बाबुराम लामिछाने, प्रधानाध्यापक
पृथ्वी मावि, विदुर-४, नुवाकोट
पृथ्वी माध्यमिक विद्यालय पछिल्ला केही वर्षयता नुवाकोटमा मात्र नभएर राष्ट्रिय रूपमै चर्चामा रहेको सामुदायिक विद्यालय हो । यसलाई राष्ट्रिय चर्चामा लैजाने कारणमा पहिलो एसइई परीक्षामा विद्यालयले हासिल गरेको नतिजा हो भने दोस्रोमा विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको बर्सेनि देखिने चाप र अभिभावकले गरेको विश्वास हो । केही वर्षअघिसम्म सरकारी विद्यालयमा छोराछोरी पढाउँदा इज्जत जाने भाष्य पृथ्वीले उल्ट्याइदिएको छ । अहिले सो विद्यालयमा छोराछोरीले भर्ना पाउँदा समाजमा आफ्नो प्रतिष्ठा बढेको अनुभूति अभिभावकले गर्छन् । यसले नुवाकोटमा ‘सरकारी विद्यालय सुधार’को जागरण ल्याइदिएको छ । आजभोलि सरकारी विद्यालयमा सुधारको प्रयास कसरी गर्न सकिन्छ भनेर अध्ययन र अन्तक्रिया गर्न जिल्लाभित्र र बाहिरका सरकारी विद्यालयको लर्को यहाँ लागेको देखिन्छ । कसरी सम्भव भयो परिवर्तन ? के अब सरकारी विद्यालय माथि उठ्न लागेकै हुन् त ? पृथ्वीका भावी रणनीति के छन् ? प्रस्तुत छ यी र यस्तै विषयमा प्रधानाध्यापक बाबुराम लामिछानेसँग गरिएको कुराकानीको सारसंक्षेप :
पृथ्वी माविले आफूलाई कसरी सुधार गर्न सकेको हो ?
त्यो हो मिहिनेत । त्यसैको प्रतिफल हो हाम्रो सफलता ।
मिहिनेत गर्ने, सफल हुने, जस लिने इच्छा त सबैलाई होला नि । पृथ्वीले चाहिँ सफल हुने गरी मिहिनेत गर्ने पे्ररणा र तरिका कसबाट पाएको हो ?
हाम्रो अवस्था र समस्या नै हाम्रा गुरु हुन् । जतिवेला सरकारी विद्यालय विद्यार्थी माग्दै घरघर हिँड्नुपर्ने अवस्था आयो, त्यतिवेला नै हामीले यस अवस्थाबाट बाहिर आउनुपर्छ भनेर एउटा निष्कर्ष निकालेका थियौँ । समाजले हामीलाई नपत्याएपछि अभिभावकसँग छोराछोरी मागेर स्कुल चलाउने कोसिस गर्नुहुँदैन, यसो गर्नु भनेको स्कुल नभई अस्थायी रूपमा जागिर जोगाउने जुक्ति मात्रै हो भन्ने सन्देश जान्छ भन्ने हाम्रो निष्कर्ष थियो । स्कुल जोगाउनका लागि विश्वास जगाउनुपर्छ भन्नेमा हामी पुग्यौँ । स्कुलले विद्यार्थी माग्न अभिभावकका दैलामा लाम लाग्ने होइन, तिनले आफ्ना बालबालिका भर्ना गर्न स्कुलमा लाम लाग्ने वातावरण बनाउन सक्नुपर्छ । हामी यही निष्कर्षका साथ कक्षाकोठा सुधार गर्न लागिपयौँ । यसैमा मिहिनेत गयौँ । फलस्वरूप यस स्थितिमा आइपुग्यौँ ।
सरकारी विद्यालय सुधारका चुनौती के-के हुन् र यसमा शिक्षकले मात्रै सुधार गर्ने सम्भावना कति छ ?
