धुन्चे गाउँमा नयाँ बोन्पोहरू थपिँदै

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:४६

–  फुर्पा तामाङ

बोन्पोले तामाङ जातिको धार्मिक–सांस्कृतिक पहिचानसमेत संरक्षण गर्दै आएको छ । पैसाबिना कुनै काम नबन्ने दुनियाँमा निःशुल्क सेवा गर्ने धर्म अहिले गाउँघरमा बोनधर्म मात्रै बाँकी छ । पानीमुहान, खोला, नदी, झर्ना, कुण्ड, ताल आदिमा फोहोरमैला गर्नुहुँदैन । फोहोरमैला गरे, फ्याँके, थुपारे वा दुर्गन्धित धुलो, धुवाँ निकाले, जलाए, थुके, पिसाब फेरे, दिसा गरे देवी–देवता रिसाएर त्यस्तो कार्य गर्ने व्यक्तिको जिउमा घाउ, खटिरा आउने, सुन्निने र मृत्युसमेत हुन्छ भनेर समाजमा वातावरण संरक्षणसम्बन्धी चेतना जगाउने गुरु पनि हुन् बोन्पो । यो महत्वलाई समेत हेरेर स्थानीय सरकारले बोन्पोधर्म संरक्षणमा चासो लिन सके समाजमा सुख, शान्ति स्थापित हुने देखिन्छ ।

तामाङ जाति । संस्कृतिका धनी । धर्म–कर्म असाध्यै मान्ने । उहिले बोन (झाँक्री) धर्म मान्थे । सातौँ शताब्दीपछि बौद्धधर्म पनि मान्दै आएका छन् । अतः यो जातिको धर्म दुईवटा छन् । जन्म, विवाह, मृत्यु–संस्कारमा बौद्ध र बोनधर्मको सम्मिश्रण देख्न सकिन्छ । यद्यपि समाजमा यी दुई धर्मबीच कुनै विवाद छैन । बोन्पो अर्थात् बोनधर्म धेरै पुरानो धर्म हो । यो प्राचीन धर्म मानिन्छ । बोन्पोका अनुसार यो धर्मको सुुरुवात सृष्टिसँगसँगै भएको मानिन्छ । बोनधर्मको फैलावट भने तिब्बत (भोट)मा भएको मानिन्छ । अतः तिब्बतसँग हाल राजनीतिक सिमाना (नक्सा) जोडिएका हिमालय क्षेत्रका आदिवासी बोनधर्म मान्छन् । सातौँ शताब्दीमा बौद्ध गुरु पद्मसम्भव (गुरु रिम्पोचे)को पालामा तिब्बतमा बोन र बौद्धधर्म (बज्रयान÷तान्त्रिक सम्प्रदाय) बीच धार्मिक द्वन्द्व भएको थियो । द्वन्द्वपश्चात् बोन्पोलाई लखिटिने काम भयो । उनीहरू भागाभाग भए । धर्मग्रन्थ बोकेर भाग्न सक्नेले अहिले पनि धर्मग्रन्थ प्रयोग गरेर धार्मिक कार्य गर्दै आएका छन् । उनीहरू केही संशोधित पनि भए । यो सम्प्रदाय बेन्कर बोन् (सेतो बोन्पो) भए । बेन्कर बोन्पोको गुम्बा र अभ्यास नेपालको उपल्लो डोल्पा, मुस्ताङ, हुम्ला र मुगुतिर पाइन्छ ।

धर्मग्रन्थ बोकेर जान नसक्नेले धार्मिक ग्रन्थलाई आगोमा जलाएर खरानी खाए । खरानी खाएका बोन्पोले पुरानै पद्धतिलाई अँगाल्दै आएका छन् । उनीहरूलाई बेन्नग बोन्पो (कालो बोन्पो) भनिए । बेन्करले पशुपन्छी बलि चढाउने प्रथा त्यागे । बेन्नगले पशुपन्छी बलि चढाउने प्रथालाई निरन्तरता दिँदै आएका छन् । यसरी सातौँ शताब्दीपश्चात् यो धर्ममा बेन्कर र बेन्नग दुईवटा सम्प्रदायको जन्म हुन गयो । बेन्नग बोन्पोले धर्मग्रन्थको अभावले गर्दा आफ्ना शिष्यलाई बोन्पो विद्या मौखिक रूपमा कण्ठस्थ हुने गरी सिकाउँदै आएका छन् । अर्को जसले धर्मग्रन्थ बोकेर भाग्न सके, उनीहरू अझै धार्मिक पुस्तक पढेर धार्मिक क्रियाकलाप गर्दै आएका छन् । नेपालको उपल्लो डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ आदि क्षेत्रमा यस्ता बोन्पोहरू देख्न सकिन्छ ।

