विदुर । सामुदायिक उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत नुवाकोट जिल्ला, विदुर नगरपालिकाले अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम २०८२ शुभारम्भ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठले बिमा प्राप्त व्यक्ति विदुर-५ की सङ्गीता कुँवर र विदुर १३ की प्रेमकुमारी शिवभक्तिलाई स्वास्थ्य बिमाबापतको कार्ड हस्तान्तरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको थियो ।
नगरभित्रका विपन्न, दलित, सीमान्तकृत तथा आर्थिक रूपले समस्यामा परेका नागरिकका लागि सञ्चालित ‘अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’अन्तर्गत बिमा कार्यक्रम सुरु गरिएको हो । मानवको स्वास्थ्य सेवा प्रमुख रहेको र यसका लागि नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । विपन्न, दलित र सीमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि बिमा महत्त्वपूर्ण माध्यम भएकोसमेत उहाँले बताउनुभयो । सङ्घीय स्वास्थ्य मन्त्रालयअन्तर्गत विदुर नगरपालिकाको निर्णयअनुसार विदुरका अति विपन्न घरपरिवारका झन्डै तीन हजार सदस्यलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्ने लक्ष्य रहेकोमा ६ सय घरपरिवारका दुई हजार ६ सय जनाको बिमा गरिसकेको उपप्रमुख प्रभा बोगटीले बताउनुभयो ।
कार्यक्रमले दीर्घकालमा नगरभित्रका नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने, आकस्मिक उपचार खर्चबाट हुने आर्थिक बोझ न्यूनीकरण गर्ने, सामाजिक न्याय प्रवद्र्धन गर्ने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, उपचार खर्चमा राहत दिलाई परिवारको आय-व्ययमा स्थायित्व ल्याउने, विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य समस्याबाट सुरक्षित गर्ने, गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पु¥याउने, स्वास्थ्य, उत्पादनशील तथा सक्रिय जनशक्ति विकास गर्नेजस्ता बहुआयामिक फाइदा प्राप्त हुने वडा नं १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितले बताउनुभयो ।






प्रतिक्रिया