नेकपामा नयाँ राजनीतिक अभ्यास : बहुमत नै पराजित जनता राहतका लागि तड्पिने, नेताहरू कुर्सीका लागि मरिहत्ते गर्ने

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १५:०६

राजनीतिमा जित–हार, उतार–चढाव, शत्रु–मित्रको सम्बन्ध कहिले कोसँग हुन्छ केही थाहा हुँदो रहेनछ । तर, अहिले नेकपाका अर्को पनि घटना भएको छ, बहुमतमाथि अल्पमतको शासन । अहिलेको राजनीतिक अवस्था हेर्दा नेकपामा बहुमत पराजित भएर अल्पमतले शासन चलाइरहेको छ । अहिले बहुमत पक्षधर नेकपाभित्र लाचारजस्तै देखिएका छन् । अल्पमतले जे भन्यो त्यही मात्र केन्द्रीय राजनीतिमा भइरहेको छ । नेकपामा अहिले सचिवालयबाहेक सबैतिर प्रचण्ड–माधव नेपाल समूहको बहुमत छ । तर, अल्पमतको नेतृत्व गरेका केपी ओलीले जे भन्छन् त्यहीअनुसार मात्र पार्टी चलेको छ । ओलीले स्थायी कमिटीको बैठक राख्दिनँ भन्दा पनि बहुमत पक्षकाले बैठक राखेर अल्पमत पक्षका ओलीलाई कारबाही गर्न सकेको छैन ।

ओलीले अहिले पनि बहुमत पक्षलाई जवाफ दिइरहेका छन्– पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिनँ । महाधिवेशनबाट पार्टी अध्यक्ष र निर्वाचनबाट जितेर आए मात्र प्रधानमन्त्री पद लैजानू । ओलीको कुरा अहिले सर्वसाधारण जनतालाई पनि ठीक लाग्न थालेको छ । ओली सरकारले राम्रो काम नगरे पनि ओलीको भनाइ ठीक हो भन्ने जनमत अहिले बन्दै गएको छ । पाँच वर्षका लागि सरकार बनाउँछौँ, सरकार बनाएपछि ढाल्ने खेल गरिन्न भनेर भोट माग्ने अनि अहिले ढाल्न खोज्ने भनेर जनमत ओलीको पक्षमा बन्दै गएको छ ।

देश कोरोनाको कारण तहस–नहस भएको छ । बाढी, पहिरोले थप भयाभह अवस्था सिर्जना गरेको छ । यस्तो बेलामा सबैले सरकारलाई साथ दिनुपर्नेमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री फेर्ने पट्यारलाग्दो बैठकको शृङ्खला जारी रहँदा जनता पनि दिक्क भएका छन् । अब आधाभन्दा बढी समय भइहाल्यो ओलीलाई महाधिवेशन र निर्वाचनबाट फाल्दा भइहाल्छ नि भन्नेको भिड बढ्न थालेको छ । जनता राहतका लागि तड्पिने, नेताहरू कुर्सीका लागि मरिहत्ते गर्ने भनेर अहिले प्रचण्ड र माधव नेपालप्रति नै प्रश्न उठ्न थालेका छन् । ओलीले भनेको बेला मङ्सिरमा त महाधिवेशन हुने अवस्था छैन । यही अस्थिरताको अवस्था जारी राखेर पार्टीभित्र किचलो गर्दै जाने हो भने चैतमा पनि महाधिवेशन गर्न नसकिने अवस्था सिर्जना हुनेछ ।

प्रधानमन्त्री पार्टीभित्र कमजोर छन् । उनलाई सचिवालयभन्दा अन्य कमिटीमा बहुमत जुटाउन समस्या छ । तर, पार्टीबाट उनलाई हटाउन सक्ने अवस्था कसैसँग पनि छैन । उनी अध्यक्ष पनि छन् र प्रधानमन्त्री पनि । पार्टीमा प्रचण्डलाई कार्यकारी अध्यक्ष भनिए पनि त्यो नाम मात्रकै जस्तो देखिएको छ । किनकि कार्यकारी अधिकार नभएका ओलीले स्थगित गर्दैमा पार्टी स्थायी कमिटीको बैठक पटक–पटक रोकिएको छ । त्यति मात्र भएको छैन केन्द्रीय कमिटी बैठक राख्न मिल्दैन भनेर ओलीले भन्दैमा बैठकको मिति तोकिन सकेको छैन । बहुमत भए पनि ओलीलाई पार्टीमा लगाम लगाउन कसैले पनि सकेको छैन । पार्टीमा अल्पमतको शासन छ, बहुमत निरीहजस्तै देखिएको छ । ओलीको अगाडि पराजितजस्तै देखिएको बहुमत पक्ष महाधिवेशनमा कसरी जाने भन्ने निर्णय गर्नै नसक्ने अवस्था पुगेको छ । ओली शक्तिमै बसेर अब सबैसँग भिड्ने पक्षमा देखिन्छन् । उनले वामदेवलाई गुण लगाएर आफूतिर तानेका छन् । अर्थात् बिचौलिया सुशील भट्टलाई लगानी बोर्डको सिइओ बनाइदिएर ओलीले गौतमलाई ठूलो गुण लगाएका छन् । भट्ट गौतमका छोराका व्यावसायिक साझेदार हुन् । अर्को कुरा, ओलीले आगामी महाधिवेशनमा गौतमलाई आफ्नो तर्फबाट अध्यक्ष बनाउने वचन दिएको चर्चा चलेको छ । त्यही भएर अहिले ओलीले सचिवालयमा बहुमत पु¥याएका छन् । ओलीले पूर्वमाओवादीका केही शक्तिशाली नेताहरूलाई पनि आफ्नो पक्षमा तानेका छन् । तैपनि ओली अल्पमतमा छन्, उनले पार्टीभित्र बहुमत पक्षमाथि राजनीति गरिरहेका छन् । नेकपामा यो नयाँ राजनीतिक अभ्यासले देशभित्र र बाहिरको राजनीतिक क्षेत्रमा चर्चा–परिचर्चा भइरहेको छ ।