अस्थायी प्रहरी पोस्ट सिमुटार नयाँ भवनमा

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:४८

त्रिशूलीबजार, विदुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी पोस्टका लागि विदुर नगरपालिका-१ सिमुटारको इन्द्रेणी चौरमा नयाँ भवन निर्माण भई कार्यालय स्थानान्तरण भएको छ ।

०७२ सालको भूकम्पपछि विदुर नगरपालिका र स्थानीयवासीको अनुरोधमा शान्तिसुरक्षाका लागि ०७२ असोज २८ गते जिल्ला प्रहरी कार्यालयमातहतमा रहनेगरी उक्त चौकी स्थापना भएको थियो । उक्त अस्थायी प्रहरी चौकी जस्ताले बारेको तथा जस्ताले नै छाएको जीर्ण टहरामा बसेर प्रहरीले सेवा दिइरहेको थियो । गत आ.व.मा विदुर नगरपालिकाले विनियोजन गरेको १२ लाख ४८ हजारको लागतमा ब्लक र सिमेन्टले बनेको जस्ताले छाएको तीनकोठा कार्यालय तथा ब्यारेक भवनमा बाथरुम र शौचालय छुट्टै निर्माण गरिएको छ । उक्त भवनमा भदौ ९ गतेदेखि अस्थायी प्रहरी पोस्ट स्थानान्तरण गरी दैनिक कामकारबाही सम्पादन भइरहेको प्रहरी नायव उपरीक्षक राजेश थापाले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।