+
Search

ताजा अपडेट +

पपुलर +

भदौमै पिसिआर मेसिन नुवाकोटमा

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर- विगत तीन महिनादेखि जिल्लामै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने चर्चा चले पनि कहिले आउने हो भन्ने टुङ्गो लागेको थिएन । अब एक महिनापछि जिल्लामा पिसिआर मेसिन भित्रिन लागेको छ । विदुर नगरपालिकाले त्रिशूली अस्पतालमा पिसिआर मेसिन रहने गरी खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालको लागि पिसिआर ल्याब परीक्षण मेसिन खरिदको लागि ७६ लाख रकम दिने प्रतिबद्धता व्यक्त गरेसँगै विदुर नगरपालिकाले मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको हो । साउन २२ गते नुवाकोट कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयानुसार त्रिशूली अस्पताल नुवाकोटमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्नका लागि स्थानीय पूवार्धार साझेदारी कार्यक्रमअन्तर्गत सांसद खतिवडाले कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिद गर्न ७६ लाख बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउनेछन् भन्ने उद्देश्यले पिसिआर ल्याब मेसिन खरिद गर्नलाई बजेट दिने निर्णय गरेको उनले बैठकमा बताएका थिए ।

त्यसै निर्णयको पालना गर्दै विदुर नगरपालिकाले तत्कालका लागि कोभिड– १९ सङ्क्रमण, नियन्त्रण तथा रोकथामका लागि पिसिआर ल्याब मेसिन खरिद प्रक्रियाका लागि ७८ लाख रुपैयाँ पछि शोधभर्ना हुने गरी छुट्याएको छ । पिसिआर मेसिन खरिद गर्न बोलपत्र आह्वान गरिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए । नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन कोइकाले बनाइदिएको त्रिशूली अस्पतालको नयाँ भवनमा राखिनेछ । पिसिआर मेसिन खरिद गर्नका लागि हाललाई नगरपालिकाले बजेट खर्च गर्ने र पछि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत शोध भर्ना गर्ने प्रमुख पण्डितले बताए । त्रिशूली अस्पताल विकास समितिको सोमबारको बैठकले पिसिआर मेसिनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न विज्ञापन गर्ने निर्णय गरेको छ । व्यवस्थापन र सञ्चालन खर्च बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालबाट सहयोग गर्ने आश्वासन पाएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । नुवाकोटका लागि पिसिआर उपकरण सञ्चालन भएपछि रसुवा र धादिङलाई समेत सुविधा पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह