प्रहरीको मास्क अभियान

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १५:०७

विदुर, कोरोना रोगविरुद्धको सङ्क्रमणबाट बच्न नुवाकोट प्रहरीले ‘मास्कको प्रयोग अनिवार्य’ अभियान चलाएको छ ।

अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै प्रहरीसहित जिल्लाका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला सहभागी भएको टोलीले विदुरबाट बट्टारबजारसम्मको विभिन्न बस्ती तथा सार्वजनिक स्थलमा मास्क नलगाई बसेकालाई मास्क वितरण गर्दै स्वास्थ्य सुरक्षामा ख्याल गरेर कोरोनाबाट बच्न लापरबाही नगर्न आह्वान गरेको हो । मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐनअनुसार जरिवाना तिराउँदै आएको प्रहरीले मानिसको चहल–पहल बढी हुने क्षेत्रमा मास्क वितरण गर्दै सामाजिक दूरी कायम गर्न र कोरोना रोगको सङ्क्रमणबाट बच्न साबुनपानीले हात धुने स्मरण गराएको छ ।

कोरोना रोगको महामारीको जोखिम नुवाकोटमा समेत वृद्धि हुँदै गएकाले स्वास्थ्य सुरक्षामा ख्याल गरेर आफूसहित अरूलाई बचाउन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । कोरोना रोगबाट बच्न जनचेतनाको रूपमा प्रहरीले अनिवार्य मास्क लगाउन अभियान चलाउँदै आह्वान गरेको छ भने यसको साथ आगामी दिनमा निरन्तर प्रयोग नगरेमा कारबाही गर्ने चेतावनी नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दिएका छन् । नुवाकोटमा स्थानीयस्तरमै बासोवास गर्दै आएका पाँचजनासहित हालसम्म ४३ जनामा सङ्क्रमण देखिएकाले समुदायसम्म भाइरस पुगेको हुन सक्ने भन्दै सुरक्षित रहन आग्रह गर्दै सरसफाइमा ख्याल गर्दै कोरोना, डेंगुलगायतका रोगबाट बच्न र बचाउन प्रमुख जिल्ला अधिकारी ढकालले आग्रह गरेका छन् ।