बन्नुपर्नेहरूले जिम्मेवार नबन्नु नै सरकारी स्कुल सुधारको मुख्य चुनौती हो । यसलाई अलिकति केलाएर हेर्ने हो भने समस्या शिक्षानीतिदेखि कक्षाकोठासम्म छन् । संविधान, शिक्षानीति र ऐन-कानुनमा जे परिकल्पना गरिएको छ, कार्यान्वयनमा इमानदारी छैन । स्रोतसाधनको प्रबन्ध छैन । जनशक्ति व्यवस्थापनमा समस्या छ । राजनीतिको प्रभाव त्यत्तिकै छ । संविधानतः शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा आइसकेपछि अन्योल झन् बढेको छ । सरकार शिक्षामा आफ्नो ‘कर्तव्य’ होइन ‘अधिकार’को अभ्यास गरिरहेको छ । यसले शैक्षिक संस्था झन् गिजोलिएका छन् । राजनीति पनि पूर्वाग्रहरहित छैन । राजनीतिको चस्माले विद्यालय र शिक्षकलाई हेर्ने चलन छ । समाज नकारात्मक छ । ऊ हौसला, पे्ररणा र ऊर्जा दिँदैन, बरु हतोत्साह थप्छ । समस्या शिक्षकमा पनि छ । कतिपय शिक्षक कक्षाकोठाभित्र रमाउनै सक्दैनन्, कक्षाकोठामा नछिर्न पाए हुन्थ्यो, छिर्नैपरे पनि कम समय बिताउन पाए हुन्थ्यो भन्ने भावना छ । कक्षाकोठाभित्र चाहेर-नचाहेर दुःख गर्नेमध्ये पनि कतिले त आफूले सिकाएको बालबालिकाले सिके कि सिकेनन् भन्ने नै थाहा पाउँदैनन् । त्यसैले बन्नुपर्नेले जिम्मेवार नबन्नु नै सार्वजनिक शिक्षाको चुनौती हो । सबै सरोकारवाला नब्युँझिएसम्म सार्वजनिक शिक्षाको मूल बाटो फरक हुँदैन । ब्युँझिनु भनेको जिम्मेवार बन्नु हो । जहाँसम्म शिक्षकले के-के बदल्न सक्छन् भन्ने प्रश्न छ, तिनले चाहे भने आफू बदलिन सक्छन् । हामी शिक्षकले देशका शिक्षा नीति, ऐन-नियम र कानुन बदल्न सक्दैनौँ । राजनीतिक चेतना पनि बदल्न सक्दैनौं । पाठ्यक्रम, पाठ्यपुस्तक, विधि, प्रणाली, सामाजिक सोच र चेतना यी कुनै बदल्न सक्दैनौँ । चाह्यौँ भने आफूचाहिँ बदलिन सक्छौँ र हाम्रा कक्षाकोठा बदल्न सक्छौँ । अहिले देशभरका एक-डेढ सय हाराहारीका सामुदायिक विद्यालय शिक्षक र कक्षाकोठा बदलेर सुधारका बाटामा गएका छन् । बरु तिनले समग्र सार्वजनिक शिक्षाप्रतिको धारणा बदलिदिएका छन् । नयाँ आशा, विश्वास र भरोसाको एउटा दियो जलाइदिएका छन् ।
यस्ता विद्यालयले हस्तक्षेपलाई कसरी व्यवस्थापन गरे त ?
तिनको मिहिनेत, जाँगर र तिनले देखाएको नतिजा नै तिनको ताकत हो । यही ऊर्जाले गर्दा तलबाट माथितिर एउटा उध्र्वदबाब सिर्जना गरिदिएको छ । यसले समग्र शिक्षाप्रणाली, राजनीति, समाज र सबै सरोकारवालालाई विद्यालयप्रति सके सकारात्मक बन्ने र नसके पनि नकारात्मक नबन्ने ठाउँमा उभ्याएको छ ।
पृथ्वीले चाहिँ कसरी ती प्रभावलाई चिर्न सक्यो त ? राजनीतिलाई कसरी व्यवस्थापन गर्न सक्यो ?
