फुर्पु पुख्र्यौली पेसाबाट कमाउँदै रमाउँदै

  • त्रिशूली प्रवाह
  • ४ भाद्र २०७७, बिहीबार १०:१४
  • सरस्वती न्यौपाने

धुन्चे- रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेकी फुर्पुसाङ्मो तामाङले पुख्र्यौली पेसा पङगप किटीलगायत झोला बुनेर राम्रो आम्दानी गरिरहेकी छिन् ।

स्थायी घर चिलिमे भए पनि उनको श्रीमान् कर्माेवाङ्दी तामाङ कृषि विकास कार्यालयमा जागिरे भएका कारण उनी पनि श्रीमान्सँगै सदरमुकाम धुन्चेमा बस्दै आएकी थिइन् । दुुई छोरा र तीन छोरीकी आमा फुर्पुले श्रीमान्को जागिरले मात्र घर धान्न मुस्किल परिरहेको अवस्थामा आफ्नो पुख्र्यौली पेसालाई निरन्तर दिँदै पङगप, किटी, टोपी, झोला, पटुका बुनेर बेच्न थालिन् । घर–व्यवहारमा उनको कमाइले सहयोग पुग्न थाल्यो । श्रीमान्को पैसाले छोराछोरी पढाउन सहज भयो भने उनको कमाइले घरखर्च सहज चल्न थाल्यो । अहिलेसम्म कुनै सङ्घ÷संस्थाको सहयोगबिना आफ्नै निजी खर्चमा पुख्र्यौली पेसालाई आजसम्म निरन्तरता दिइरहेकी फुर्पुको भूकम्पपछि अचानक बिरामी भएर श्रीमान्को मृत्यु भयो ।

श्रीमान् बितेको केही वर्ष खाली बसे पनि उनले अहिले उक्त कामलाई निरन्तरता दिइरहेकी छिन् । अहिले मासिक उनले १० हजारदेखि १५ हजार रुपैयाँसम्म कमाई गरिरहेको त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् । बुबाको मृत्यु भए पनि हामी साथमा छौँ, आफ्नो पेसालाई छाड्न हुन्न भन्दै छोरा रेन्जेन तामाङले हौसला प्रदान गरेपछि श्रीमान्को अभावलाई बिस्तारै बिर्सिंदै गएकी छिन् । श्रीमान् हँुदा र नहुँदा धेरै फरक हुँदोरहेछ, तैपनि छोराछोरीले धेरै सहयोग गरिरहेकाले काम गर्न सहज भएको उनले बताइन् । उनको जन्मघर चिलिमे भए पनि सदरमुकाम धुन्चे अहिले कर्मघर भएको छ । फुर्पु तामाङले तामाङ समुदायका महिला तथा पुरुषले लगाउने टोपी, पटुकालगायत किटी, पङगप बुनेर बेच्दै आइरहेकी छिन् । रैथाने पेसालाई जीवित राख्दै दुई–चार रुपैयाँ कमाउने आयस्रोतको माध्यम बनेको उनको यो पेसा हाल कोभिड–१९ का कारण मन्दी आएको दुःखेसो गर्छिन् । सङ्घीयता कार्यान्वयनमा आएपछि गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र सरेपछि विगत दुई वर्षदेखि नै धुन्चेमा व्यापार–व्यवसायमा मन्दी आएको उनी बताउँछिन् ।