त्रिशूली अस्पताललाई पोर्टेबल भेन्टिलेटर

  • त्रिशूली प्रवाह
  • ४ भाद्र २०७७, बिहीबार १०:०७

कोलोनी- नुवाकोटको त्रिशूली अस्पताललाई प्रदेश सांसद एवम् बागमती प्रदेशका नेकपाका सचेतक केशव पाण्डेको पहलमा एक थान पोर्टेबल भेन्टिलेटर मेसिन उपलब्ध भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको हो । गत बुधबार मात्रै चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयका लागि आठ थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको थियो । नुवाकोटसहित धादिङ र रसुवाका नागरिकले उपचार सेवा लिने जिल्ला अस्पतालमा यसअघि पनि सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भेन्टिलेटरसहितको एनेस्थेसिया मेसिन नुवाकोट पठाएका थिए ।

अस्पतालका लागि मन्त्रालयले उपलब्ध गराउने भेन्टिलेटर मेसिन तत्काल प्रयोगमा आउने र अस्पतालको एउटा महत्वपूर्ण आवश्यकता पूरा भएको अस्पतालका प्रमुख डा. रेमकुमार राईले बताए । त्रिशूलीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन विभिन्न निकायबाट पहल भइरहेको छ । त्रिशूली अस्पताललाई आइसियू कक्ष स्थापनाका लागि समेत जिल्लाबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने सांसदहरूले पहल गरिरहेका छन् । तत्कालका लागि हाई कियर युनिटको स्थापना गर्दै आइसियूको व्यवस्था गर्ने बताइएको छ । अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेका अनुसार अस्पतालको विकास र आइसियू निर्माणका लागि प्रदेश र सङ्घीय मन्त्रालयसँग समन्वय भइरहेको बताए ।