गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस कोभिड– १९ को प्रभाव विश्वका दुई सयभन्दा बढी देशमा परिसकेको छ । विश्वका सर्वशक्तिमान देशलाई हल्लाउँदै अहिले नेपाल प्रवेश गरेको कोभिड– १९ ले पछिल्लो समयमा दुई अङ्कको मृत्यु नेपालमा सुरु भएको छ । प्रतिएक हजारको परीक्षणमा एक सयभन्दा बढीको मृत्यु भइरहेको सरकारी तथ्याङ्कले पुष्टि गरेको छ । नौ हजारको परीक्षण गर्दा नौ सय, १२ हजारको परीक्षण गर्दा १२ सयभन्दा माथि सङ्क्रमण हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको तथ्याङ्कमा उल्लेख छ । मृत्यु हुनेको सङ्ख्या पनि अढाइ सय पुगेको छ ।
चीनले माघदेखि लकडाउन गरेपछि नेपालमा चीनबाट माघ १५ देखि सामान आउन बन्द भयो । वैशाखपछि आयात केही खुले पनि सहज छैन । निर्यातको त कुरै नगरौैँ, चीनले सामान नै लगेको छैन । उसले ठूलो सावधानी अपनायो । नेपाल भने आयातमा भर पर्नुपर्ने देश हो । यहाँ सामान्य सियो पनि उत्पादन हुँदैन । कृषि उपज पनि चीन र अन्य देशबाट आयात गरेर धान्नुपर्ने अवस्थामा नेपाल छ । खाद्यान्न दक्षिणको छिमेकी भारतबाट र स्याउ, लसुन, गुन्दु्रकलगायतका वस्तु चीनबाट आयात गरेर नेपाली जनता पाल्नुपर्ने बाध्यता छ । एक खर्बको निर्यात गर्दा १३ खर्बको आयात गर्नुपर्ने बाध्यतामा नेपाल छ ।
मजबुत अर्थतन्त्र भएका देशले लामो लकडाउन पनि धान्न सक्ने अवस्था छ । तर, नेपालजस्तो कमजोर अर्थतन्त्र त्यसमा पनि भ्रष्टाचारमा लिप्त कर्मचारी प्रशासन भएको देशमा लकडाउनले ठूलो मार पारेको छ । लकडाउनको आवत-जावतमा पनि लेनदेन हुने देशको रूपमा नेपाल चिनिएको छ । एक जिल्लाबाट अर्को जिल्ला जाने बस सरकारले घोषित रूपमा चैतदेखि बन्द ग¥यो । साउनमा लकडाउन खोलेपछि पनि एक जिल्लाबाट अर्को जिल्ला जाने सार्वजनिक यातायात बन्द ग¥यो, तर हरेक जिल्लामा सेटिङमा बसबाट मानिस ओसारियो । यतिसम्म स्थानीय प्रशासनले बदमासी ग¥यो कि साउन लागेपछि भारतीय नागरिकलाई बसले काठमाडौं मात्र लगेनन्, हिमाली जिल्लासम्म पु¥याए । त्यही कारण आज काठमाडौंमा कोरोनाले ठूलो महामारीको रूप लिँदै गरेको सरकारले पनि स्वीकार गरेको छ । बाहिर जिल्ला गएकाहरू बस चढेरै काठमाडौं भित्रिए । केन्द्र सरकारको नीतिलाई प्रशासन चलाइरहेकाले अवज्ञा गरिदिए ।
तर, जिल्ला प्रशासनले लकडाउनको अवधिमा दुई वा दुईभन्दा बढी जिल्लामा कार्यक्रम वा काम गर्ने सरकारी कार्यालयलाई पनि एउटा जिल्लाको मात्र पास दिएर आफैँ गृहमन्त्री भएको रवाफ देखाए । अहिले पनि स्थानीय प्रशासनले आर्थिक गतिविधि गर्ने कार्य बन्द गराएका छन् । उदाहरणका लागि भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल, सिन्धुली हुँदै महोत्तरीको बर्दिबासम्म जाने बिपी राजमार्गको काम गर्न विभिन्न जिल्ला प्रशासनले आफ्नो