नेकपाको विवाद केही थान मन्त्रीमा टुङ्गिँदै: जिल्लामा कार्यकर्ताबीच बोलचाल बन्द गराएर केन्द्रमा दुई अध्यक्ष मिल्नु कुन सिस्टम ?

पूर्वमाओवादीमा प्रचण्ड एक्लिन थालेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओलीसँग प्रचण्डले सम्झौता गरेपछि उनी एक्लिन पुगेका हुन् । यसअघि नै पूर्वमाओवादीका टोपबहादुर रायमाझी, मणि थापा र हरिबोल गजुरेलहरू केपी ओली समूहमा राजनीतिक भविष्य जोगाउन लागेका छन् भने पूर्वमाओवादीका देव गुरुङ, मातृका यादवलगायतको समूह माधव नेपाल पक्षमा लागेका छन् । तराईमा प्रचण्डको पक्षमा प्रभु शाहको सानो समूह मात्र अहिले रहेको छ ।
रामबहादुर थापा बादल पनि ओलीसँगै छन् । अन्य नेताहरू पनि क्रमशः प्रचण्डले व्यक्तिगत स्वार्थका लागि जे पनि गर्छन् र आफूहरूको राजनीतिक भविष्य अन्योलमा पर्छ भन्ने निचोड निकाल्दै ओली र नेपालतिर लस्केका हुन् । यदि प्रचण्डले ओलीसँग साँठगाँठ नगरेको भए अहिले ओली अत्यन्त कमजोर अवस्थामा पुगेको विश्लेषण माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरूले निकालेका थिए । तर, प्रचण्डले एकाएक ओलीसँग साँठगाँठ गरेपछि पूर्वमाओवादीले प्रचण्डको साथ छाड्दै आफ्नो राजनीतिक भविष्य सुधारतर्फ लागेका हुन् ।

नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीगत सिस्टम बिगारे भनेर अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताले चर्को विरोध गरे । नेकपाको विवाद केन्द्र मात्र नभई जिल्ला हुँदै गाउँ–गाउँसम्म पुग्यो । ओलीले पार्टीसँग सल्लाह नगरी भटाभट निर्णय गरेको भनेर केन्द्रीय कमिटी बैठक बोलाउने मागसमेत भए । पार्टीका तीन नेताले जस्तोसुकै परिस्थिति आउन सक्ने भन्दै त्यसको सामना गर्न तयार रहनु भनेर नेता र कार्यकर्तालाई निर्देशन दिनसमेत भ्याए । पत्रकारलाई बोलाएर ओली सरकारले जनताविरुद्ध काम गरेको कारण त्यसलाई सिलसिलाबद्ध रूपमा प्रकाशित गर्न आग्रह गरे । तर, समाचार त्यति धेरै आएन । कारण थियो, जनताको पक्षमा सोचेजस्तो काम गर्न नसके पनि जनताविरुद्ध काम गरेको थिएन ओली नेतृत्व सरकारले । भ्रष्टाचार जसले गरेको हो त्यसका भागीदार उही नै हुने हो । त्यसमा कसैले चिन्ता गर्नुपर्ने थिएन ।
ओलीले केही गर्न नसकेको भनेर पार्टीकै बदनाम गर्ने काम नेतृत्वबाटै बाहिर आयो । ओली सचिवालय र स्थायी समितिमा अल्पमतमा परे । ओलीले सिस्टम बिगारेको भनेर धेरै आलोचना भयो । यतिसम्म प्रचार गरियो कि ओलीले एमसिसी पास गर्न खोजेको र प्रचण्डले नमानेको भनेर झुट पनि प्रचार गरियो । यद्यपि एमसिसीको बारेमा झलनाथ, प्रचण्ड, माधव नेपाल प्रधानमन्त्री भएको बेला जति काम भए त्यति काम ओलीको पालामा भएको छैन । ओलीले चाहिन्छ भने एमसिसी पास गरौँ नचाहिने हो भने मेरो मात्र टाउको दुखाउने काम गर्दिनँ भनेपछि त्यो विषय अहिले बन्द अवस्थामा छ । यदि ओली एमसिसीको अन्धभक्त थिए भने उनले सभामुखलाई पनि जानकारी नदिई संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने थिएनन् । मन्त्रिपरिषद्ले बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय सभामुखले सञ्चारमाध्यमबाट मात्र थाहा पाएका थिए । यसले प्रस्ट पारेको छ, एमसिसीको अन्धभक्त ओली होइनन् भन्ने ।