पृथ्वीको शक्ति पनि जाँगर, मिहिनेत र नतिजा नै हो । यसले आममानिसमा एउटा विश्वास सिर्जना गरिदिएको छ । त्यही भरोसाले नै सबैबाट सहयोग लिँदै र चुनौती तथा प्रभावलाई सामना गर्दै अगाडि बढ्ने शक्ति मिलेको हो । जहाँसम्म राजनीतिको विषय छ, यो अरूले व्यवस्थापन गरिदिने विषय होइन, आफैं व्यवस्थित हुन्छ । राजनीतिको चरित्र गतिशील हुन्छ । यो सामाजिक सरोकारका विषयमा निरपेक्ष रहन सक्दैन, रहनुहुँदैन पनि । राजनीति सबै सामाजिक संस्था वा संरचनामा प्रवेश गर्न खोजिरहेकै हुन्छ । यो उसको धर्म हो । फेरि राजनीति त समाजको पुँजी पनि हो, यसलाई घृणा गर्नुपर्छ भन्ने भाष्य गलत हो । यसलाई सम्मान गर्नुपर्छ । यसले समाजलाई कुनै न कुनै रूपले प्रतिनिधित्व गरेको हुन्छ । यसलाई उपयोग गर्न जान्नुपर्छ । यसलाई काम दिन सक्नुपर्छ । हामीले राजनीतिलाई सम्मान गरेर काम दियौँ भने यसले विद्यालयलाई सहयोग गर्छ । विद्यालयले पक्षपातपूर्ण व्यवहार देखायो भने राजनीतिलाई सह्य हुँदैन र अरू तरिकाले प्रवेश गर्न खोज्छ, जुन हस्तक्षेपका रूपमा देखिन्छ । हामीले राजनीतिलाई समान रूपले सम्मान गरेका छौँ र उसले हामीलाई सहयोग गरेको छ । तपाईं आफू भएको ठाउँलाई उज्यालो बनाउनुस्, वरपरको अँध्यारो आफैं भाग्छ । हामीले यही प्रयास गरेका हौँ ।
शिक्षकले राजनीति गर्छन्, त्यसैले शिक्षा कमजोर भयो भन्ने विषयमा तपाईंको धारणा के छ नि ?
शिक्षक र सार्वजनिक शिक्षाको स्तर खस्किएका विषयमा सबैभन्दा धेरैले उठाएको प्रश्न र आरोप पनि यही हो । कानुनी प्रावधान र नैतिकताको सीमाभन्दा बाहिर गई राजनीतिक दलविशेषको नेतृत्वमा रहेर, कार्यकारिणी जिम्मेवारी लिएर वा साङ्गठनिक काममा प्रत्यक्ष सहभागी भएर हिँड्ने शिक्षकबाहेक अन्यका हकमा म यस आरोपलाई स्विकार्दिनँ । शिक्षकको क्षमता, इमानदारी, व्यावसायिकता र कार्यदक्षतामा समस्या छ भने राजनीतिक कारणले होइन । बरु आलोचनात्मक वा समालोचनात्मक चेत कम भएकाले हो । विषयवस्तुको ज्ञान र डेलिभरी गर्ने कलाको कमीले गर्दा समस्या छ । आफ्नो ताकत, ध्यान, ऊर्जा र समय निजी व्यवसाय वा अन्य काममा खर्चने र विद्यालयलाई आराम गर्ने थलोका रूपमा लिने प्रवृत्तिले समस्या छ । फरक तरिकाले प्रस्तुत हुने, उत्प्रेरणा जगाउने र कन्भिन्स गर्ने कलाको कमीका कारण समस्या छ । आस्थाका कारणले होइन । विचार नभएको मान्छेको परिकल्पना गर्नै सकिँदैन । शिक्षक त झन् सचेत हुनुपर्छ । अझ प्रधानाध्यापकको जिम्मेवारी लिनेमा समन्वयात्मक र व्यवस्थापकीय कौशल झन् धेरै हुनु आवश्यक छ । वैचारिक चेतना र राजनीतिमाथिको पहुँच हुनु आवश्यक छ । मेरो अनुभव र विश्लेषणमा जुन स्कुलमा राजनीतिक पहुँच भएका शिक्षक, प्रधानाध्यापक छन्, तिनै बढी सफल भएका छन् । तिनकै भौतिक र शैक्षिक व्यवस्थापन राम्रो छ, नतिजा राम्रो छ । कुनै अमूक शिक्षक अमूक राजनीतिक आस्थाको नजिक भएकै कारण उसको कक्षाकोठा कमजोर हुन्छ र उसका विद्यार्थीको सिकाइ कमजोर हुन्छ भन्नेमा सत्यता छैन । यसलाई पुष्टि त संस्थागत विद्यालयले पनि गरिदिएका छन् । त्यस्ता विद्यालयका कतिपय सञ्चालक, प्रिन्सिपल त झन् खुला राजनीतिमा छन् । सङ्गठनमा बसेर काम गरेका मान्छे छन् । एकाधलाई छाडेर तिनका स्कुलको नतिजा झन् राम्रो छ ।
धेरैजसो सरकारी स्कुलमा गुणस्तर कम भएकै कारण विद्यार्थी घटेको र मर्जरमा जाने अवस्था भएको छ, तर पृथ्वीलाई विद्यार्थी थेग्न धौधौ परेको देखिन्छ । यस्तो कसरी भएको त ?
