परिवर्तनशील संसार पदार्थले बनेको छ । पदार्थ परिवर्तनशील छ जसको परिवर्तन हुने नियम नै द्वन्द्ववाद हो । पानी पदार्थ हो जसको तापक्रम बढ्दै एक सय डिग्रीमा बाफ वा हावामा परिवर्तन हुन्छ । त्यसैगरी पानी चिसिँदै शून्य डिग्रीमा बरफ वा ठोस वस्तुमा परिवर्तन हुन्छ । यसरी प्रकृतिमा पानी बरफ र बाफमा परिवर्तन भएजस्तै तमाम अस्तित्वमा रहेका पदार्थ परिवर्तनशील स्वभावका छन् ।
पानीको परिवर्तन हुने प्रक्रियालाई अलि गहिरो ढङ्गले हेर्ने हो भने यसको अस्तित्व समाप्त हुँदै जाँदा बाफ वा बरफको अस्तित्व उदाउँदै वा हुर्कँदै गरेको हुन्छ । बाफको अस्तित्व समाप्त हुँदै जाँदा पानीको अस्तित्व उदाउँदै गरेको हुन्छ । परिवर्तनको यस प्रक्रियामा एउटा वस्तुको अस्तित्व उदाउँदै गर्दा अर्को वस्तुको अस्तित्व समाप्त हुँदै गइरहेको हुन्छ । मानिसको जन्मने, हुर्कने र मृत्यु हुने प्राकृतिक स्वभाव हो । संसारका हरेक वस्तुमा यो नियम लागू हुन्छ । यो नियम ब्रह्माण्डदेखि सौर्यमण्डल तथा हरेक जीवित र निर्जीव वस्तुमा लागू हुन्छ । यो नियम जीवित वस्तुमा लागू हुन्छ, तर निर्जीव वस्तुमा कसरी लागू हुन्छ भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । संसारको हरेक पदार्थ परिवर्तनशील छ भन्नाको अर्थ माथिको पानी र मानिसको परिवर्तन हुने नियमले स्पष्ट पार्छ । पानी बाफ वा बरफमा परिवर्तन हुँदा प्रत्येक पल पानीको अस्तित्व मेटिँदै बाफ वा बरफको अस्तित्व हुर्कँदै गरेको हुन्छ । यसको अर्थ पानीको अस्तित्वभित्र बाफ वा बरफको अस्तित्वको अन्तरप्रवेश भएको हुन्छ । बाफ वा बरफको अन्तरप्रवेशका कारण नै तापक्रम बढ्दै जाँदा बाफको अस्तित्व उदाउँदै गइरहेको हुन्छ भने तापक्रम घट्दै जाँदा बरफको अस्तित्व उदाउँदै पानीको अस्तित्व मेटिँदै गइरहेको हुन्छ । मानिसले जन्म हुँदा मृत्यु पनि सँगै लिएर आएको हुन्छ भन्ने समाजमा आममान्यता देखिन्छ । नेपाली समाजमा यो पनि परिवर्तनको विश्वव्यापी नियम हो भनेर बुझाउन सकिएको छैन । मानिस जन्मँदा उसको अस्तित्वको जन्म भयो । जन्मेपछि पलपल मानिसको अस्तित्व हुर्कँदै गर्दा अस्तित्वविहीन हुने मृत्यु पनि हुर्किरहेको हुन्छ । मृत्युपछि मानिसको अस्तित्व समाप्त हुन्छ । मृत्यु अस्तित्वविहीन अवस्था हो । जीवनको प्रत्येक पल अस्तित्वमा हुँदैन । प्रत्येक पल अस्तित्वमा हुने र अस्तित्वविहीन हुने प्रक्रिया एकै समयमा भइरहेको हुन्छ । एकै समयमा अस्तित्व र अस्तित्वविहीन हुने घटना नै परिवर्तनको विश्वव्यापी नियम हो ।
