नुवाकोटमा निषेधाज्ञा खुकुलो कोरोना सङ्क्रमित एकानब्बे

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार ०७:३१

विदुर/  नुवाकोटमा साउन २५ गतेदेखि गाउँपालिका र नगरपालिकाको सिफारिसमा १० वटा पालिकामा जारी निषेधाज्ञा बुधबारदेखि केही खुकुलो भएको छ । स्थानीय प्रशासनले स्वास्थ्य तथा सुरक्षासम्बन्धी सबै मापदण्ड पूरा गरेर उद्योग–व्यवसाय सञ्चालन र आवतजावतमा सहज बनाएको छ । बाहिर जिल्लाबाट आउने सवारीसाधन र व्यक्तिलाई भने प्रवेशमा कडाइ गरेको छ ।

साउन २५ गतेदेखि लगातार निषेधाज्ञा जारी गर्दै आएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वरूपमा परिवर्तन गरी सहज बनाएको हो । भदौ १६ गतेसम्मका लागि ६ वटा स्थानीय तहको २० वटा वडामा निषेधाज्ञा जारी गरेको थियो । १७ गते बुधबार बिहानबाट निश्चित क्षेत्रबाहेक जोर–बिजोर प्रणलीबाट निजी सवारीसाधन सञ्चालन गर्न पाउने भएको छ । शिवपुरी गाउँपालिका भने भदौ २३ गतेसम्मलाई पूरै सिल गरेको छ । लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न लागेको सङ्कट व्यवस्थापन केन्द्र नुवाकोटले जनाएको छ । यस्तै, नुवाकोट प्रवेश गर्ने सडकमार्ग र रसुवा छिर्ने पासाङल्हामु राजमार्गमा यसभन्दा अघिकै निर्णयलाई भदौ २३ गतेसम्म निरन्तरता दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णय जानकारी गराउँदै निषेधाज्ञाले पारेको प्रभावको मूल्याङ्कन गर्दै जिल्लाभित्र जोर गते जोर सवारी र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । शैक्षिक संस्था र नागरिक जमघट हुने काम पूर्ण रूपमा बन्द कायम नै रहेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बुधबारसम्म ९१ पुगेको छ । मंगलबार तादी गाउँपालिकाका वर्ष ३२ का काठमाडौं बस्दै आएका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै ९१ जना पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार अहिले पनि १८ जना सङ्क्रमित त्रिशूली अस्पताल नुवाकोट र खरानीटार अस्पतालको आइसोलेसनमा उपचार गर्दै आएका छन् । शिवपुरी गाउँपालिकामा एकैपटक सातजनामा सङ्क्रमण पुष्टि भएसँगै नुवाकोटमा सङ्क्रमणले भयावह अवस्था सिर्जना गरेको छ । समुदायमा घुलमिल बढी भएका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । एकजना स्वास्थ्यकर्मी, सवारीचालक र कृषि फर्म सञ्चालन गर्ने व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ । पाँच सय ८० जनाको अझै पिसिआर परीक्षणको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले बताए । काठमाडौंलगायत उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बन्दै गइरहेको छ । नुवाकोटबाट काठमाडौंनजिक दूरीमा रहेका कारण पनि सङ्क्रमणको भयावह अवस्था रहेको बताइएको छ । अहिले काठमाडौंबाट नुवाकोट आउने सबै व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था जिल्ला सङ्कट व्यवस्थापन केन्द्र नुवाकोटले गरेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेपछि त्रिशूली अस्पतालमा तीनवटा भेन्टिलेटरसहित आइसियू कक्ष निर्माण सुुरु भएको छ । विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिनका लागि आवश्यक जनशक्ति अस्पताल विकास समितिले नियुक्ति गरेर धुलिखेल अस्पतालमा तालिमको लागि पठाइसकेको छ । कर्मचारीका लागि कार्यविधि बनाएर पिसिआर सञ्चालनको निर्देशिकासमेत समितिले बनाएको छ । कोरोनाको सङ्क्रमण समुदायमा ठूलो सङ्ख्यामा देखिएसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि आइसियू कक्ष निर्माण थालेको त्रिशूली अस्पताल विकास समितिले जनाएको छ । जिल्लामा अहिले ६५ बेडको आइसोलेसन तयार भएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । खरानीटार अस्पतालमा १० बेड थप गर्ने, समुन्द्रटार स्वास्थ्य चौकीमा आठ बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । सूर्यगढी गाउँपालिकामा १२ बेड र किस्पाङ गाउँपालिकामा १० बेडको आइसोलेसन तयार भएको छ । अरू बाँकी सबै स्थानीय तहले कम्तीमा १० बेडको आईसोलेसन बनाउनुपर्ने सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ । त्रिशूली अस्पतालका लागि चारजना डाक्टरको माग गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।