अहिले ग्रामीण क्षेत्रमा, एकातिर पढ्ने उमेरका विद्यार्थी नै नभएर स्कुल खाली हुँदै गएका छन् भने अर्कातिर भएका पनि गुणस्तर खोज्दै अन्यत्र गएका छन् । यसरी विद्यालय खाली हुँदै गएका छन् । यहाँ गम्भीर प्रकारको आरोप-प्रत्यारोप चलेको छ । समाज र अभिभावकले ‘छोराछोरी पढाउन’ भनी गाउँ छाडेका छन् । उनीहरूको आरोप छ, ‘शिक्षकले राम्रो पढाउँदैनन् ।’ शिक्षकको तर्क छ, ‘गाउँमा मान्छे नै छैनन्, कसलाई पढाउनु ।’ छोराछोरी पढाउन हिँड्नुपरेकाले घर खाली, गाउँमा मान्छे नबसेकाले कक्षाकोठा खाली । यो विरोधाभास अहिले छ । यसको सबभन्दा बढी दोष शिक्षकले पाएको छ । गाउँमा मान्छे हुनु वा नहुनुको जवाफ अरूले पनि देलान्, तर पढाइ गतिलो नभएर गाउँ रित्तियो, बस्ती उठ्यो, जग्गा बाँझियो, जनसाङ्ख्यिकीमा परिवर्तन आयो भन्ने आरोपको जवाफ हामी शिक्षकले नै दिनुपर्छ । त्यसैले विद्यार्थी तिन हुन् कि तीसजना वा तीन सय हुन् कि तीन हजार, शिक्षकले निरन्तर मिहिनेत गरिरहनुपर्छ, गुणस्तर दिइरहनुपर्छ । गाउँमा मान्छे घट्दै गर्दा संरचना झन् बलिया र भरपर्दा बनाएर जोगाउनुपर्छ । बाँकी रहेकाको विश्वास जित्नुपर्छ, भोलि अरूलाई पनि यिनै संरचना देखाएर फर्काउनुपर्छ । मर्जरका नाममा धेरै शैक्षिक संस्था घटाउनुहुँदैन । हामीले हाम्रो भूगोल, समाज, परिवेशका आधारमा व्यवस्थापन गरेका हौँ । विद्यार्थी चाप, नतिजाको उत्कृष्टताको रहस्य भनेको हाम्रा शिक्षकले कक्षाकोठामा गरेको मिहिनेत नै हो ।
एसइई नतिजामा केही वर्षदेखि जिल्लाकै उत्कृष्ट बन्न के-के गर्नुभयो ?
एसइई समकालीन समाजको सबैभन्दा बढी चासो वा सरोकारको परीक्षाका रूपमा रहेको छ । मिडिया कभरेज, छलफल, समीक्षा आदि धेरै दृष्टिले यो चर्चामा रहने गरेको छ । त्यसैले हाम्रो पनि एसइईकै नतिजाको बढी चर्चा रहने गरेको हो । तर, एसइईको मात्रै राम्रो छ भन्ने होइन । भर्खर नर्सरीमा पढ्न सुरु गरेको विद्यार्थी र उसको अभिभावकका लागि सोही तहको नतिजा महत्त्वपूर्ण हुन्छ, एसइईका विद्यार्थी र अभिभावकका लागि त्यसैको नतिजाको महत्त्व हुन्छ । त्यसैले हामीले सबै कक्षा र तहमा समान प्रयत्न गरेका छौँ । हाम्रो सबै कक्षाका नतिजा एकनासकै हुने गरेको छ । एसइईको मिडिया कभरेज र बाहिरी समीक्षा बढी हुन्छ, अन्यको हुँदैन । तथापि कक्षा १० मा पुगेपछि विद्यार्थी अलि बढी संवेदनशील हुने र शिक्षकले पनि अतिरिक्त समयसमेत प्रयोग गरेर आफ्नै निगरानीमा तिनलाई राख्ने गरेका छन् । यसरी अतिरिक्त समय उपयोग गर्दा चाँडै कोर्स सकिने र परीक्षाकेन्द्रित तयारी गर्ने अवस्था रहन्छ । कुनै समय आफैंसँग शिक्षक नहुँदा बाहिरबाट खोजेर पनि उनीहरूको पूरै समय सिकाइमा लगाइदिने गरेका छौँ । त्यसैका कारण नतिजा सुदृढ हुने गरेको हो ।
समाजका धेरै विद्यार्थी निजी स्कुल छाडेर पृथ्वीमा आउन चाहेको देखिन्छ । सुरुमा निजी नै खोज्दै जानु र पछि पृथ्वीमा आउन चाहनाको कारण के हुन सक्छ ?
हामीले त्यसरी हेरेका छैनौँ । पृथ्वी चर्चामा आएको र समुदायले आँखा चिम्लेर हामीलाई विश्वास गरेको पनि कति नै भएको छ र ? त्यसअघि दशकौँसम्मको अवस्था हेर्दा त निजी विद्यालय नै सबैका आकर्षण थिए । पछि हामीले मिहिनेत गयौँ, नतिजामा अगाडि आयौँ, अभिभावकले विभिन्न कोणबाट विश्लेषण गर्नुभयो, त्यसैले हामीकहाँ आउन खोज्नुभयो होला । हामीले यसभन्दा बढी सोचेका छैनौँ । हामीले मिहिनेत र गुणस्तर सुधार गर्न पनि निजी स्कुलबाट धेरै सिकेका छौँ ।
हिजोआज जिल्लाभित्र र बाहिरका धेरै सरकारी स्कुलले पृथ्वी भ्रमण गरेको देखिन्छ । यसले सार्वजनिक शिक्षाको सुधारका लागि एउटा जागरण ल्याएजस्तो देखिन्छ । यसमा तपाईंको आफ्नै अनुभवचाहिँ के छ ?
हामीले करिब नौ सय विद्यार्थी बर्सेनि पढाएका छौँ । सयको हाराहारीमा एसइई उत्तीर्ण गर्छन् । तिनको नतिजा समय-समयमा बाहिर सार्वजनिक भएकै छ । यस उपलब्धिलाई मानिसले सर्सर्ती देखेका छन्, अनुभव गरेका छन् । यसमा त्यति भनिरहनुपर्ने अवस्था छैन । तर, यसभन्दा पनि पर धेरै ठुलो उपलब्धि हामीले महसुस गरेका छौँ । सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव छैन भन्ने भाष्यलाई बदलेर सम्भव छ भन्ने सन्देश हामीले प्रवाह गरेका छौँ । यसले सार्वजनिक शिक्षाका सरोकारवालालाई जिल्लाभित्र र जिल्लाबाहिर पनि चर्को दबाब परेको छ । स्थानीय तहदेखि व्यवस्थापन समितिसम्म र प्रधानाध्यापकदेखि शिक्षकसम्म कसैले पनि सम्भव छैन भनेर उम्कन नपाउने अवस्था बनेको छ । प्रत्येक स्कुलका छलफलमा हाम्रो नाम लिइने गरेको बुझिन्छ । शिक्षक, प्रधानाध्यापक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापकलगायत सरोकारवाला हामीकहाँ आएर छलफल गर्नुहुन्छ । यसले एउटा जागरण ल्याएको देखिन्छ । हामी आफैंले कतिजना पढाएका छौँ र कस्तो नतिजा निकालेका छौँ भन्नेभन्दा पनि धेरै ठुलो उपलब्धिका रूपमा यसलाई लिएका छौँ । यही जागरणको परिणाम नै पछिल्लो समय धेरै सरकारी स्कुलले आफ्नो नतिजामा सुधार ल्याएका छन् । २०८१ को एसइईकै नतिजालाई हेर्ने हो भने पनि गाउँगाउँबाट सरकारी स्कुलले आफ्नो शैक्षिक गुणस्तर सुधार भएको सन्देश दिएका छन् । सरकारी ‘हामी पछाडि छैनौँ’ भन्ने देखाउन दौडिएका छन् । हाम्रो दबाब सरकारी विद्यालयमा मात्र होइन निजीले पनि महसुस गरेको देखिन्छ । कतिपय निजी विद्यालयसँग सम्बन्धित मानिसका विभिन्न माध्यमबाट व्यक्त प्रतिक्रियाले त्यसको सङ्केत गर्छ । निजीलाई भेट्टाउन सरकारी दौडने र सरकारीभन्दा अब्बल रहिरहन निजीले गियर बदल्ने अवस्थाले अन्ततः यही समाज र यहीँका विद्यार्थीलाई फाइदा भएको छ ।
पृथ्वीमा अध्ययन सकाएका विद्यार्थीको शैक्षिक अवस्था के छ ?