मानिसको जन्मसँगै मृत्युको घटना एकै समयमा भइरहेको हुन्छ । मानिसको मृत्युको समयमा मात्र मृत्यु भएको हुँदैन । मृत्यु मानिसको अस्तित्वविहीन हुने अन्तिम पल हो । जन्मँदा नै मृत्यु वा अस्तित्वविहीनताको अन्तरप्रवेश भएको हुन्छ । यसको मतलब जन्मसँगै मृत्युको अन्तरप्रवेश भनेको मृत्यु वा अस्तित्वविहीन हुने घटना अन्तिम पलमा मात्र सक्रिय हुने होइन । अस्तित्वसँगै अस्तित्वविहीन दुवै पलपल गतिका अवस्थामा हुन्छ । मानिस बालक हुँदै वयस्कावस्थामा परिवर्तन हुन्छ । बालकको अस्तित्वभित्र युवाको अस्तित्व अन्तरप्रवेश भएको हुन्छ । बालकको अस्तित्व हुर्कँदै गर्दा तन्नेरीको अस्तित्व अस्तित्वविहीनावस्थामा हुन्छ अर्थात् बालकभित्र युवाको अस्तित्वको बीजारोपण भइसकेको हुन्छ । पलपल बालकको अस्तित्व हुर्कँदै गर्दा युवाको अस्तित्व पनि हुर्किरहेको हुन्छ । यस प्रक्रियामा एकैपटक बालकको अस्तित्व समाप्त हुँदै युवाको अस्तित्व उदाउँदै गरेको हुन्छ । बालकको अस्तित्वको जन्म हुँदा युवाको अस्तित्व बालकभित्र अन्तरप्रवेश भएको हुन्छ । यही अन्तरप्रवेशका कारण बालकको अस्तित्व समाप्त हुँदै गर्दा युवाको अस्तित्व हुर्कँदै गइरहेको हुन्छ । परिवर्तनको यो नियम विश्वव्यापी नियम भन्नाको अर्थ संसारको हरेक पदार्थ यही नियमभित्र रहेर बदलिरहेको हुन्छ । पदार्थमा देखिने यो नियम मानिसको बुद्धिमा समेत पाइन्छ । मानिसको तर्क वा बुद्धि वा आइडिया हरपल परिवर्तन भइरहेको हुन्छ । बुद्धिको परिवर्तन पनि यही नियमभित्र बसेर भइरहेको हुन्छ । कुनै आइडियासँगै त्यसको विपरीत बुद्धिको अन्तरप्रवेश भएको हुन्छ । पुरानो तर्कको जन्मसँगै त्यसको विपरीत बुद्धिको अन्तर प्रवेशले एउटा आइडिया हुर्कँदै वा अस्तित्वमा आउँदै गर्दा अर्को विपरीत आइडिया पनि हुर्किरहेको हुन्छ । यसरी एकै समयमा दुई विपरीत बुद्धि हुर्कने भनेको दुई विपरीत आइडियाका बिच द्वन्द्वको स्थिति हो । एउटा समयमा पुगेपछि एउटा आइडिया अस्तित्वविहीन हुने र अर्को बुद्धि अस्तित्वमा आउँछ ।
मानव इतिहास पनि यही नियमभित्र रहेर परिवर्तन भइरहेको हुन्छ जहाँ एउटा सभ्यता जन्मँदै गर्दा अर्को विपरीत सभ्यताको बीजारोपण पनि सँगै भइरहेको हुन्छ । मानव इतिहासमा दास युगको जन्मसँगै सामन्ती युगको पनि अन्तरप्रवेश भएको हुन्छ । सामन्ती युगको जन्मसँगै पुँजीवादी युगको अन्तरप्रवेश भएको हुन्छ । त्यसैगरी पुँजीवादी युगको प्रवेशसँगै समाजवादी युगको अन्तरप्रवेश भएको हुन्छ । एक-आपसका विपरीत युग अस्तित्वमा आउने र अस्तित्वविहीन हुने गतिमा परिवर्तन भइरहेको हुन्छ । प्रकृति, बुद्धि, आइडिया र मानव इतिहास अस्तित्वमा आउने र अस्तित्वविहीन (हुनु र केही नहुनु) प्रक्रियामा रहन्छ । कुनै पनि पल वा प्रक्रिया स्थिर स्थितिमा रहँदैन । अस्तित्वको जन्म हुने र मृत्यु हुने प्रक्रिया निरन्तर गतिशील रूपले चलिरहेको हुन्छ । यो गति नै हुर्कने गति हो । संसारको अस्तित्व र अस्तित्वविहीन हुने भन्ने नै हुँदैन । हरपल हुर्किरहेको बदलिरहेको स्थितिमा हुन्छ । तसर्थ हुर्किरहनु र बदलिरहनु नै वास्तविकता हो । अस्तित्व अस्थायी हो, हुर्किरहनु र बदलिरहनु नै स्थायी हो । हुर्किरहनु (बन्ने) नै वास्तविकता हो । पदार्थ वास्तविकता होइन । पदार्थ मात्र होइन आइडिया, बुद्धि र इतिहास हरपल बदलिरहेको हुन्छ । बदलिनु नै वास्तविकता हो । सबै कुरा प्रवाहमा छ ।
प्रतिक्रिया