धुन्चे । गत असार २४ र साउन १४ गते चीनतर्फको ल्हेन्देखोलाहुँदै भोटेकोशीमा आएको बाढीले क्षति पुर्या एको स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डअन्तर्गत स्याफ्रुबेँसीदेखि टिमुरेसम्म सडकमा मर्मतपछि यातायात सञ्चालनमा आएपनि आइतबार टिमुरे क्षेत्रमा पहिरो गएको छ । वर्षा भइरहेकोले उक्त क्षेत्रमा पहिरो खस्ने र बनाएको सडक भोटेकोशीले बगाउने गरेकोले सडक खुल्ने र बन्द हुने क्रम जारी छ ।
आइतबार बिहान करिव ८ बजेर ४५ मिनेट जादा गोसाईँकुण्ड-२ रसुवागढी क्षेत्रमा तीनसय मिटरमाथिबाट आएको ढुङ्गासहितको सुख्खा पहिरोका कारण एक जना कामदार घाइते भएका छन् भने चारवटा साना ठूला सवारी साधन र सुरक्षाकर्मी बस्ने घरसहित हेल्थडेक्समा क्षति पुगेको छ । ढुङ्गासहितको पहिरो खसेर घाईते भएका पर्सा जिल्ला विश्रामपुर-४ निवासी १९ वर्षिय विनयदास थारूलाई उपचारका लागि रसुवा अस्पताल ल्याइएको त्यहाँबाट पनि थप उपचारका लागि काठमाडौँ लगिएको छ । पहिरोले दुई कन्टेनर, एक ट्रयाक्टर, एक स्काभेटरमा क्षति भएको रसुवागढीका होटल व्यवसायी पदम रूम्बाले जानकारी दिनुभयो । टिमुरे स्वास्थ्यचौकी इन्चार्ज युगेन लोप्चनका अनुसार हेल्थडेक्स र सुरक्षाकर्मी बस्ने घरमा क्षति भएपछि अन्यत्र सारिएको छ । कामदार थारू आइतबार बिहान उक्त क्षेत्रमा पैदल हिड्दै गर्दा पहिरोमा परेका हुन् । उनको काध, नाक र कानमा चोट लागेको बताइएको छ । अहिले त्यो क्षेत्र पहिरोका कारण प्रभावित बनेको छ ।






प्रतिक्रिया