हामीकहाँ कक्षा १० उत्तीर्ण गरिसकेपछि ११, १२ पढ्न अधिकांश विद्यार्थी काठमाडौँ जान्छन् । त्यहाँका शैक्षिक संस्थामा प्रायले निःशुल्क पढेका हुन्छन् । काठमाडौँका नाम चलेका इन्स्टिच्युटमा पृथ्वीबाट गएका विद्यार्थीलाई हेर्ने दृष्टिकोण नै फरक छ । सरकारी पृष्ठभूमिका विद्यार्थी भएकाले उनीहरूले उच्च शिक्षामा पनि सहुलियत पाइरहेका हुन्छन् । हामी धेरै पुरानो छैनौँ । त्यसैले हाम्रा विद्यार्थी थोरै मात्र श्रमबजारमा जान भ्याएका छन् र सबै अध्ययनकै क्रममा छन् । देशमा रहने र विदेशमा गएका सबै राम्रा विश्वविद्यालयमा राम्रो विषयमा पढाइ पूरा गर्ने क्रममा छन् ।
सार्वजनिक शिक्षाको सुधारका लागि पृथ्वीको यति ठुलो योगदान छ । यसबापत विद्यालयलाई सरकारले कुनै सम्मान, पुरस्कार वा सहयोग गरेको छ त ?
हाम्रो कर्मले पाएको सामाजिक स्वीकृति नै सबभन्दा ठुलो पुरस्कार हो । समाजले विश्वास गरेको छ, प्रशंसा गरेको छ । हामीकहाँ आउन दौडधुप गरेको छ । यसभन्दा ठुलो पुरस्कार वा सम्मान अर्को के नै हुन्छ र ? विभिन्न समयमा विभिन्न पुरस्कार पाएका पनि छौँ । ती सबै सार्वजनिक नै छन् ।
यस वर्षदेखि कक्षा ११ सञ्चालन गर्ने र विज्ञान विषय पढाउने भनिएको थियो । पछि के भएर रोकियो ?