दूधमा परेको झिँगा टिपेर फालेझैँ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट फ्याँकिने चुड्की चोकका चियापसललाई नै आफ्नो राजनीतिक कर्मथलो मान्ने भुइँफुट्टा नेतादेखि लिएर प्रचण्डहरूले नै भन्न भ्याए । आखिर ओली कहिल्यै पनि लत्रिएनन् । उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाहेक अरू विषयमा मात्र वार्ता हुने अडान लिए । अहिले पार्टीको बहुमत पक्षधर ओलीको त्यही अडानमा झुक्न आइपुगेको छ । अहिले ओलीसँग केही थान मन्त्री र केही स्थानको राजनीतिक नियुक्तिमा प्रचण्ड, माधव नेपाल र झलनाथ सहमति गर्न आइपुगेका छन् । ओली र प्रचण्डबीच भएको वार्तामा ओलीले प्रचण्डलाई माग राख्न भने । प्रचण्डले यतिजना मन्त्री र यति ठाउँमा राजनीतिक नियुक्ति चाहियो भनेर प्रस्ताव गरे । प्रचण्डको माग पूरा गरिदिने आश्वासन ओलीले दिए । त्यसपछि प्रचण्ड ओलीसँग लम्पसार परे र सम्झौता गरे । दुई अध्यक्षबीच भएको सहमतिलाई सर्वसम्मत बनाउन फेरि पनि दुई अध्यक्षले एउटा जुक्ति निकाले, त्यो हो समिति बनाउने । त्यो समितिमा सबै पक्षका दुई–दुईजना नेता राखियो । आखिर उनीहरूलाई मन्त्री बनाउनका लागि त्यो समिति बनाइएको थियो । त्यसलाई नेपाल, खनाल र नारायणकाजी श्रेष्ठले पनि अनुमोदन गरेका छन् ।
पछिल्ला घटनाक्रमले के देखाएको छ भने पार्टीमा प्रचण्डले सिस्टमका लागि भन्दा पनि केही थान मन्त्री र केही स्थानको राजनीतिक नियुक्तिका लागि मात्र बबन्डर गरेका हुन् । अब मन्त्रिपरिषद् पुनर्गठन भएसँगै यो विवाद अन्त्य हुनेछ । यदि आफ्ना पक्षकाका लागि पद दिएर चित्त बुझाउने योजना थियो भने ओलीसँगको झगडा लाजमर्दो तरिकाले तीन ठूला भनिएका नेताहरूले बाहिर नल्याएको भए धेरै राम्रो हुने थियो । तर, भागबन्डामा आएर विवाद टुङ्गोमा पु¥याउनैपर्ने थियो भने ओलीको दुई पदको राजीनामा माग्नु नै बेकार भएको छ । किनकि नेताले भनेको जसरी ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्ने छैनन् । ओलीको सहमतिबिना प्रचण्डले पार्टीको निर्णय पनि गर्न सक्ने छैनन्, जुन कुरा पहिला नै थियो र अहिले पनि हुने त्यही हो । केही थान पदका लागि चित्त बुझाउनेले सिस्टम, सिस्टम भनेर नकुर्लिएको भए कार्यकर्तामा ओली र प्रचण्ड–माधव भन्ने कित्ताकाट हुने थिएन । जिल्लामा कार्यकर्ताबीच बोलचाल बन्द गराएर केन्द्रमा दुई अध्यक्ष मिल्नुचाहिँ कुन सिस्टम हो भनेर अहिले पनि कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ।