत्रकारसँग सशंकित भएको पाइन्छ । अनि बास्तविक पत्रकार ओझेलमा परिरहेका छन् । पछिल्ला केही वर्षयता पार्टीको पक्षमा रहेर पत्रकारिता गर्ने र कुनै एक नेताको अमुक हुँदै गएकोले पत्रकारिता खाल्डोमा पर्ने डर बढ्दो छ । दलीय प्रभावमा सञ्चालित पत्रकारिताको अन्त्य भए राम्रो, नभए पनि संयम धारण गरेर स्वभाव परिमार्जन गर्दै जानुपर्छ । झन् यस्तो कठिन समयमा अरु उत्तरदायी भएर काम गर्नुपर्छ । उत्तरदायी नहँदा न नेताको इज्जत रहन्छ, न त पत्रकारको विश्वसनीयता ।