हामीले लामो समयदेखि कक्षा १० सम्म मात्र सञ्चालन गर्दै आएका छौँ । माध्यमिक तह कक्षा १२ सम्मको हुने भए पनि कक्षा १० मात्र चलेका विद्यालय धेरै छन् । यसैबिच गत फागुनमा हाम्रो कक्षा १० को अभिभावक बैठकमा धेरै अभिभावकले ११, १२ चलाइदिए एसइईपछि आफ्ना छोराछोरीलाई काठमाडौँ पठाउने बाध्यता पर्ने थिएन भन्ने प्रतिक्रिया दिए । यही आधारमा असारमा आएर मात्र निर्णय गरेर सूचना ग यौँ । रह्यो विज्ञान विषय चलाउने कुरा । समाजको हितका लागि काम गर्ने हाम्रो उद्देश्य हो । जिल्लामा विज्ञान विषय पढाउने स्कुल त्यति नभएको र धेरै विद्यार्थी विज्ञान पढ्नकै लागि काठमाडौँ जानुपर्ने, त्यहाँको पढाइ पनि खर्चिलो हुने र व्यक्तिगत व्यवस्थापन झन् खर्चिलो हुने अवस्थाबाट अभिभावकलाई जोगाउनुपर्छ, घरकै भात खाएर कक्षा १२ सम्मको गुणस्तरीय शिक्षाको प्रत्याभूति यहाँका शैक्षिक संस्थाले गराउनुपर्छ भन्ने हाम्रो सोचाइ हो । विदुर नगरभित्रका स्कुलबाट गत असारमा एसइई उत्तीर्ण भएका सात सय विद्यार्थीमध्ये झन्डै पाँच सय काठमाडौँ छिरेका छन् । तिनको आउँदो दुई वर्षको खर्च न्यूनतम रु.१० देखि १५ लाखका हुन आउँछ । अझ ठुलो खर्च त भोलि उच्च शिक्षामा गर्न बाँकी नै छ । त्यसैले यहाँका शैक्षिक संस्थाले त्यो अवसर दिलाउनुपर्छ, त्यसको एक खम्बाको काम पृथ्वीले गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो । अहिले पनि हाम्रो लक्ष्य यही हो । तर, यसपटक सायद हाम्रो सूचना ढिलो भएर हो वा किन, राम्रो सङ्ख्यामा भर्ना हुन विद्यार्थी आएनन् । चलाउनका लागि वा विद्यार्थी बटुल्नका लागि मात्र चलाउने होइन । जसरी कक्षा १० सम्मको हकमा एउटा सेक्सनसहित चलाएका छौँ, त्यसैगरी समुदायले लाभ उठाउने र नतिजा देखाउने गरी चलाउनुपर्छ भन्ने हाम्रो सोच हो । नुवाकोट, अझ विदुरका शैक्षिक संस्थाले यहाँका विद्यार्थीलाई कक्षा ११, १२ पढ्न खर्च पिटाएर काठमाडौँ पठाउनुहुँदैन । यहाँका शैक्षिक संस्था सबैले मिलेर यहीँ रहने अवस्था सिर्जना गर्नुपर्छ ।
विद्यालय शिक्षा ऐन बन्ने क्रममा छ । तपाईं त शिक्षकको पेसागत आन्दोलनमा पनि लामो समय काम गरेको मान्छे । नेपाल शिक्षक महासङ्घ आन्दोलित छ । उता ऐन संसद्मा पेस भइसकेको छ । नयाँ ऐनले विद्यालय शिक्षा सुधारमा के परिवर्तन ल्याउला ?
व्यवस्था परिवर्तनपछि फरक संवैधानिक प्रावधानाअनुरूप विद्यालय शिक्षा ऐन बन्दै छ । यसको पृष्ठभूमिमा धेरै ठुल्ठुला शिक्षक आन्दोलनको शृङ्खला छ । तथापि, यसले कुनै पनि सरोकारवालालाई सन्तुष्ट बनाउने सङ्केत छैन । महासङ्घले हिजो सरकारले आफूसँग गरेका कबोल र सम्झौताको धरौटी खोजेको हो । उसको कर्तव्य नै सरकारसँग सामूहिक सौदाबाजी गरेर धेरै अधिकार लिने हो । यो विश्वव्यापी ट्रेड युनियन सिद्धान्त पनि हो । संस्थागत विद्यालय सञ्चालकको पनि समस्या छ । अर्कातिर ऐनमा विद्यालय व्यवस्थापन र सञ्चालनमा जे-जस्ता प्रावधान रहने भनी सञ्चारमाध्यमबाट बाहिर आएका छन्, तिनले पनि थप समस्या निम्त्याउने देखिन्छ । ऐनकानुनमा आदर्श भाषा राखेर सार्वजनिक गर्ने, कार्यान्वयनका लागि स्रोतसाधनको व्यवस्थासहितको आवश्यक तयारी नगर्ने हो भने समस्या झन् जटिल हुन सक्छ । भोलि सरकारी पनि अँध्यारो जङ्घारमा फस्ने, निजी पनि हतोत्साही हुने गरी ऐन आयो भने चाहिँ ‘राम राम बोल्ने’ बाहेक ‘काँध थाप्ने’ कोही नहुन सक्छ । आशा गरौँ, त्यस्तो स्थिति नआउला पनि ।
प्रतिक्रिया