जिल्लामा आउन दिन्न भनेर रोकिदिए । सरकारले निर्णय गरेर विकास निर्माणको काममा अवरोध नगर्ने भनेको थियो । सिडिओ गृहमन्त्री बनिदिँदा अहिले पनि त्यही नियति सुुरु भएको छ । काम गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी सावधानी अपनाउन सकिने भनेर केन्द्र सरकारले भन्छ, तर स्थानीय प्रशासन सबै बन्द गर्छ । सबै ७७ वटै जिल्लामा त्यही देखिएको छ ।
स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर विश्वका धेरै देशले काम जारी राखेका छन्, अर्थतन्त्र जोगाउन । तर, नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको देशमा सबै काम गर्न रोक लगाइएको छ । कृषि कामबाहेक अन्य काम बन्दजस्तै छ । तर, विश्वका अन्य देशमा त्यस्तो छैन । नेपालको छिमेकी भारतमा पनि सबै काम सुचारु छ । सरकारले स्वास्थ्यसम्बन्धी काम पनि गरिरहेको छ । नेपालमा भने लकडाउन र निषेधाज्ञाको नाममा अर्थतन्त्र तहस–नहस पार्ने काम पहिला केन्द्र सरकारले ग¥यो र अहिले स्थानीय प्रशासनले गरिरहेको छ । अर्थतन्त्रको जग हल्लाउन सत्तापक्ष, प्रशासन, विपक्ष सबै हल्लाको पछि लागेको विश्वभर प्रस्ट हुँदै गएको छ । नेपालको अवस्था पनि ठीक त्यस्तै छ । विश्वमा पहिला सबै देश लहैलहैमा लागे । उनीहरूले पछि आफूलाई सुधार गरे । कोरोनाको बीचमा पनि काम गरे र अर्थतन्त्र जोगाइराखे । नेपाल अहिले त्यही लहैलहैमा लागेको छ । कोरोना रोकथामभन्दा पनि अर्थतन्त्र तहस–नहस पार्ने काम मात्र भएको छ । स्वास्थ्यकर्मीले पनि अर्थतन्त्र जोगाएर सावधानी अपनाऊ भनेको छ, तर प्रशासन बन्द गरेर ठीक हुन्छ भनेर आफैँ डाक्टर बनिरहेको छ । थुनेर विश्वमा कुनै पनि देशमा न कोरोना नियन्त्रणमा आएको छ न त अर्थतन्त्र चलायमान भएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले अर्थतन्त्र जोगाउन आग्रह मात्र गरेनन्, अहिले विश्वमा कोरोनाको औषधि नै नबनेको, रसियाको पनि प्रचार मात्र भएको र यसको खोप वा औषधि बन्न धेरै समय लाग्ने भएकाले थुनेर अर्थतन्त्र तहस–नहस नगर्न आग्रह गरे । यसले पनि प्रस्ट पारेको छ कि नेपालका प्रशासनले गरेका लकडाउन र निषेधाज्ञा अति भइसकेको छ । यसले अर्थतन्त्र ध्वस्त पारेर समाजमा लुटपाटको अवस्था सिर्जना गराउन सक्छ । रुसले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको प्रचार ग¥यो, तर आज त्यही देशमा हजारौँको प्राण कोरोनाको कारण गइरहेको छ । दैनिक पचास हजार सङ्क्रमित थपिएका छन् । विश्वका सबै देशले भ्याक्सिन बनाउने प्रयास गरेका हुन्, तर सफल कोही पनि भएका छैनन् । भ्याक्सिन जहिले बन्छ, त्यही समयसम्म थुनेर राख्ने भन्ने कुरा हुन नसक्ने जनस्वास्थ्यविद्ले भनिरहँदा स्थानीय प्रशासन भने जनता थुन्नु, काम गर्न नदिनुलाई बहादुरी र पौरखको रूपमा व्याख्या गरिरहेको छ ।