लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने घटे

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १३:५३

धुन्चे, रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्जमा कोरोना भाइरसको कारणले घुुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको छ ।  निकुञ्जका रेन्जर रमेश बस्नेतका अनुसार गत वर्ष साउनदेखि असारसम्मको तथ्याङ्क हेर्दा २० हजार एक सय ५९ जना स्वदेशी तथा विदेशी पर्यटक निकुञ्जभित्रको धार्मिक तथा तामाङ सम्पदा मार्गमा भ्रमण गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण सरकारले चैत ११ देखि लकडाउन गरेर बन्दाबन्दी भएपछि अध्ययन तथा अवलोकन गर्न आउनेमा शून्यता छाएको हो ।

गत वर्षको साउनदेखि चैत १० गतेसम्म नेपाली महिला तथा पुरुष गरी तीन हजार नौ सय १७ र सार्क मुलुकका एक सय चारजना, विदेशी नागरिक आठ हजार एक सय ३८ र काठमाडौंको भृकुटीमण्डपको टिकट काउन्टरबाट प्रवेश शुल्क बुझाई निकुञ्जमा भ्रमण गर्ने पर्यटक दुई हजार सात सय १४ जना रहेका छन् । निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुले मानिसलगायत खेतबारीको अन्नबालीमा क्षति, भण्डारण गरेको अन्नको क्षति, घरगोठको क्षति दाबी गर्नेलाई क्षतिको आधारमा ४० लाख ३७ हजार चार सय ८८ रुपैयाँ वितरण गरिएको छ भने पर्यटकबाट एक करोड ९३ लाख ५० हजार पाँच सय ५१ रुपैयाँ २७ पैसा राजस्व सङ्कलन गर्न सफल भएको थियो । निकुञ्जलाई सरकारी सम्पत्तिको बहालबाट नौ लाख ४३ हजार एक सय ६७ रुपैयाँ २३ पैसा र अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख ३८ हजार आम्दानी भएको छ । न्यायिक, दण्ड, जरिवाना र जफतबाट ९३ हजार दुई सय ७५ रुपैयाँ, प्रशासनिक दण्ड–जरिवाना र जफतबाट दुई लाख ४३ हजार सात सय रुपैयाँ र बेरुजु १५ लाख ६९ हजार चार सय ८८ रुपैयाँ ५१ पैसा उठेको छ । वन क्षेत्रको रोयल्टी आठ लाख ३२ हजार तीन सय ९४ रुपैयाँ नौ सय, मुख्य आयकरबाट ६ लाख ४५ हजार आठ सय २४ रुपैयाँ २१ पैसा रहेको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको लामटाङ राष्ट्रिय निकुञ्जमा हावापानी र भूबनोटको विविधताको कारण एक हजारभन्दा बढी प्रजातिको वनस्पति पाइन्छ जसमध्ये २१ प्रजातिको रैथाने, आठ सयभन्दा बढी प्रजातिको झ्याउ, ४६ प्रजातिको स्तनधारी जनावर, दुई सय ५० भन्दा बढी प्रजातिको चरा, करिब ११ प्रजातिको सरिसृप तथा अभयचर यस जिल्ला वरपर पाइन्छ ।

जैविक विविधताको धनी यस निकुञ्ज रेडपाण्डा (हाब्रे) पाइने स्थान पनि हो । चार हजार आठ सय मिटरको उचाइमा र विशेषगरी लामटाङ र गोमाकुण्ड क्षेत्रमा पाइने यो जनावर नेपाल सरकारद्वारा संरक्षित जनावर हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले संरक्षित जनावरको सूचीमा राखेको आसामी बाँदर, खैरो ब्वाँसो, हिउँचितुवा, कस्तुरी मृग, डाँफे मुनालजस्ता संरक्षित पन्छी यस जिल्लाका आकर्षण हुन् । साल, खोटेसल्ला, चिलाउने लालीगुराँस, उत्तिस जिल्लाको पहाडी तथा बेंसीमा पाइन्छ भने खस्रु, तालिसपत्र, भोजपत्र, गोब्रेसल्ला, ठिङ्ग्रेसल्ला, धुपी, सल्ला, लाङटाङ लार्क, चिमाललगायत गुराँसका अन्य विभिन्न प्रजाति, लेकाली तथा हिमाली क्षेत्रमा पाइन्छ । टुन्ड्रा, शीतोष्ण, समशीतोष्ण हावापानी र थोरै दूरीमा उचाइको धेरै फरकपनले गर्दा यस जिल्लामा उष्णदेखि हिमाली भेगमा पाइने विभिन्न किसिमका जीव तथा वनस्पति पाइन्छन् । यस क्षेत्रमा तिलहरी चरादेखि सुनगिद्ध, महाचिल, भ्याकुरलगायत विश्वमै सङ्कटापन्न तथा लोपोन्मुख अवस्थामा रहेको १२ प्रजातिका चराहरू पाइन्छन् । यो निकुञ्ज चरा अध्ययन, अनुसन्धान तथा चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।