सातौँ शताब्दीमा धार्मिक द्वन्द्वपश्चात् बौद्धधर्म र बोनधर्मबीच धार्मिक कार्यको सम्झौता पनि भयो । धार्मिक मेलमिलापकर्ता गुरु पद्मसम्भव (गुरु रिम्पोचे) थिए । अबउप्रान्त बिरामी भयो भने जडीबुटीसहित गाउँको देवी–देवताको पूजा गर्ने, भूतप्रेतलाई पन्छाउने, फाल्ने आदि काम बोन्पोले गर्ने र मृत्यु–संस्कारको काम बौद्ध लामाले गर्ने । बोन्पोको मृत्यु भयो भने पहिले बोन्पोले धार्मिक कार्य गरेपछि मात्र लामाले लास जिम्मा लिने सम्झौता पनि भयो । यही सम्झौताअनुसार कुनै व्यक्ति बिरामी भयो भने बोन्पो (झाँक्री)ले निःशुल्क बिरामीलाई जडीबुटी खोजेर ल्याउने, मन्त्र गरेर खुवाउने, पूजा गर्ने आदि काम गर्दै आएको छ । कुनै बोन्पोको मृत्यु भयो भने गाउँमा भएका सम्पूर्ण बोन्पो भेला भएर पूजा गरेर मात्र लासलाई लामाको जिम्मा लगाउँदै आएका छन् । मृतक बोन्पोको घेवा (बेन्डोल) बोन्पोले गरेपछि मात्र लामाले अन्तिममा घेवा गर्ने परम्परा रहँदै आएको छ ।

बोन्पोले गर्ने सम्पूर्ण कार्य निःशुल्क हुन्छन् । कुनै व्यक्ति बिरामी भएको छ, जोखाना हेरिदिनुप¥यो, जडीबुटी दिनुप¥यो भनेर बोन्पोलाई लिन गयो भने बिहान, दिउँसो, राति जुनै बेला पनि बोन्पोहरू सहज ढङ्गले बिरामीको घरमा जान्छन् । आफूले जानेका काम गर्छन् । खोला, किनार, जङ्गल, भिर वा लेकमा गएर जडीबुटी ल्याएर बिरामीलाई फुकेर दिन्छन् । बुटी (सुङा)लाइदिन्छन् । रातभरि नसुतीकन ढ्याङ्ग्रो बजाएर धार्मिक कार्य गर्छन् । तर, त्यसरी काम गरिदिएबापतको पैसा (केयेन) लिँदैनन् । उनीहरू भन्छन्, ‘पैसा लिनुहुँदैन भनेर आफ्ना गुरुले सिकाएको हुनाले नलिएको । उहिलेका बोन्पोहरू तन्त्र–मन्त्र गरेर उड्थे । गोठ सार्नुपर्दा सामान मन्त्र गरेर सार्थे रे । बोन्पोहरूबीच विद्याको प्रतियोगिता हुन्थ्यो । यस्ता तपस्वी गुरुहरू हिजोआज कहाँ पाउनु ? अचेल सहरबजारमा फटाहा झाँक्रीहरू पनि निस्किएका छन् । उनीहरू भने पैसा लिएर व्यवसाय र पेसा नै चलाउँछन् । त्यस्ता झाँक्रीबाट भने टाढा रहनुपर्छ ।’ बोन्पो कार्य सजिलो छैन । हिजोआज केटाकेटीहरू औपचारिक शिक्षाका लागि सानैदेखि गाउँबाट टाढा जानुपर्ने भएकाले पनि यो विद्या सिक्नेको सङ्ख्या घट्दै गएको छ । बोन्पो सिक्न तिब्बती भाषा जान्नुपर्छ । अदृश्य शक्तिलाई तिब्बती भाषामा झाँक्रीले फलाक्नुपर्छ । विभिन्न प्रकारका तोर्मो (आकृति)हरू बनाउनुपर्छ । तन्त्र–मन्त्र सिक्नुपर्छ । कण्ठ गर्नुपर्छ । जप्नुपर्छ । तपस्या गर्नुपर्छ । प्रयोग गर्नुपर्छ । समय लगानीको अनुपातम व्यक्तिगत रूपमा कुनै लाभ छैन । त्यसकारण गाउँघरमा बोन्पोको सङ्ख्या क्रमशः घट्दै गएका छन् ।

गत महिनादेखि धुन्चे गाउँले केही नयाँ बोन्पो (झाँक्री)हरू पाएका छन् । ती नयाँ बोन्पो जङ्गलमा गएर २१ दिन गुफा बसे । साउन महिनाको ५ गतेदेखि २८ गतेसम्म गुरुको साथमा बसेर उनीहरूले विद्या सिकेका हुन् । बोन्पो हुन सजिलो छैन । गुरुसँग वर्षौँ अनौपचारिक रूपमा विद्या (ज्ञान) सिकेर गुफा बस्नुपर्छ । गुफामा गुरुले दीक्षा (वाङ) दिइन्छ । गुरुले वाङ नदिई गरेको धार्मिक कार्यले खास उपलब्धि हासिल गर्दैन । यसकारण पनि गुफा बस्नु अनिवार्य मानिन्छ । धुन्चे गाउँका बोन्पो गुरुहरू दावा पेम्बादम्ब्रङ र कर्मछिरिङ तितुङले रञ्जित तितुङ, संगम तितुङलाई नयाँ शिष्यको रूपमा सिकाएका हुन् । यसअघि धुन्चेकै सञ्जय तितुङ र कम ग्याल्बो घलेले बोन्पो सिकेर धार्मिक कार्य गर्दै आएका छन् । यसपालिका संगम तितुङ धुन्चेका प्रख्यात बोन्पो (झाँक्री) करसिंगी तितुङका नाति हुन् ।

अधिवक्ता फुर्पा तमाङ, ठूलो भार्खु, रसुवा ।

phurpatamang10@gmail.com
तस्बिर : प्रमोदकुमार तितुङ, धुन्चे