जिल्ला दररेट निर्धारण

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १३:४९
Logo of trishuli prawaha

विदुर, आ.व. ०७७/७८ का लागि नुवाकोट जिल्लाभर लागू हुने गरी निर्माण सामग्री र ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला निर्धारण गरिएको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ बमोजिम आ.व. ०७७/७८ का लागि नुवाकोट जिल्लाभर लागू हुने गरी निर्माण सामग्री र ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला निर्धारण भएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले जिल्लाभरिका लागि राष्ट्र बैंकको मूल्यवृद्धि र छिमेकी जिल्लाले निर्धारण गरेको दररेटको आधारमा समीक्षा गरेर ज्यालादर कायम गरेको छ । जिल्ला दररेट निर्धारण समितिले जिल्ला समन्वय प्रमुख कृष्णप्रसाद पन्थीको संयोजकत्वमा दररेट प्रस्ताव गर्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिमा जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख, कोलेनिकाका प्रमुखलगायत नुवाकोट उद्योग वाणिज्य सङ्घ र नुवाकोट निर्माण व्यवसायी सङ्घको अध्यक्ष सदस्य रहेका थिए । उक्त उपसमितिले जिल्लाको वस्तुस्थिति र विगतको मूल्य समीक्षा गरेर निर्माण सामग्री र ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला जिल्ला दररेट निर्धारण समितिमा प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव छलफल गरेर जिल्ला दररेट निर्धारण समितिले जिल्लाको चालू आवका लागि दररेट निर्धारण गरेको हो । समितिले आ.व. ०७७/७८ को लागि जिल्लाभर लागू हुने गरी निर्माण सामग्री र ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला दरमा १० रुपैयाँदेखि ३० रुपैयाँसम्म वृद्धि गरेको छ । समितिले प्लास्टरको प्रतिदिन एक हजार दुई सय, कम्प्युटर अपरेटरको दैनिक एक हजार, ज्यामीको सात सय ३०, पियनको पाँच सय, लाइट ड्राइभरको ६ सय ६०, पिच वर्करको पाँच सय ७०, लेन्थ वर्कर सुपरभाइजरको ६ सय ४० र झाडु लगाउनेको पाँच सय ४० ज्याला तोकेको छ ।

नुवाकोट जिल्लाको ज्याला तथा निर्माण सामग्रीको दररेट ०७६÷७७ मा गत आ.व. मा प्लास्टर एक हजार एक सय ८०, कम्प्युटर अपरेटर नौ सय ८०, ज्यामी सात सय, पियन चार सय ८०, लाइट ड्राइभर ६ सय ४०, पिच वर्कर पाँच सय ६०, लेन्थवर्कर सुपरभाइजर ६ सय ३० र झाडु लगाउने पाँच सय ३० ज्याला निर्धारण गरिएको थियो ।