सर्वोच्च अदालतको आदेशले यथास्थितीमा पिपलटार–बेत्रावती सडक

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १५:१९
Logo of trishuli prawaha

ठेकेदार काम बिहिन मासिक ६० लाख खर्च

  • सज्जन उत्सुक सापकोटा

विदुर, गेम चेन्जर प्रोजेक्टको रूपमा निर्माण भईरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी योजनाको सडक विगत एक वर्षदेखि साईड क्लियर नहुँदा ठेकेदार काम बिहिन भएको छ । काम गर्ने साईड क्लियर नहुँदा निर्माणको ठेक्का लिएको कोभेक–तुन्दी–रसुवा जेभी एक वर्षदेखि काम गर्न नपाउँदा मासिक ६० लाख भन्दा बढी घाटा सहेर बसिरहेको छ । उक्त घाटाको क्षतिपुर्ति गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनासँग माग गर्ने तयारीमा जुटिरहेको छ ।

ठेकेदार कम्पनीले धादिङको गल्छीदेखि नुवाकोटको देवीघाट–पिपलटार–विदुर–ढुंगे–बेत्रावती–शान्तिबजार हुँदै मैलुङसम्मको सडक बिस्तार र स्तरोन्नतीको जिम्मा पाएको थियो । २०७३ सालदेखि यो खण्डमा निर्माणको काम शुरू गरेको ठेकेदार कम्पनीले सहज रूपमा आजसम्म काम गर्न पाएन । भारतको नाकाबन्दीको कारण इन्धनको समस्या ब्यहोरेको ठेकेदारले साईड क्लियर नहुँदा समयमा काम गर्न पाएन । यो सडकखण्डको गल्छीदेखि मैलुङसम्म घर, टहरा, विद्युत् पोल, खानेपानीको पाईप समयमा सम्बन्धित निकायले नहटाउँदा र स्थानीयको मुआब्जा मागले गर्दा ठेकेदारले फुल फेजमा काम गर्न नपाएको गुनासो गरिरहेको छ । पिपलटारदेखि विदुर–ढुंगे–गेर्खुखोला–बेत्रावती क्षेत्रका बासिन्दाले मुआब्जा नदिए सडक बिस्तारको काम गर्न नदिने भनेर अवरोध गरे । सडक प्रभावितले सर्वोच्च अदालतमा मुआब्जा माग गर्दै रिट दिएपछि अदालतले पिपलटार–बट्टार–विदुर–ढुंगे–गेर्खुखोलादेखि बेत्रावतीसम्मको सडक यथास्थितीमा छाड्न आदेश गरेपछि काम पूर्णरूपमा एक वर्षदेखि रोकिएको छ । ठेकेदारको कोल्पुटार, महादेवफाँट, लामासेती बगर, बट्टार र शान्तिबजारमा रहेको क्याम्प र साईड अफिसमा २ सय ५० जना प्राविधिक र कर्मचारी बेईलमी बनेका छन् । ठेकेदारले १८ वटा स्काभेटर, ४ वटा लोडर, २५ वटा ट्रिफर, ३ वटा जेसिबी ब्याकुलोडर, २ वटा क्रसर मेसिन, अटोमेटिक आसफाल प्वाइन्ट, २ वटा टेन्ड्रम रोलर, १ वटा न्युमेटिक रोलर क्याम्पमा राखेर साईड क्लियर हुने आशामा बसिरहेको छ । काम नहुँदा मेसिनरी उपकरण औजारमा खिया लागेको छ भने प्राविधिक सहितको कर्मचारी दिनभर फुर्सदिला बनेका छन् । कामै नगरी उनीहरूलाई ठेकेदार कम्पनीले मासिक ६० लाख भन्दा बढी तलव भत्ता खुवाईरहेको छ । यो घाटा ब्यहोर्न नसकने अवस्थामा पुगेको ठेकेदार ठेक्का बुझाउने अवस्थामा पुगेको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारी साईड क्लिपर गराउन जिल्लाका सांसद, जिल्ला समन्वय प्रमुख, नगरपालिकाका मेयर, गाउँपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला निकायसँग हारगुहार र समन्वय गरिरहेका छन् । सडक निर्माणको काममा स्थानीय निकाय र सांसदले पहल र जिम्मेवारी नलिंदा गेमचेन्जर प्रोजेक्टको रूपमा छनेट भएर पनि काम अगाडी नबढ्दा यो सडक बेबारिस बन्ने अवस्थामा पुगेको छ । सरकारले महेन्द्र राजमार्गलाई चारलेनको र गल्छी–मैलुङ–रसुवागढी सडकको शहरी क्षेत्रको बट्टार–विदुर–ढुंगेमा चारलेन र अन्य भागमा डेडिकेटेड डबल लेनको सडक निर्माण गर्न खोजेपनि स्थानीयबासी, राजनीतिक दल र जनप्रतिनिधीले महत्व नदिंदा यथास्थितीमै ठेकेदारले छाड्ने तयारी गरिरहेको छ ।